मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक अधिकारी काठमाडाैं
२०७८ मङ्सिर २० सोमबार १५:१९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बगरमा वास खोतल्दै बाढीपीडित

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर २० सोमबार १५:१९:००

असार १ को बाढीले मर्स्याङ्दी किनारछेउमै रहेको मनाङको नासों गाउँपालिका १ को ताल गाउँ मर्स्याङ्दीले बगाएर ल्याएको बाढीले ठूलो बगर बनेको छ । कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । केही ढलेर बसेको र कति घरको दुई तलासम्म बगर भरिएको छ । 

स्थानीय सिंहबहादुर गुरुङले आफ्नो दुई तलाको पक्की घरका कोठामा ढुंगा, काठका मुढा र बालुवा पसेको बताए । ‘दुईतले घरको तल बस्नै मिल्दैन । माथिको तला सरसफाइ गरेर, बार बेरेर बसेका छौँ’, गुरुङले भने । घर बगाएपछि ५ महिनासम्म त्रिपालमा सहारा लिएकी सन्तकुमारी परियार अहिले बाढीले भत्किएको घरमा बसेकी छिन् । मर्स्याङ्दी नदीमा आएको बाढीले उनको घर बस्नै नमिल्ने गरी भत्किएको थियो । जाडो बढेसँगै मस्र्याङ्दीको चिसो हावाले त्रिपालमा बस्न नसकेपछी परियार भत्किएको घर मर्मत गरी बसेकी छिन् । जाने ठाउँ नै कहीँ नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केको पुरानै घरमा फर्किएको उनले बताइन् ।  

सन्तकुमारी मात्र होइन, विस्थापित भएका तालगाउँका बाढीपिडित माथिल्लो क्षेत्रमा हिमपात भएसँगै चिसो बढेकाले जोखिमयुक्त घरमा फर्किएका छन् । तालगाउँका रामचन्द्र गुरुङले असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले बस्ने घर तहसनहस भएको र अहिले पुरिएका गेगर खोतलेर बास खोजेको बताए । उनले भने, ‘बाढीले तीनतले पक्की घर बस्नै नमिल्ने गरी भत्कायो । पाँच महिनासम्म त्रिपालमा बसे पनि मर्स्याङ्दीको चिसो सिरेटाेले त्रिपालमा वस्नै सकिएन । पाँचजनाको परिवार भत्किएकै घर मर्मत गरेर बसेका छौँ ।’ 

बाढीले गंगामाया गुरुङकोे घरखेत पनि बगरमा परिणत भएको छ । उनले भनिन्,  ‘दुःखले बनाएको तीनतले घरमा अहिले मर्स्याङ्दी नदी बगेको छ । बाढीले बस्ने घर नै बगायो बाढीबाट ज्यान त बँच्यो, तर बस्नलाई घर नै छैन  ।’

भत्किएको घरमा बस्न मिल्ने अवस्था नरहे पनि बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बसेका छन् । बाढीले भत्किएका घर बस्न लायक छन् कि छैनन् भनेर अध्ययन गर्न ढिलाइ भएपछि स्थानीयहरू बाढीले भत्काएको घरमा फर्किएका हुन् । तालगाउँका मात्रै नभएर नासों गाउँपालिका–३ धारापानी, सदरमुकाम चामेका बाढीपीडित पनि भत्किएकै घरलाई टालटुल पारेर सामान्य मर्मत गरी बस्न थालेका छन् । 

मर्स्याङ्दीको बाढीले सुन्दर तालगाउँ अहिले बगरमा परिणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनले भने, ‘सुन्दरबस्तीमा अहिले ढुंगा, माटो, बालुवा मात्र छन् ।’

क्षतिको विवरण नै यकिन छैन 

मर्स्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिरोले नासों गाउँपालिकामा मात्रै ८२ घरमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश न्यौपानेका अनुसार प्रशासनको प्रारम्भिक तथ्यांकअनुसार पूर्ण क्षति भएका ८६ घरधुरीको संख्या सम्बन्धित पालिकालाई पठाइसकिएको छ । 

क्षति र सामान्यको विवरण भने प्रशासनमा यकिन नरहेको उनले बताए । उनले भने ‘हामीले पठाएको विवरण र सूचीलाई प्रमाणित गरेर पालिकाले पठाइसकेका छैनन् ।’ उनका अनुसार गाउँपालिकाले लाभग्राही सूचीमा दाबीसहित अनलाइन अभिलेख राख्ने काम गरिरहेको छ । ‘पालिकाले अनलाइन इन्ट्री गरेपछि सबै सरकारी सर्भरमा जान्छ । त्यसपछि लाभग्राही सूची तयार हुन्छ र पुनर्निर्माण अघि बढ्छ ।’ 

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले पुनर्निर्माणको कामलाई प्राथामिकता दिइएको बताए । उनले भने, ‘पुननिर्माणका लागि पालिकाले काम छिटो गर्नुपर्ने हुन्छ । छिटो भेरिफाई भए मात्रै सम्झौता गरेर पुनर्निर्माण अघि बढ्छ ।’ निजी आवास पुनर्निर्माणका लागि संघीय सरकारले ४० लाख र प्रदेश सरकारले ३० लाख रुपैयाँ जिल्ला विपद् कोषमा पठाइसकेको प्रजिअ आचार्यको भनाइ छ ।