मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर २० सोमबार ०६:३४:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लिङ्देनले भत्काए कमल थापाको ‘साम्राज्य’

Read Time : > 5 मिनेट
२०७८ मङ्सिर २० सोमबार ०६:३४:००

प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष कमल थापालाई दुई सय मतले पराजित गर्दै राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष निर्वाचित भएका छन् । सधैँभरि कुलीन समूहले नेतृत्व गर्दै आएको पार्टीमा मध्यमवर्गीय परिवारका ५६ वर्षीय लिङ्देन निर्वाचित हुनुलाई राप्रपाभित्र एउटा युगको अन्त्य भनिएको छ । 

निवर्तमान अध्यक्ष थापाले चुनावी हारपछि दुईवटा ट्विटमार्फत असन्तुष्टि पोख्दै असहयोगको संकेत गरेका छन् । तर, निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई आत्मसात् गर्दै अघि बढ्ने बताएका छन् । 

पदाधिकारीमा लिङ्देनको समूहबाट महामन्त्री धवलशमशेर राणा मात्रै निर्वाचित भएका छन्, बाँकी ६ जना पदाधिकारी थापा समूहका हुन् । उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की छन् । महामन्त्रीमा धवलबाहेक कुन्तीकुमारी शाही र भुवन पाठक निर्वाचित भएका छन् । महामन्त्रीकी प्रत्याशी अभिनेत्री रेखा थापा शाहीसँग पराजित भएकी छिन् । 

अध्यक्ष लिङ्देननिकट राप्रपा नेता मोहन श्रेष्ठका अनुसार लिङ्देनले कम्तीमा २३ जना पदाधिकारी मनोनीत गर्न पाउने पार्टी विधानको व्यवस्था छ । त्यसकारण अहिले अल्पमतमा देखिए पनि उनी पदाधिकारीमा पनि बहुमतमै हुनेछन् । ‘पार्टी अध्यक्षलाई निर्णय प्रक्रियामा कहीँकतै पनि अप्ठेरो पर्दैन,’ श्रेष्ठले भने ।

केन्द्रीय सदस्यमा पनि ५० प्रतिशतभन्दा बढी थापा पक्षका छन् । तर, लिङ्देनले पार्टी विधानअनुसार ५० जना मनोनीत गर्न पाउने हुनाले उनलाई धेरै चुनौती नहुने श्रेष्ठको भनाइ छ । राप्रपाको केन्द्रीय समिति एक सय ९९ सदस्यीय छ । निर्वाचनबाट एक सय ४९ जना र अध्यक्षले ५० जना मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ । लिङ्देनले पार्टी विधानअनुसार चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनीत गर्न सक्नेछन् । उनले प्रवक्ता र सहप्रवक्ता पनि मनोनीत गर्न सक्नेछन्, जसको संख्याबारे भने पार्टी विधानमा यकिन छैन ।

लिङ्देनसहितका पदाधिकारी र निर्वाचित एक सय ४९ केन्द्रीय सदस्यले आइतबार शपथग्रहण गरेका छन् । तर, शपथ समारोहमा थापा भने उपस्थित भएनन् । जसका कारण थापाले पार्टी विभाजन गर्न सक्ने अनुमान गरिन थालेको छ । राप्रपाका एक वरिष्ठ नेताले भने, ‘अब थापा समूहले राजाको एजेन्डा छाडेर हिन्दूराष्ट्रको एजेन्डा मात्रै लिएर नयाँ दल खोल्यो भने पनि आश्चर्य नमाने हुन्छ ।’ थापा पक्षका एक प्रभावशाली नेताले पनि भविष्यमा यसबारे छलफल हुन सक्ने संकेत गरे, तर आवेशको प्रतिक्रियालाई त्यही रूपमा लिन आग्रह गरे । 

पार्टी महाधिवेशनले नै हिन्दूराष्ट्र, राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनका पक्षमा उभिने निर्णय गरेको छ । यो राप्रपाको पूर्ववत् पार्टी लाइन हो । निवर्तमान अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक दस्ताबेजका आधारमा पाँच वर्ष पार्टी अघि बढ्ने श्रेष्ठले बताए । 

१५ जेठ ०४७ मा स्थापना भएको राप्रपा कम्युनिस्टहरूपछि धेरैपटक विभाजन भएको दल हो । सुरुमा विभाजित भएको राप्रपा ६ फागुन ०७३ मा एकीकृत भयो । तर, त्यो एकता लामो समय टिक्न सकेन, ०७४ मा चरणबद्ध रूपमा पार्टी विभाजित भयो । तीन समूहमा विभाजित राप्रपा २४ फागुन ०७६ मा पुनः एक भएको थियो । 

शपथ समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले  पार्टीको र पार्टी कार्यकर्ताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । ‘म राप्रपामा केही फरक गर्न चाहन्छु । यो पनि अरूजस्तै त रहेछ नि भनेर थुक्ने अवस्था आउन दिनेछैन । हामी सबै मिलेर राप्रपाका एजेन्डा कार्यान्वयन गर्नेछौँ,’ उनको भनाइ छ । 

सके संसद्बाट नभए सडकबाट भए पनि राजसंस्था पुनस्र्थापना गरिछाड्ने दाबी पनि लिङ्देनको छ । ‘राजसंस्थाको पुनस्र्थापना र हिन्दूराष्ट्र कायम गरेर छाड्नेछौँ । संसद्बाट नभए सडकबाट राजसंस्थाको पुनस्र्थापना गर्छौँ । पार्टीको र पार्टी कार्यकर्ताको शिर झुक्न दिनेछैन,’ उनले भने । नेतात्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबाट अभिभावकीय भूमिका मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको उनले बताए । 

थापाका भरपर्दा सारथि लिङ्देन कसरी बने प्रतिस्पर्धी ?

०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले सर्मनाक पराजय भोगेपछि आयोजित केन्द्रीय समिति बैठकमा राप्रपा अध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा घोषणा गरे । त्यसवेला राप्रपा फुटिसकेको थियो । पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपाका दुई अलग–अलग समूह क्रियाशील थिए । 

पार्टीका एक मात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देनले थापालाई भेटेर राजीनामा दिनबाट रोके । लिङ्देनले साथ दिने वचन दिएपछि थापा पछि हटे । त्यसअघि नै लिङ्देन र थापाले ताप्लेजुङको पाथिभरा मन्दिरमा गएर एकले अर्कालाई जीवनभरि सघाउने कसम खाएका थिए । थापाका सबैभन्दा भरपर्दा सारथि लिङ्देन थिए । 

तर, एक वर्ष नबित्दै यो सम्बन्ध कायम रहेन । पार्टी अध्यक्षको अधिकार कटौती हुने गरी पार्टीको विधान संशोशनका लागि नेता गोविन्द खनियाँ नेतृत्वको पार्टी विधान संशोधन समिति गठन भयो । समितिमा लिङ्देन र धवलशमशेर राणा पनि सदस्य थिए । थापाले आफ्नो अधिकार कटौतीका पक्षमा लिङ्देन र धवल लागेको भन्दै पार्टीको पदाधिकारी नै विघटन गरिदिए । त्यहाँबाट सुरु भएको दुई नेताबीचको अविश्वास यतिवेला चुनावमा प्रतिस्पर्धा गर्ने चरणसम्म आइपुगेको जानकार राप्रपा नेताहरू बताउँछन् । 

त्यसवेला विधान संशोधनको प्रयास असफल भयो । मन र मुटु मिलेका थापा र लिङ्देनबीच त्यसपछि खुलेर संवादसमेत भएको थिएन । जब कि ०६३ पछि गठित राप्रपा नेपालका यी दुई नै मुख्य नेता थिए । पछि थापाले राणा नेतृत्वको पार्टीसँग एकीकरण गर्दा वा केन्द्रीय सदस्य, पदाधिकारी मनोनयन गर्दा लिङ्देनसँग सल्लाह गरेनन् । 

महाधिवेशनमा दोस्रो पुस्ताका तर्फबाट थापालाई टक्कर दिने योजना सुरुमा लिङ्देनको होइन, नेपालगन्जका मेयर एवं नेता धवलशमशेर राणाको हो । नेतृत्वको आलोचना गरेबापत राणालाई थापाले पार्टी छाड्नसमेत दबाब दिएका थिए । तर, राणाले लिङ्देनलगायतलाई थापाविरोधी मोर्चालाई मनाएनन् मात्रै, नेतृत्व नै स्वीकार गरेर यहाँसम्म ल्याइपुर्‍याएको एक नेताले बताए । सुरुमा लिङ्देन र राणाको प्रयासलाई विक्रम पाण्डे, जयन्त चन्दले साथ दिने बताएका थिए । उनीहरूबीच धेरै चरणमा संयुक्त छलफल भएर थापालाई टक्कर दिने, नयाँ उम्मेदवार उठाउने सहमति भयो । तर, चन्द र पाण्डेले अन्तिममा साथ दिएनन् । चन्द थापा पक्षमा लागे भने पाण्डे थापा र लिङ्देन दुवैतिर ठिक्क भए । भविष्यको शक्ति समीकरणलाई ध्यानमा राख्दै दुवै समूहले पाण्डेलाई अस्वीकार गर्न सकेनन् । 

तीन दशकभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएका र पार्टी स्थापनादेखि पदाधिकारी रहँदै आएका अध्यक्षत्रय थापा, राणा र लोहनीबाट अब पाँच वर्षमा चमत्कार नहुने भन्दै लिङ्देनले कार्यकर्तालाई आफ्नो औचित्य बुझाउन खोजे । उनको निरन्तर भनाइ थियो, ‘अब पुरानो पुस्ताको हातमा पार्टी गयो भने पार्टी समाप्त हुन्छ, समाप्त भएको पार्टी सम्हाल्न पाँच वर्ष धैर्य गर्ने होइन, पार्टीलाई अहिले नै सम्हाल्नुपर्छ । समाप्त भइसकेको पार्टी सम्हाल्न सकिँदैन । पुराना नेताहरूको व्यक्तिगत चाहनाको पछि लागेर पार्टीलाई समाप्त पार्ने धैर्य राख्न सकिँदैन ।’ लिङ्देनलाई लोहनीले समर्थन गरे, तर राणाले अन्तिममा काँचो नेतृत्वलाई साथ नदिने भन्दै थापालाई साथ दिए । राप्रपाको पछिल्लो एजेन्डाको संवाहकका रूपमा आफूले नेतृत्व गर्न पाउनुपर्ने थापाको भनाइ थियो । 

पूर्वराजा ज्ञानेन्द्रसँग थापा किन आक्रोशित ? 

निर्वाचनमा पराजयलगत्तै आइतबार बिहान थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोश पोखेका छन् । पराजय स्वीकार गरेको उल्लेख गर्दै उनले निर्मलनिवासको नांगो हस्तक्षेप भएको भन्दै भत्र्सना गरेका छन् । यद्यपि, प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने उनले बताएका छन् । 

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मलनिवासको नांगो हस्तक्षेपको भत्र्सना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु,’ थापाले ट्विटरमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएका वेला शिरमा कफन बाँधेर ०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना !’ 

संविधानसभाले ०७२ मा बनाएको संविधानमा हस्ताक्षर नगर्न दरबारको आग्रहलाई बेवास्ता गरेपछि पूर्वराजा ज्ञानेन्द्र थापासँग चिढिएको जानकारहरूको भनाइ छ । त्यसयता दरबारसँग सम्बन्ध सुधारका लागि थापाले प्रयत्न गरे पनि सफल नभएको उनीहरूको भनाई छ । थापाले ज्ञानेन्द्रसँग कुराकानी मिलाएर फर्के पनि दरबारका सचिव र दरबारनिकटका व्यक्तिले आफूविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको दुःखेसो निकटस्थहरूसँग पोख्दै आएका छन् । थापाले महाधिवेशन उद्घाटनका वेला पनि ‘राजा आऊ देश बचाऊ’ भन्ने नाराका पक्षमा आफू नरहेको बताएका थिए, त्यो सन्देश ज्ञानेन्द्रकै लागि थियो । 

थापालाई पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समयमा देखिने गरी नै बेवास्ता गर्न थालेका थिए । पूर्वराजा जन्मदिन मनाउन यस वर्ष दमक पुगेका थिए । थापा पनि संयोगवश झापामै थिए । उनले शुभकामना दिन भेट्ने इच्छा जनाए, तर पूर्वराजाले भेट्न चाहेनन् ।

स्रोतका अनुसार दुई साताअघि थापाले निर्मलनिवासमै पूर्वराजासँग भलाकुसारी गरेका थिऐ, जहाँ पार्टी महाधिवेशनबारे कुराकानी भएको थियो । सुरुमा थापा र डा. प्रकाशचन्द्र लोहनीसँग कुराकानी गरेपछि मात्रै पूर्वराजा ज्ञानेन्द्रले गत आइतबार राप्रपा नेताद्वय लिङ्देन र धवलशमशेर राणासँग निर्मलनिवासमै कुराकानी गरेका थिए । करिब तीन घन्टा लामो बसाइमा पूर्वराजाले कुरा सुने, धेरै बोलेनन् । कुराकानीबारे जानकार राप्रपा नेताहरूका अनुसार ज्ञानेन्द्रले लिङ्देनसँग ‘गो अहेड’ भनेका थिए, जुन कुरा उनले थापालाई पनि भनेका थिए । थापाले पूर्वराजासँग सम्बन्ध सुधारका लागि अनेक प्रयत्न गरेका थिए, तर पूर्वराजाले अगाडि ठिक्क पारेर पछाडि असहयोग गरेको थापा निकटस्थहरूको आरोप छ ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन्– पार्टी र कार्यकर्ताको शिर झुक्न दिनेछैन

राप्रपामा केही फरक गर्न चाहन्छु । यो पनि अरूजस्तै त रहेछ नि भनेर थुक्ने अवस्था आउन दिनेछैन । हामी सबै मिलेर राप्रपाका एजेन्डा कार्यान्वयन गर्नेछौँ । राजसंस्थाको पुनस्र्थापना र हिन्दूराष्ट्र कायम गरेर छाड्नेछौँ । संसद्बाट नभए सडकबाट राजसंस्थाको पुनस्र्थापना गर्छौँ । पार्टीको र पार्टी कार्यकर्ताको शिर झुक्न दिनेछैन । 

नेतात्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबाट अभिभावकीय भूमिका मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको छु । उहाँहरूलाई बाहिर राख्नका लागि नेतृत्व परिवर्तनको कुरा गरेको होइन । ड्राइभर परिवर्तन गरौँ मात्र भनेको हो । पार्टीलाई कमल थापाको खाँचो छ । उहाँले विगतमा निर्वाह गरेको सक्रिय भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन । सबैको साथ लिएर हामी अघि बढ्नेछौँ ।