मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १४:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेयरधनीलाई बोनस होइन विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १४:०२:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छिन्। ललितपुर महानगरपालिकामा एक सहकारीको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीका सम्पूर्ण सेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिन्।

“सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण सेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उनले भनिन्, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पूँजी यसतर्फ लगाउनुपर्छ।” साधारणसभामा सेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेस हुने र उक्त प्रस्ताव परित हुने उनले विश्वास व्यक्त गरिन्।

“एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ। यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उनले भनिन्, “नेपालको बिजुली सस्तो छ। हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ। यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ।”
 
जनतालाई राहत दिन सरकारले विद्युत्काे महसुल घटाएको जानकारी दिँदै उनले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गरिन्। सरकारले यही मंसिर १ गतेदेखि लागू हुने गरी विद्युत्को महसुल घटाएको छ। त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ। “नेपाल आयल निगमले एलपी ग्यासमा ७५८ रुपैयाँ नोक्सान व्यहोरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ”, मन्त्री भुसालले भनिन्, “ग्यासको मूल्य जति बढ्छ, बढ्न दिउँ। हामीले हाम्रो ठाउँबाट सिलिन्डर विस्थापित गरेर विद्युतीय चुल्हो भित्र्याउँ।” रासस