Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनाङ ङिस्याङ गाउँपालिकामा शुक्रबार भएको हिमपात । तस्बिर : नयाँ पत्रिका
यम बम काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०७:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वमा चक्रवात र पश्चिममा न्यूनचापीय प्रणालीको असर : घट्न थाल्यो भिजिबिलिटी, हवाई उडान पनि प्रभावित

Read Time : > 2 मिनेट
यम बम, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०७:५१:००

नेपालमा तीनवटा वायु निष्क्रिय बनेको एकदिनमै फेरि सामुद्रिक आँधी (चक्रवात) र न्यूनचापीय प्रणालीको असर देखिएको छ । बंगालको खाडीको मध्यपश्चिम भूभागमा बनेको ‘जवाद’ नामक चक्रवातको असर शनिबार रातिबाट पूर्वी नेपालमा देखिएको छ । आइतबारबाट पुनः अर्को पश्चिमी न्यूनचापीय प्रणालीको असर देखिने भएको हो ।

‘चक्रवातका कारण प्रदेश १, २ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘यसको असर पश्चिम नेपालमा भने पर्दैन ।’

जवादले भारतको आन्ध्र प्रदेशको उत्तरी क्षेत्र र उडिसाको दक्षिणी क्षेत्रमा प्रतिघन्टा ९० किलोमिटरसम्मको आँधी चल्न सक्ने आकलन गरिएको छ । भारतको जल तथा मौसम विज्ञान विभागले त्यस क्षेत्रमा आइतबार ठूलो वर्षाको आकलन गरेको छ । मौसमविद् नगरकोटीका अनुसार नेपालमा आँधीको प्रत्यक्ष असर अर्थात् तीव्र गतिको हावा र ठूलो वर्षाको सम्भावना भने छैन । तर, पूर्वी नेपालमा बदली हुने र हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेकाले हुस्सु र जाडो बढ्न सक्ने उनले बताइन् । काठमाडौंमा भने त्यसको खासै असर नपर्ने महाशाखाले आकलन गरेको छ ।

सामुद्रिक चक्रवात ‘जवाद’को असर सोमबारबाट हटेर जाने
पश्चिमी न्यूनचापीय प्रणालीले भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन महाशाखाले गरेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ । यसअघि पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण पश्चिम र मध्य नेपालका पहाडी भूभागमा वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । सोही प्रणालीले शुक्रबार साँझ काठमाडौंमा हल्का वर्षा पनि भएको थियो ।

आइतबारबाट पश्चिमी क्षेत्रमा सक्रिय हुने न्यूनचापीय प्रणाली बिस्तारैै पूर्वतिर सर्दै जाने भए पनि सामुद्रिक आँधीको असर भने पूर्वमा मात्र पर्ने नगरकोटीले बताइन् । न्यूनचापीय प्रणाली पनि सोमबार राति कमजोर बन्दै जानेछ । ‘मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ ।

हिमपातबाट जोगिन मनाङमा पूर्वतयारी
मनाङमा हिमपात भएसँगै चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना जाडो हुने मनाङमा हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले पूर्वतयारी थालेको छ । क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, हुम्दे, पिसाङ, नारफु, ढिकुरपोखरी–चामेदेखि तल्लो भाग तिमाङ, दानक्यु र बगरछाप क्षेत्र बढी प्रभावित हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ । 

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आएकाले चिसो बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको थियो । प्रजिअ आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए । हिउँ परेपछि तल्लो क्षेत्रमा पनि चिसो बढेको उनको भनाइ छ । मनाङ ङिस्याङ गाउँपालिका– ६ का वडाध्यक्ष सोनाम गुरुङका अनुसार डाँडाकाँडा र मानव बस्ती हिउँले सेताम्य भएको छ ।

तराईमा हुस्सु र शीतलहरको बुलेटिन सुरु
मौसम पूर्वानुमान महाशाखाले हुस्सु, कुहिरो र शीतलहरको बुलेटिन जारी गर्न थालेको छ । महाशाखाले तराई क्षेत्रलाई केन्द्रित गरेर बुलेटिन जारी गर्न थालेको हो । महाशाखाले हिउँदमा हुस्सु, कुहिरो र शीतलहरको बुलेटिन जारी गर्ने गर्छ । मौसमविद् नगरकोटीका अनुसार काठमाडौं उपत्यकासँगै तराईमा समेत बिहानपख हुस्सु लाग्न थालेपछि बुलेटिन सुरु भएको हो । हुस्सुले पारदर्शिता अर्थात् भिजिबिलिटी कम भएपछि शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित बनेको थियो ।

महाशाखाका अनुसार शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पारदर्शिता अर्थात् भिजिबिलिटी पाँच सय मिटरमा झरेको थियो, जसका कारण उडान नै प्रभावित भयो । जबकि, शुक्रबार बिहान भिजिबिलिटी पाँच हजार मिटर थियो । बिहान १० बजे घाम लागेपछि मात्र उडान सुचारु भएको थियो । पश्चिमी वायुको असर हटेसँगै शनिबार तराईका क्षेत्रमा भने भिजिबिलिटीमा सुधार आएको थियो ।

हुस्सुका कारण शुक्रबार बिहान नेपालगन्ज र विराटनगरमा भिजिबिलिटी दुई हजार मिटरमा झरेकोमा शनिबार घाम लाग्दा भने क्रमशः १० हजार र आठ हजार मिटर कायम भएको थियो । यसैगरी, शुक्रबार बिहान भैरहवामा तीन हजार मिटरमा झरेको भिजिबिलिटी शनिबार बिहान मौसममा सुधार आउँदा सात हजार मिटर कायम भएको थियो । जनकपुरमा भने शनिबार बिहान हुस्सुले जनजीवन प्रभावित रह्यो । त्यहाँ शुक्रबार बिहान ६ हजार मिटर रहेको भिजिबिलिटी शनिबार बिहान चार हजार मिटरमा झरेको थियो ।

महाशाखाका अनुसार पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम तथा मध्य तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा बिहानपख हुस्सु लाग्न थालेको छ । यसैगरी, पूर्वी तराईका सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापामा पनि बिहान हुस्सु र कुहिरोले जनजीवन प्रभावित पार्न थालेको मौसमविद् नगरकोटीले बताइन् ।