१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर २३ बिहीबार १८:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगेश भट्टराईको दाबी– गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनायो 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २३ बिहीबार १८:०८:००

एमाले सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । हेटौँडामा प्रेस चौतारीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले अहिलेको गठबन्धन सरकारले मुलुकको मुख्य अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैलाई अस्थिर बनाउँदै ध्वस्त बनाएको आरोप लगाएका हुन् ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले कार्यपालिका भागबन्डामा गठन, कार्यपालिकाको सवालमा संसद्लाई बन्धक बनाइएको छ र न्यायपालिकालाई नांगेझार बनाएको छ,’ उनले भने, ‘न्यायपालिकाको इज्जत प्रतिष्ठालाई त अझ सरकारले पूरै सखाप बनाइसकेको छ ।’

उनले मुलुकका महत्वपूर्ण अंगलाई बचाउनका लागि पनि छिटोभन्दा छिटो जनादेशमा जान जरुरी रहेको दाबी गरे । भट्टराईले मुलुकमा छिटो निर्वाचन गराउन जरुरी रहेको र लोकतान्त्रिक ढंगले मुलुकमा स्थायित्व बनाउन एमाले कटिबद्ध भएको बताए । 

नेकपा फुटेर एमाले, माओवादी आ–आफ्नो बाटोमा लागिसकेपछि एमालेलाई थप सुदृढ बनाउँदै अघि बढ्न सहज भएको भट्टराईको धारणा छ । उनले भने, ‘अब देशमा दुईवटा मात्र धार रहनेछ,’ उनले भने, ‘एक कम्युनिस्ट विचारधारा राख्ने वामपन्थी विचार बोकेर हिँड्ने वाम प्रगतिशील नेकपा एमाले र उदारवादी, पुँजीवादीहरूको नेतृत्व गर्ने नेपाली कांग्रेस ।’ 

उनले दुई पार्टीबीच मात्र नेपालमा प्रतिस्पर्धा हुने भएकाले अरू पार्टीहरू समाहित हुनेबाहेक विकल्प नरहेको बताए । भट्टराईले डा.भीम रावल अध्यक्ष केपी शर्मासँगै प्रतिस्पर्धामा उत्रिए पनि त्यो लोकतान्त्रिक प्रतिस्पर्धामै सीमित भएको र अध्यक्षमा मतदान प्रक्रिया हुँदैमा पार्टी फुट्ने वा विभाजनको मार्गमा अघि बढ्ने संज्ञा दिइनु गलत हुने बताए । 

उनले कांग्रेसले आफ्नो महाधिवेशनमा कुनै पनि नयाँ विचार प्रतिपादन गर्न नसक्ने बताउँदै कांग्रेस इतिहास भएको तर भविष्य नभएको पार्टीका रूपमा अघि बढिरहेको ठोकुवा गरे । ‘कांग्रेस इतिहास लामो भएको तर भविष्य छोटो भएको पार्टी हो,’ उनले भने, ‘एमाले इतिहास र भविष्य दुवै लामो भएको पार्टी हो ।’