मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार १६:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार १६:५४:००

नेपाल सरकारले दैनिक दुई लाखजनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ। यसका लागि आवश्यक  खोप, खोप केन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि  खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ। मन्त्रिपरिषद्को यही मंसिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रूपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक दुई लाखजनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए।

‘अहिले पनि करिब दुई लाखजनाकाे हाराहारीमा खोप लगाइरहेका छौँ,’ उनले भने, ‘खोप लगाउन आएका कसैलाई पनि खोप नलगाई फर्काएका छैनौँ।’ उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ। ‘हामीसँग प्रशस्त्र मात्रामा खोप छ। अहिले पनि नियमित खोप आइरहेका छन्,’ सहप्रवक्ता डा अधिकारीले भने, ‘खोप लगाउन कोही पनि नछुटुन् भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्न सम्बन्धित जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ।’

उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए। उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ। तीन करोड ५० लाख खोप आउने क्रममा छ।

अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन्। तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्। कुल जनसंख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका मन्त्रालयको तथ्यांक छ। रासस