मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २६ आइतबार ०७:०२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको  शौचालय बनाउने योजना अलपत्र

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २६ आइतबार ०७:०२:००

निजी क्षेत्रले पाँच वर्षमा ५० वटा शौचालय बनाउने, महानगर अझै अलमलमा

काठमाडौं महानगरपालिकाको सहरका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने योजना अलपत्र परेको छ । निजी क्षेत्रले धमाधम सार्वजनिक शौचालय निर्माण गर्दा महानगर भने अलमलमा परेको छ ।

चुनावी घोषणापत्रमै स्मार्ट सिटीको नारा अघि सारेका महानगर प्रमुख विद्यासुन्दर शाक्य अन्य काममा जस्तै सार्वजनिक शौचालय निर्माणमा पनि पछि परेका छन् । शौचालय बनाउनकै लागि बर्सेनि बजेट छुट्याउने गरे पनि ठाउँ अभाव भन्दै महानगरले काम अगाडि बढाउन सकेको छैन ।

काठमाडौं महानगरपालिका पूर्वाधार विभाग प्रमुख राम थापाले शौचालय निर्माणका लागि कार्यदल नै बनाएर अध्ययन गरी ठाउँ पहिचान गरेको जानकारी दिए । ‘कार्यदल नै बनाएर शौचालय निर्माणका लागि ठाउँ पहिचान गरेका हौँ । तर, ठाउँ अभावका कारण सार्वजनिक शौचालय निर्माणमा ढिलाइ भइरहेको हो,’ उनले भने, ‘महानगरले कार्यक्रम बनाएर बजेट पनि छुट्याएको हो, तर ठाउँ अभावका कारण शौचालय बनाउन सकिरहेका छैनौँ ।’ मानिसको जमघट हुने र धेरै आवतजावत ठाउँमा जग्गा नभएको उनको भनाइ छ । ‘महानगरसँग आफ्नै जग्गा पनि छैन । त्यही भएर हामीले सार्वजनिक शौचालय निर्माणको काम अगाडि बढाउन सकेका छैनौँ,’ थापाले भने ।

कार्यदलले तोकेको ठाउँमा बन्नै सकेन शौचालय
शौचालय निर्माणका लागि महानगरले दुई वर्षअगाडि नै ४० ठाउँ तोकेको थियो । तर, ती कुनै पनि ठाउँमा शौचालय निर्माण हुन सकेन । महानगरका अनुसार कार्यदलले तोकेका ती ठाउँ सडक विभागअन्तर्गतको ठाउँ र कतिपय ठाउँमा समुदाय नै नमानेका कारण शौचालय बन्न सकेन ।

राम थापा, प्रमुख, काठमाडौं महानगरपालिका पूर्वाधार विभाग 
कार्यदल नै बनाएर शौचालय निर्माणका लागि ठाउँ पहिचान गरेका हौँ । तर, ठाउँ अभावका कारण सार्वजनिक शौचालय निर्माणमा ढिलाइ भइरहेको हो । महानगरले कार्यक्रम बनाएर बजेट पनि छुट्याएको हो, तर ठाउँ अभावका कारण शौचालय बनाउन सकिरहेका छैनौँ ।

लैनचौर (गल्कोपाखा मार्ग), टेकु चोक, कालीमाटी चोक, बल्खु चोक, सीतापाइला चोक, बनस्थली चोक, बालाजु चोक, माछापोखरी चोक, नयाँ बसपार्कबाहिर, गोंगबु सडक शिवमन्दिरसँगै, गोंगबु चोक, प्रहरीचौकी (चक्रपथ), बसुन्धारा चोक, महाराजगन्जमा शौचालय निर्माणका लागि ठाउँ तोकेको थियो । 

त्यसैगरी, सुकेधारा चोक, गोपीकृष्ण हल चाबहिल, तिलगंगा, बौद्धनाथ सडक चुच्चेपाटी, गौशाला चोक, एयरपोर्ट मूलगेटबाहिर, कोटेश्वर चोक, तीनकुने, कोटेश्वर चोक–रिङरोडको बालकुमारीतर्फ, पेप्सीकोला चोक, बानेश्वर चोक र मीनभवन–मदन भण्डारी पथ, बबरमहल (माइतीघर, बिजुलीबजार), माइतीघर थापाथली, सुन्धारा पार्किङअगाडि भूगोलपार्कअगाडि, वसन्तपुर, जमल सडक, खानी तथा भूगर्भ विभागअगाडि, बागबजार सडक, नागपोखरी, कमलपोखरी, बालुवाटार थिरबम सडक, अनामनगर एरिया, बालाजु बाइसपासबाट त्रिशूली जाने बाटोलगायत ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने ठाउँ तोकिएको थियो । ‘कार्यदलले जुन–जुन ठाउँमा बनाउन भन्यो, ती ठाउँ सडक विभागको स्वामित्वमा पर्‍यो । कतिपय ठाउँका स्थानीयले सार्वजनिक शौचलय बनाउन हुन्न भने । जसकारण अहिलेसम्म शौचलाय निर्माण हुन सकेन,’ थापाले भने, ‘हामी सम्बन्धित निकायसँग छलफलमा छौँ ।’

महानगर क्षेत्रभित्र २८४ वटा सार्वजनिक शौचालय आवश्यक 
महानगरभित्र शौचालयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यदल नै बनाएर अध्ययन भएको थियो । कार्यदलको प्रतिवेदनमा महानगर क्षेत्रभित्र दुई सय ८४ वटा सार्वजनिक शौचालय आवश्यक रहेको देखिएको उल्लेख छ  । तत्कालका लागि कम्तीमा ५० ठाउँमा शौचालय बनाउनुपर्ने आवश्यकता औँल्याएको थियो । महानगरले बनाएको अध्ययन कार्यदलले नै अहिले सञ्चालनमा रहेका सार्वजनिक शौचालय प्रयोगयोग्य नभएको प्रतिवेदन बुझाएको थियो । जसकारण खुला स्थान, अकासेपुललगायतका ठाउँमा शौच गर्ने गरिएको कार्यदलको निष्कर्ष थियो । महानगरले हालसम्म शौचालय निर्माणको कामै अगाडि बढाउन सकेको छैन । ठाउँ पहिचान गरेर शौचालय निर्माण गर्न नसकेपछि महानगरले शौचालय निर्माणको जिम्मा वडा कार्यालयलाई दिएको छ । ‘आफ्नो क्षेत्रमा कति ठाउँ, कहाँ खाली छ भन्ने कुरा वडालाई जानकारी हुने भएकाले हामीले शौचालय निर्माणको जिम्मा वडालाई दिएका छौँ,’ महानगर पूर्वाधार विकास प्रमुख थापाले भने ।

महानगरले जनप्रतिनिधि आएपछि हालसम्म स्वयम्भू, कलंकी, बानेश्वर र विष्णुमतिमा गरेर जम्मा चारवटा शौचालय मात्र निर्माण गरेको छ । पाँचवटा शौचालय निर्माणका लागि टेन्डर भएको छ । ‘सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन, २०७५’ भित्र समेटिएका धार्मिक स्थल, सरकारी भवन, पार्क, पेट्रोल पम्प, मल तथा व्यावसायिक भवन र अस्पतालका शौचालय पनि पर्छन् । महानगरभित्र सार्वजनिक स्थानमा मात्रै ३७ वटा शौचालय छन् । तीमध्ये पाँचवटा शौचालय ठेक्का दिएर सञ्चालन भइरहेका छन्, जसबाट प्रत्येक महिना महानगरले आठ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम राजस्व संकलन गर्छ । महानगरले एक वडा एक शौचालय निर्माण गर्ने भने पनि केही वडामा सार्वजनिक जग्गाको अभावका कारण बनाउन नसकेको बताएको छ । 

निजी क्षेत्रले बनाउने भए शौचालय
महानगरमा जनप्रतिनिधि आउनेबित्तिकै शौचालय निर्माणका लागि ठाउँ पहिचानदेखि कार्यदल बनाएर अध्ययनसमेत भए । तर, शौचालय निर्माण भने लगभग शून्यमै रह्यो । तर, निजी क्षेत्रले लिएको पहलकदमीले हालसम्म ६ वटा शौचालय निर्माण भइसकेका छन् । थप ५० वटा शौचालय निर्माण पाँच वर्षमा सकाउने लक्ष्य राखेको छ । महानगरले भनेअनुसारको ठाउँ अभाव उनीहरूलाई भने बहानाबाजी मात्र लागेको छ । किनभने, उनीहरूसँग शौचालय बनाउनका लागि ठाउँ पर्याप्त छन् । एरोसन सस्टेनेबल स्यानिटेसनका कार्यकारी प्रमुख प्रकाश अमात्यका अनुसार हालसम्म स्वयम्भू, पाटनढोकालगायतका ठाउँमा उनीहरूले शौचालय निर्माण गरिसकेका छन् । 

काठमाडौं महानगरभित्र सशुल्क र निःशुल्क गरी एक सय ५१ वटा सार्वजनिक शौचालय छन् । महानगरअन्तर्गत भने ५८ वटा सार्वजनिक शौचालय छन् । तर, ती शौचालय पनि शौच गर्नयोग्य छैनन् । वाटर एडले सन् २०१८ मा गरेको एक अध्ययनअनुसार काठमाडौंमा ३५ सार्वजनिक शौचालय छन् । मन्दिरमा २२, सरकारी अफिसमा पाँच, पार्कमा सात, पेटोल पम्पमा सबैभन्दा धेरै ५५, व्यावसायिक भवनमा १७, अस्पतालमा नौ गरी एक सय ५० शौचालय छन् । यी ठाउँबाटै केही ठाउँ निकालेर शौचालय बनाउन सकिने अमात्य दाबी गर्छन् । ‘महानगरले शौचालय बनाउन ठाउँ पाइएन भन्छ । म त जता हेर्‍यो, त्यतै ठाउँ देख्छु । मात्र इच्छाशक्ति हुनुपर्‍यो,’ अमात्यले भने । महानगरले रत्नपार्कवरिपरिका शौचालयबाट वार्षिक १५ देखि ६० लाख बहाल उठाउँछ । अमात्य शौचालय ठेक्कामा लगाएर लाखौँ आम्दानी गर्नेभन्दा सेवाको रूपमा हेनुपर्ने बताउँछन् ।