मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर २१ मंगलबार ०८:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपीडितलाई साढे पाँच महिनापछि दुई लाख राहत 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २१ मंगलबार ०८:३१:००

हिमाली जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले साढे पाँच महिनापछि दुई लाख राहत उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले केही दिनअघि मनाङको धारापानीमा पुगेर दुई/दुई लाखको चेक बाढीपीडितलाई हस्तान्तरण गरेका हुन् । मन्त्री बरालले विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए । 

गण्डकी प्रदेशका सांसद चिन्ता घले, जिल्ला समन्वय समिती मनाङका प्रमुख यज्ञ घले, नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घले, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र नासों गाउँपालिकाकी उपाध्यक्ष कमलामाया गुरुङको उपस्थितीमा राहत रकम प्रदान गरीएको हो । नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भएपनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएको बताए ।

घलेका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढीपिडितलाई प्रदान गरीएको हो । मनाङमा पुननिर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको बताए ।

प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए । उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको बताए । नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको ७ घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए । गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर रहेका छन् ।