मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १९ आइतबार १६:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अधिवेशन प्रदेशको, रस्काकस्सी केन्द्रीय नेताको

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १९ आइतबार १६:४८:००

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनबाट अझै नेतृत्वको टुंगो लागेको छैन। १६ मंसिरदेखि जारी बागमती अधिवेशनलाई कांग्रेसको केन्द्रीय नेतृत्वले समेत गम्भीरताका साथ लिएका छन्। काठमाडौं उपत्यका समेटिएको बागमतीमा आफ्नो पक्षलाई जिताउन संस्थापन र संस्थापन इतरपक्षका नेताहरूको गुटबन्दीका दौडधुप जारी छ। केन्द्रीय नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.रामशरण महत, प्रकाशशरण महत, गगन थापा, महालक्ष्मीडिना उपाध्याय, उमेश श्रेष्ठ, राजन केसी, १६ मंसिरदेखि हेटौँडामै छन्। संस्थापन पक्षका नेताहरू प्रकाशशरण, डिना र श्रेष्ठ एकजुट भएर सभापतिमा इन्द्रबहादुर बानियाँलाई जिताउने रणनीतिमा जुटिरहेका छन्।

प्रकाशमान, अर्जुननरसिंह, रामशरण, गगन संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई जिताउने सक्दो प्रयासमा लागेका छन्। बागमतीमा आफ्नो पक्षको सभापति निर्वाचित हुँदा केन्द्रीय महाधिवेशनमा समेत हाबी हुन सक्ने आकलनका साथ देशभरमै सबैभन्दा बढी महाधिवेशन प्रतिनिधिसमेत चुनिएको बागमतीमा केन्द्रीय नेताको चासो बढेको हो। बागमतीबाट ८ सय ७६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

१६ मंसिरमा हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा अधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सहमहामन्त्री प्रकाशशरणले भाषणमै बानियाँलाई जिताउने अपिलसहित मत मागेका थिए। सोही कार्यक्रममा प्रकाशमानले सबल नेतृत्व चयनका लागि राजनीतिमा लामो त्याग र पार्टीप्रति पुर्‍याएको योगदानलाई मध्यनजर गरेर नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन प्रतिनिधिलाई आग्रह गरेका थिए। कार्यक्रममा प्रकाशमान र प्रकाशशरणले गरेको भाषणमा आफ्नो पक्षका सभापतिलाई मतदान गर्न प्रतिनिधिसँग मत मागेको प्रस्ट झल्किएको थियो।

गगनले आफू महामन्त्रीको दाबेदार भएका कारण बागमतीमा संस्थापन इतरको सभापति जिताउन सके काठमाडौंसँगै चितवन, नुवाकोट, धादिङ, सिन्धुली, दोलखा, रामेछाप, काभ्रे, रसुवा, सिन्धुपाल्चोकबाट साचेभन्दा बढी मत ल्याउन सकिने र जितका लागि मत बढाउन सकिने आकलन गर्दै केसीलाई सभापति जिताउन कम्मर कसेर लागि परेका छन्। 

प्रकाशमान हेटाैँडा फर्किए
शनिबार आफूले मत हालेर काठमाडौं फर्किसकेका प्रकाशमान सिंह पुनः हेलिकोप्टरबाट हेटौँडा फर्किएका छन्। उनको समर्थनमा सभापतिको उम्मेदवार बनेका जगदीशनरसिंह केसी र संस्थापन पक्षका इन्द्रबहादुर बानियाँबीच पुनः प्रतिस्पर्धा हुने भएपछि हतारिएर प्रकाशमान हेटौँडा फर्किएका हुन्। बानियाँ, केसी र कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानबीच भएको प्रतिस्पर्धामा कोही कसैले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन टुंगो लाग्न सकेको छैन।

सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले १ सय ९७ मात्र मत पाएका थिए। तीनजनामध्ये कुनै एकको ५१ प्रतिशत नपुग्दा पहिलो र दोस्रो मत प्राप्त गर्ने बानियाँ र केसीबीच पुनः प्रतिस्पर्धा तय भएको हो। तेस्रो भएका प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।