मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर २५ शनिबार ०९:०३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुबुदु दोस्रोपटक मुख्य प्रशिक्षक बन्ने पक्का

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर २५ शनिबार ०९:०३:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि क्यानले पुबुदु दासानायकेको नाम आइसिसीसमक्ष सिफारिस गरेको छ, आइसिसीबाट स्वीकृति पाए क्यानले अन्तिम निर्णय गर्नेछ

पुबुदु दासानायके दोस्रोपटक नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक बन्ने पक्का भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पुबुदुको नाम सिफारिस गरेको छ । अब क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेको हकमा अन्तिम निर्णय दिन मात्र बाँकी छ । त्यसपछि क्यानको बोर्ड बैठकले त्यसलाई पारित गर्नेछ । 

‘पुबुदु शतप्रतिशत मुख्य प्रशिक्षक बनिसकेका छन्, क्यानले आइसिसीसँग छलफल गर्न मात्र बाँकी छ,’ क्यानका एक पदाधिकारीले नयाँ पत्रिकासँग शुक्रबार भने, ‘अब प्रशिक्षक छनोट समितिले त्यसमा अन्तिम निर्णय दिनेछ, त्यसपछि बोर्डको बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकका रूपमा अनुमोदन गर्नेछ, केही सामान्य काम मात्र बाँकी रहेको छ ।’

यसपटक भारतका मोन्टी देसाई तथा पुबुदु मुख्य प्रशिक्षक बन्ने होर्डमा निकै अगाडि थिए । तर, क्यानले अन्तिम समयमा पुबुदुको नाम आइसिसीमा पठाएको हो । क्यानका ती पदाधिकारीका अनुसार पुबुदुले मासिक दश लाखभन्दा कम तलबमा सहमति जनाएका छन् । देसाईले प्रतिमहिना १५ लाख रुपैयाँ माग राखेका थिए । ‘पुबुदुको प्रतिमहिना पारिश्रमिक दश लाख तल रहेको छ, उनले यसैमा सहमति जनाएका छन्,’ पदाधिकारीले भने, ‘देसाईले प्रतिमहिना १५ लाख रुपैयाँ मागेको थियो ।’

गत सेप्टेम्बरमा डेब ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो । ओमानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज चलिरहेको वेलामै ह्वाटमोरले राजीनामा दिएका थिए । पुबुदु खाली रहेकाले पनि कम रकममै नेपाली टोली हेर्न राजी भएका हुन् । पुबुदुले सन् २०११ देखि ०१५ सम्म नेपाली टोली हेरेका थिए । नेपाली क्रिकेट इतिहासमा पुबुदु सर्वाधिक सफल विदेशी क्रिकेट प्रशिक्षकका रूपमा रहेका छन् । तत्काल श्रीलंकाली रोयलुक डायसले छाडेपछि पुबुदु नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा सन् २०११ मा कार्यभार सम्हाल्न क्यानडाबाट नेपाल आएका थिए । 

पुबुदुकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । नेपालले पहिलोपटक आइसिसीले आयोजना गरेको विश्वकपमा स्थान सुरक्षित गरेको यो नै पहिलोपटक थियो ।

सन् २०११ मै भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटमा पुबुदुले क्यानडालाई प्रशिक्षक तथा कप्तानीका रूपमा प्रतिस्पर्धा गराएका थिए । विश्वकपपछि उनले नेपाली टोली हेर्ने जिम्मेवारी लिए । सन् २०१५ सम्म पुबुदुको प्रशिक्षणमा नेपालले ऐतिहासिक रूपमा सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । दोस्रोपटक नेपाली टोली हेर्न पाउँदा पुबुदु उत्साहित भएको क्यानका पदाधिकारीले बताएका छन् । ‘पुनः नेपाली टोली हेर्न पाउँदा निकै खुसी छु,’ पुबुदुको भनाइ उद्धृत गर्दै क्यानका ती पदाधिकारीले भने, ‘नेपाल आएपछि मात्र म आफ्नो योजना बनाउँछु ।’

चारजनालाई पछि पारे पुबुदुले 
क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको थियो । क्यानको प्रशिक्षक छनोट समितिले अन्तर्वार्ताको माध्यमबाट पाँच प्रशिक्षकसँग अन्तर्वार्ता लिएको थियो । पुबुदु, मोन्टी देसाई, असन्था गुरुसिंगे, रुवान काल्पेज र ग्रान्ट ब्राडवर्नले प्रशिक्षक छनोट समितिलाई अन्तर्वार्ता दिएका थिए । समितिपुबुदु र देसाईमध्ये एक छान्ने निष्कर्षमा पुगेको थियो । बिहीबार क्यानले पुबुदुलाई नै मुख्य प्रशिक्षकका रूपमा आइसिसीलाई जानकारी दिएको थियो । 

मोन्टी देसाई
नेपाली क्रिकेटमा देसाई नयाँ नाम होइन । देसाईसँग सिनियर टोली तथा यू–१९ टोलीसँग काम गरेको अनुभव छ । सन् २०१७ मा देसाईले सिनियर तथा युवा टोलीका ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरेका थिए । सन् २०१५ को टी–२० विश्वकप छनोटमा उनी सिनियर टोलीसँगै काम गरे । देसाईसँग वेस्ट इन्डिजका मुख्य ब्याटिङ तथा क्यानडाको मुख्य प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । 

ग्रान्ट ब्राडवर्न
ब्राडवर्न न्युजिल्यान्डका पूर्वक्रिकेटर तथा प्रशिक्षक हुन् । ब्राडवर्नले छोटो समयका लागि पाकिस्तानको फिल्डिङ प्रशिक्षकका रूपमा काम गरे । उनीसँग न्युजिल्यान्डका यू–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको अनुभव थियो । 

असन्था गुरुसिंगे
असन्था श्रीलंकाका पूर्वक्रिकेटर हुन् । सन् १९९६ मा श्रीलंकाले पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा उनी टोलीका मुख्य सदस्य थिए । असन्थाले श्रीलंकाली टोलीबाट ४१ टेस्ट र १ सय ४७ एकदिवसीय खेलेका थिए । सन् २०२० मा नाइजेरियाका मुख्य प्रशिक्षक बनेका असन्थाले एक श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीमा म्यानेजरका रूपमा काम गरेका थिए ।

रुवान काल्पेज
मुख्य प्रशिक्षक बन्न आवदेन दिएकामध्ये रुवान पनि श्रीलंकाली नै हुन् । रुवानले यसअघि बंगलादेशको राष्ट्रिय क्रिकेट एकेडेमीमा हाई पर्फमेन्स प्रशिक्षकका रूपमा काम गरेका थिए । यसबाहेक उनीसँग बंगलादेशको सहायक प्रशिक्षक तथा स्पिन बलिङ प्रशिक्षकको अनुभव छ । 

क्यानले किन छान्यो पुबुदुलाई प्रशिक्षकमा 

क्यान र खेलाडीबीच विवाद चलिरहेको छ । सम्झौताविपरीत काम गरेको जनाउँदै चारजना सिनियर खेलाडीमाथि क्यान कारबाहीको तयारीमा छ । यस्तो अवस्थामा सिनियर टोलीका खेलाडी र क्यानबीचको विवाद चलिरहँदा नयाँ प्रशिक्षकले स्थिति सम्हाल्न गाह्रो पर्न सक्छ । नेपाली टोलीका प्रत्येक खेलाडीसँग राम्रो जानकार, वान टु वान कुरा गर्न सक्ने र बानी सबै थाहा पाएका प्रशिक्षक ल्याउँदा क्यानलाई सजिलो हुने थियो । यसमा पुबुदुबाहेक अरू विकल्प नै थिएन । चार वर्ष मुख्य प्रशिक्षकका रूपमा काम गरेका पुबुदुले नेपालका सबै खेलाडीसँग राम्रो सम्बन्ध बनाएका छन् ।
अझ विशेषतः उनी सिनियर टोलीका खेलाडीसँग नजिक मानिन्छन् । ‘वर्तमान विवाद मिलाउन पुबुदु राम्रो अप्सनका रूपमा थियो,’ क्यानका एक पदाधिकारीले भने, ‘खेलाडीलाई राम्रोसँग सम्झाउन सक्ने क्षमता पुबुदुसँग छ, यसकारण पनि क्यानले उनलाई नै मुख्य प्रशिक्षक बनाउने अन्तिम तयारी गरेको हो,’ उनले भने, ‘फेरि पुबुदुले भनेको कुरा खेलाडीले मान्छन् पनि ।’