मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २० सोमबार ०८:३५:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

२३ मंसिरदेखि काठमाडौंमा किम्फ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २० सोमबार ०८:३५:००

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को १८औँ संस्करण २३ देखि २७ मंसिर (९ देखि १३ डिसेम्बर)सम्म आयोजना हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा महोत्सव आयोजक हिमाल एसोसिएसनले यसबारे जनाकारी दिएको हो । 

कार्यक्रममा महोत्सवमा देखाइने फिल्मका ट्रेलरसहित हिमालय क्षेत्रमा चितुवा संरक्षण र फोहोर व्यवस्थापनबारेका दुई छोटा फिल्म पनि प्रदर्शन गरिएको थियो । यस वर्षको किम्फमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितिमा देखाइने महोत्सवकी निर्देशक रम्यता लिम्बूले बताइन् । 

कोरोना महामारीको जोखिम कायमै रहेकाले महोत्सवलाई अनलाइन र भौतिक उपस्थितिमा आयोजना गर्न लागिएको हो । अनलाइन देखाइने फिल्महरू किम्फको अफिसियल वेबसाइटमा महोत्सव अवधिभर हेर्न सकिनेछ भने नेपाली पानारोमाको १३ वटा फिल्म चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा प्रदर्शन हुनेछ । महोत्सवको उद्घाटन समारोहमा लद्दाख भारतका चर्चित वातावरणविद् सोनम वाङ्चुकको सहभागिता हुनेछ । अमेरिकी फिल्म मेकर कैल रुडिकद्वारा निर्देशित फिल्म ड्रिम माउन्टेन पनि प्रर्दशन गरिनेछ ।

किम्फका अध्यक्ष वसन्त थापाले महोत्सवमा देखाइने फिल्म र यसमा समाविष्ट कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोड दिने बताए ।

छोटा फिल्मको प्रतिस्पर्धा

किम्फ र युरोपेली संघले महोत्सवकै अवसरमा नेपाली फिल्म निर्माताका लागि ‘ग्रिन ग्रोथ–ग्रिन रिकभरी’ शीर्षकमा छोटा फिल्मबीच प्रतिस्पर्धा गर्नेछन् । महोत्सवको निर्णायक मण्डलमा स्विट्जरल्यान्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्विट्जरल्यान्डकै फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई दुई लाख रुपैयाँ, द्वितीय हुनेलाई एक लाख ५० हजार र तृतीय हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । नेपाली पानारोमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार र उत्कृष्ट आख्यानात्मक फिल्मले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । किम्फमा ‘ब्रेकिङ कोड रेड–डिग्निटी विथ डेन्जर’, नेपालमा महिनावारीको अभ्यास र ‘कोपिङ विथ क्लाइमेट कर्मा’लगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।