मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अजित अधिकारी काठमाडाैं
२०७८ मङ्सिर १९ आइतबार १०:५०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले घटाएन 

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७८ मङ्सिर १९ आइतबार १०:५०:००

- निगमले मूल्यवृद्धि गरेको २४ कात्तिकयताको २३ दिनमा कच्चा तेलको भाउ १८.१४ डलर प्रतिब्यारेल घटेर शनिबार साँझ ६६.२६ डलर प्रतिब्यारेल कायम

- निगमले उच्च कर र अन्य लागतका कारण हालको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पाक्षिक करिब दुई अर्ब नोक्सानी रहेको दाबी गर्दै मूल्य नघटाउने बताएको छ 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको लाभ लिन पाएका छैनन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिँदा नेपाली बजारमा पनि मूल्य बढाइहाल्ने आयल निगमले ‘संस्थागत घाटा’को तथ्यांक देखाएर अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका वेला नेपाली बजारमा समायोजन नगरेको हो ।

आयल निगमले पछिल्लो समय मूल्यवृद्धि गरेको २४ कात्तिकमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८४.४० डलर प्रतिब्यारेल थियो । त्यतिवेला मूल्य उच्च बिन्दुमा पुगेको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ वृद्धि गरी क्रमशः एक सय ३६, एक सय १९ र एक सय १९ रुपैयाँ प्रतिलिटर बजार मूल्य कायम गरेको छ । मंसिर लागेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बिस्तारै ओरालो लागेको छ ।

निगमले मूल्यवृद्धि गरेको २४ कात्तिकयता पछिल्लो २१ दिनमा कच्चा तेलको भाउ १८.१४ डलर प्रतिब्यारेल घटेर शनिबार साँझ ६६.२६ डलर प्रतिब्यारेल कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो दुईपटक पठाएको खरिद मूल्य पनि घटेर आएको छ । जसकारण मूल्य समायोजन भएयताको २१ दिनयता निगमको खरिददर पेट्रोलमा ७.२३ पैसा र डिजेलमा ५.७ रुपैयाँ प्रतिलिटर घटिसकेको छ । तर, आयल निगमले उच्च कर र अन्य लागतका कारण हालको मूल्यमा पनि पेट्रोलियम पदार्थ बिक्री गर्दा पाक्षिक रूपमा करिब दुई अर्ब नोक्सानी रहेको दाबी गर्दै मूल्य घटाएको छैन ।

आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमलाई अझै नोक्सानी नै रहेका कारण तत्काल नेपाली बजारमा मूल्य समायोजन गर्न नसक्ने जानकारी दिएको छ । ‘अझै पाक्षिक अनुमानित घाटा करिब दुई अर्ब रुपैयाँ रहेको अवस्थामा निगम मूल्यवृद्धि गर्नुपर्ने लगातार दबाबमा छ । निगमको घाटा परिपूर्ति हुन नसक्ने स्थिति भएमा बैंकहरूको तरलता तथा निगमको आपूर्ति व्यवस्थामा समेत गम्भीर असर पुग्ने र यसले देशको अर्थतन्त्रमा समेत प्रतिकूलता ल्याउन सक्ने हुनाले यो विषयमा गम्भीर हुनुपर्ने देखिन्छ,’ निगमका सहप्रवक्ता पुस्कार कार्कीद्वारा विज्ञप्तिमा भनिएको छ ।

पेट्रोल, डिजेल र ग्यासमा घाटा, अरूमा नाफा
आयल निगमले चालू आर्थिक वर्ष ०७८/७९ देखि अन्तर्राष्ट्रिय बजारका कारण सबैभन्दा बढी कारोबार हुने पेट्रोल, डिजेल र ग्यासमा निरन्तर नोक्सानी व्यहोरिरहेको छ । १५ दिनयता पेट्रोल र डिजेलको मूल्य घटेर घाटा रकममा केही राहत मात्रै भएको निगमको भनाइ छ । नेपालमा खपत हुनेमध्ये करिब ७५ प्रतिशत हिस्सा पेट्रोल र डिजेलले ओगट्छ । त्यसैले यसमा भएको नाफा–घाटाले निगमको समग्र वासलातमा असर गर्दै आएको छ ।

कच्चा तेलको भाउ घटेका कारण पेट्रोलमा ७.२३ र डिजेलमा ७.७ रुपैयाँ घाटा कम भई पछिल्लो समय पेट्रोल बिक्रीमा १०.३५ रुपैयाँ र डिजेल बिक्रीमा ७.४४ रुपैयाँ प्रतिलिटर नोक्सानीमा झरेको निगमले जनाएको छ । त्यस्तै, ग्यासको घाटा भने बढेको छ । ‘पहिले ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ चार पैसा घाटा थियो । बुधबार नयाँ मूल्य आउँदा ग्यासको घाटा झन् बढेर सात सय पाँच रुपैयाँ २५ पैसा प्रतिसिलिन्डर पुगेको छ,’ निगमका सहायक प्रवक्ता कार्कीले भने, ‘पेट्रोल र डिजेलको घाटा पनि घटेको मात्र हो । हामी नाफामा गइहालेको स्थिति होइन ।’ 

मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई निरन्तर नाफा छ । मट्टीतेलमा प्रतिलिटर १६.६२ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ७.४९ रुपैयाँ र बाह्य हवाई इन्धनमा २२.३८ रुपैयाँ प्रतिलिटर नाफा छ । यद्यपि, मट्टीतेल र हवाई इन्धनको हिस्सा कुल कारोबारमा करिब १० प्रतिशत मात्र रहेकाले यसमा भएको नाफाले खासै असर नगर्ने निगमको भनाइ छ ।

विगतको घाटा देखाएर आनाकानी
साउनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेर कात्तिक अन्तिम सातामा ८४ डलर प्रतिब्यारेल आसपासमा स्थिर भएको थियो । त्यतिवेला अन्तर्राष्ट्रिय बजारमा बढेको दरमा मूल्य बढाउन नपाउँदा प्रतिमहिना चार अर्ब रुपैयाँसम्म नोक्सानी खेपेको निगमको तर्क छ । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल विगतमा अन्तर्राष्ट्रिय बजारअनुसार प्राप्त खरिददरको तुलनामा नेपाली बजारमा मूल्य बढ्न नपाएकाले अहिले घटाउन नसकेको दाबी गर्छन् । ‘पहिले अन्तर्राष्ट्रिय बजारको दरअनुसार नेपाली बजारमा मूल्य बढाउन सकिएन । जसकारण अहिले घटेर आएको मूल्यसँग हामीले नेपाली बजारका लागि तोकेको बिक्री मूल्य तुलना गर्दा पनि निगम नोक्सानीमै देखिन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘त्यसैले हाम्रो लागत मूल्य र विक्री मूल्य बराबरी हुन्जेलसम्म उपभोक्ताले मूल्य घट्ने विषयमा कुर्नैपर्छ ।’  निगमले साउनयता पेट्रोलियम बिक्रीबाट ६ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरिसकेको उनले बताए ।