मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार ०६:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार दिनयता काठमाडौंका मुख्य सडकमै मापसे परीक्षण ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार ०६:१४:००

 रातभरजसो सवारीसाधन गुड्ने काठमाडौंका मुख्य सडकमै मापसे (मादक पदार्थ सेवन) परीक्षण रोकिएको छ । विगतमा अस्थायी बुथ राखेर नियमित मापसे परीक्षण हुँदै आएकोमा चार दिनयता रोकिएको हो । 

महाननगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार रत्नपार्क, नयाँ बानेश्वर, ठमेल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, अनामनगर, त्रिपुरेश्वरआसपासका सडकका चेकिङ प्वाइन्टमा शुक्रबार दिनयता मापसे परीक्षण गरिएको छैन । विगतमा प्रत्येक साँझ ७ बजेदेखि ती स्थानमा ट्राफिक प्रहरीले मापसे परीक्षणका लागि राख्ने गरेको अस्थायी बुथ अहिले छैन । 

कांग्रेस महाधिवेशनसँग यसको कुनै सम्बन्ध छैन
एसपी सञ्जीव शर्मा दास, प्रवक्ता, महानगरीय ट्राफिक प्रहरी महाशाखा 

मापसे परीक्षण ट्राफिक प्रहरीको नियमित काम हो । कांग्रेस महाधिवेशनसँग यसको कुनै सम्बन्ध छैन । महाधिवेशनमा सहभागी हुनेहरू केहीले मापसे गर्लान् । तर, उनीहरू सडकमा त निस्कने होइनन् । होटेलमै बसेर मापसे गर्लान् । त्यसैले ट्राफिक प्रहरीले यसवेला मापसे रोक्नुपर्ने कारण नै छैन ।

महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले मापसे परीक्षण पहिलेकै जस्तो कडा पारिएको दाबी गरे । ‘मापसे परीक्षण कम गरिएको छैन । झन् कडाइका साथ लागू गरिएको छ । विगतमा दिनमा दुई सयदेखि तीन सयलाई कारबाही गथ्यौंँ । अहिले पनि त्यो संख्यामा कमी आएको छैन,’ उनले भने । शुक्रबारबाट भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको १४औँ महाधिवेशन जारी छ । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई सुन्धारा, ठमेल, बागबजार, त्रिपुरेश्वर, दरबारमार्ग, नयाँ बानेश्वर, बालाजुआसपासका होटेल र गेस्टहाउसमा राखिएका छन् । 

तर, एसपी दासले कांग्रेस महाधिवेशन र मापसे परीक्षणबीच कुनै सम्बन्ध नभएको बताए । ‘मापसे परीक्षण ट्राफिक प्रहरीको नियमित काम हो । कांग्रेस महाधिवेशनसँग यसको कुनै सम्बन्ध छैन । महाधिवेशनमा सहभागी हुनेहरू केहीले मापसे गर्लान्, तर उनीहरू सडकमा त निस्कने होइनन् । होटेलमै बसेर मापसे गर्लान् । त्यसैले ट्राफिक प्रहरीले यसवेला मापसे रोक्नुपर्ने कारण नै छैन,’ उनले भने ।

कोरोना संक्रमणको दर कम भएसँगै सुन्धारा, ठमेल, बागबजार, त्रिपुरेश्वर, दरबारमार्ग, नयाँ बानेश्वर, बालाजुआसपास खुलेका दोहोरी साँझ, डिस्को, पब, होटेल, रेस्टुरेन्टमा ग्राहकको चहलपहल पछिल्ला दिन निकै बढेका छन् । ठमेल र दरबारमार्गआसपास खुलेका डिस्को, दोहोरी साँझ र पबमा त रातभरजसो नै ग्राहक झुम्ने गरेका छन् । सडकमा मापसे परीक्षण नहुँदा डिस्को, दोहोरी साँझ र पबमा मदिरासँगै झुमेका युवा सावरीसाधनमा निस्फिक्री हुइँकिने गरेको देखिन्छ ।

 ठमेलको रमझममा रमाउन आइपुगेका बौद्धका २१ वर्षीय दावा शेर्पाले भने, ‘केही दिनयता दरबारमार्गआसपासमा मापसे चेकिङ छैन । पहिला त निकै कडा चेकिङ हुन्थ्यो, किन हो अहिले देखिएको छैन ।’