१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०९:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग : मनाङ र संकटाले अंक बाँडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०९:४३:००

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले बराबरी गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी टाइममा मनाङका फ्र्यांकलिन कुइटे टल्लाले गोल गरेसँगै मनाङ र स‌ंकटाले बराबरी २–२ गोल गर्दै अंक बाँडेका हुन् । 

खेलको ३१औँ मिनेटमा नीरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो । उनले लक्ष्मण रुचालको फ्रिकिकलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे । ३४औँ मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गरे । पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्र्यांकलिन कुइटे टल्लाले मिलाएको एयर बललाई भारतीय खेलाडी एवं मिडफिल्डर सिंहले हेड गोल गरे । 

७०औँ मिनेटमा उत्तम राईले गरेको गोलबाट संकटाले २–१ को अग्रता बनायो । लेफ्ट विङबाट फोडे फोफानाले दिएको क्रस बललाई बक्सभित्र रहेका भारतीय खेलाडी उत्तम राईले हेडमार्फत पोस्टको दिशा दिए ।

९० मिनेटपछिको इन्जुरी समयमा क्यामरुनका डिफेन्डर टल्लाको गोलसँगै मनाङले हार टारेको हो । बराबरीसँगै तीन खेलबाट ५ अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित संकटा पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिँदा दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि २–१ को जित दर्ता गरेको थियो ।  यता, मनाङ भने तीन खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा छ । मनाङले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो ।