मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७८ मङ्सिर १८ शनिबार ०६:१४:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन : प्रदेश नेतृत्वमा द्विपक्षीय प्रतिस्पर्धा, देउवा–सिटौला निकटताले पौडेल–कोइराला समूह दबाबमा 

Read Time : > 6 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ मङ्सिर १८ शनिबार ०६:१४:००

प्रदेश २ बाहेक अन्य ६ प्रदेशमा शुक्रबार मनोनयन दर्ता, शनिबार मतदान
- प्रदेश अधिवेशनमा आ–आफ्नो प्रभाव रहेका क्षेत्रमा जित सुनिश्चित हुने गरी केन्द्रमा प्रभावशाली मानिएका नेताहरूको उम्मेदवारी दर्ता भएपछि समूहगत शक्ति संघर्ष पेचिलो

कांग्रेसको १४औँ महाधिवेशनमा सम्भावित समीकरणको अनिश्चितता कायमै रहे पनि प्रदेशको नेतृत्वका लागि विभिन्न समूहले आ–आफ्नो अनुकूलता हुने गरी रणनीतिसहित सहकार्य गरेका छन् । बिहीबारदेखि सुरु प्रदेश अधिवेशनमा आफ्नो पक्षमा परिणाम ल्याउने गरी समूहगत समीकरण देखिएका छन् । 

प्रदेश अधिवेशनमा आ–आफ्नो प्रभाव रहेका क्षेत्रमा जित सुनिश्चित हुने गरी केन्द्रमा प्रभावशाली मानिएका नेताहरूको उम्मेदवारी दर्ता भएपछि समूहगत शक्ति संघर्ष पेचिलो देखिएको छ । मुलुकमा संघीय संरचना कार्यान्वयन भएपछि कांग्रेसले पहिलोपटक गर्न लागेको प्रदेश अधिवेशनबाट नेतृत्व चयन हुँदा त्यसले केन्द्रीय महाधिवेशनको सम्भावित समीकरण संकेत गर्नेछ । 

प्रदेशमा मुख्यतः संस्थापन र इतर गरी दुई पक्षबीच प्रतिस्पर्धा छ । प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौल पक्षबीच अघोषित सहकार्यले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूह दबाबमा देखिएको छ । प्रदेश–२ मा भने विमलेन्द्र निधिले सभापति देउवालाई चुनौती दिएका छन् । 

कांग्रेसको केन्द्रीय निर्वाचन आयोगले बिहीबारदेखि सातवटै प्रदेशको अधिवेशन सुरु गर्ने कार्यतालिका बनाएको थियो । तर, प्रदेश २ मा तल्लो तहका अधिवेशन हुन नसकेका कारण शुक्रबार कार्यतालिकाअनुसार मनोनयन दर्ताको प्रक्रिया अघि बढ्न सकेन । प्रदेश २ बाहेक अन्य ६ प्रदेशमा शुक्रबार मनोनयन दर्ता सम्पन्न भएको छ । शनिबार मतदानको कार्यसूची छ ।

केन्द्रीय महाधिवेशन सुरु हुन हप्ता दिन बाँकी रहँदा प्रदेशभन्दा मुनिका सम्पन्न अधिवेशनमा पार्टी सभापति देउवा र नेता कृष्ण सिटौला पक्षबीच अघोषित समीकरण बनेको छ । सिटौला पक्ष देशैभर कमजोर देखिए पनि बागमतीमा प्रभावशाली र प्रदेश १ मा अर्थपूर्ण मानिएको छ । देउवाले शक्ति आर्जनका लागि सिटौलासँग यी क्षेत्रमा अघोषित सहकार्य गरेका छन् । अहिलेसम्म देउवा र सिटौला पक्षबीच समीकरणको औपचारिक सहमति नभए पनि सहकार्यको प्रयास भएको छ । 

देउवानिकट स्रोतका अनुसार नेता सिटौलासँग सातमध्ये पाँच र दुई प्रदेश भाग लगाउने मोटामोटी सहमति बनेको थियो, जसमा प्रदेश १ र बागमतीमा सिटौला पक्षलाई र बाँकी पाँचवटा प्रदेशमा देउवा पक्षलाई सहयोग गर्ने गरी छलफल भएको थियो । सोहीअनुरूप प्रदेश १ मा सिटौला पक्षका उद्धव थापालाई देउवा पक्षले समर्थनसमेत गरेको छ । संस्थापनइतरबाट केन्द्रीय महामन्त्रीका लागि चर्चा भइरहेका गुरुराज घिमिरे उम्मेदवार बनेका छन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामवलीअनुसार प्रदेश १ को अधिवेशनमा एक हजार ७७० मतदाता छन् । यद्यपि पार्टी केन्द्रबाट केही नाम इमेलमा थपिएर आएका कारण मतदाताको संख्या बढ्न सक्ने निर्वाचन समितिले जनाएको छ । यसमध्ये सिटौला समूहसँग मात्रै सात सय हाराहारी र देउवासँग चार सयभन्दा बढी मत रहेको दाबी दुवै पक्षले गरेका छन् । यस्तै, पौडेल–कोइराला समूहले भने आफूसँग ६७० हाराहारीमा मतदाता रहेको दाबी गरेको छ । 

प्रदेश १ मा कमजोर देखिएको देउवा समूहले सिटौला समूहलाई सघाएको छ । यसअघि देउवा समूहमा रहेका विश्वप्रकाश शर्माको गृहजिल्ला झापामा वरिष्ठ नेता पौडेल समूहले शर्मालाई सघाएको थियो । सिटौला समूहलाई पनि झापामा देउवा समूहका केहीले सहयोग गरेका थिए । झापामा सिटौला र शर्मा समूहबीच चुनावी प्रतिस्पर्धा भएको थियो । 

तर, बागमती प्रदेशमा भने देउवा र सिटौला पक्षबीच भएको भनिएको सहमतिअनुसार समीकरण बन्न सकेन । शुक्रबार उम्मेदवारी दर्ताका क्रममा बागमती प्रदेशमा देउवानिकट इन्द्र बानियाँले सिटौलानिकट भीमसेनदास प्रधानलाई समर्थन गर्न मानेनन् । जसका कारण दुवै जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट भने जगदीश्वरनरसिंह केसी साझा उम्मेदवार बनेका छन् । 

बागमती प्रदेश अधिवेशनमा करिब दुई हजार १३७ मतदाता छन् । त्यसमध्ये देउवा समूहले करिब पाँच सय र सिटौला पक्षले करिब तीन सय हाराहारी मतदाता रहेको दाबी गरेका छन् । संस्थापनइतरका नेताहरूले भने आफूसँग करिब एक हजार तीन सय मतदाता रहेको दाबी गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा कमजोर रहेको भनिएको सभापति देउवा पक्षले केही मत रहेको सिटौला पक्षलाई साथमा लिएर अर्जुन जोशीलाई सभापतिको उम्मेदवार बनाएको छ । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला पक्षले भने शुक्रराज जोशीलाई संयुक्त उम्मेदवार उठाएका छन् । गण्डकीमा प्रदेश अधिवेशनका लागि करिब एक हजार ८५ मतदाता छन् । जसमध्ये पौडेल र कोइराला पक्षले आफूसँग करिब सात सय मतदाता रहेको दाबी गरेको छ । त्यसो हुँदा देउवा पक्षसँग सिटौलासहित करिब तीन सय हाराहारीमा मतदाता रहन्छन् । गण्डकीमा पौडेल र कोइराला पक्ष ६० प्रतिशत र देउवा पक्ष करिब ४० प्रतिशत रहेको अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशमा पनि देउवा र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । देउवा पक्षबाट भरतकुमार शाह र पौडेल पक्षबाट अमरसिंह पुनले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । लुम्बिनी प्रदेश अधिवेशनका लागि एक हजार ६४८ मतदाता छन् । जसमध्ये देउवा पक्षसँग करिब सात सय मतदाता रहेको आकलन गरिएको छ । पौडले पक्षले भने आफूसँग नौ सयभन्दा बढी मतदाता रहेको दाबी गरेको छ । 

कर्णाली प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यसअघि देउवा समूहमा रहेका विमलेन्द्र निधि पक्षले पनि प्रदेशको नेतृत्वमा उम्मेदवारी दर्ता गराएसँगै कर्णालीमा प्रतिस्पर्धा थप पेचिलो बनेको छ । देउवा पक्षबाट ललितजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् भने पहिले एक समूहमा रहेका मोतिराज बमले निधि समूहको प्रतिनिधित्व गर्दै सभापतिमा उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट भने भूपेन्द्रजंग शाहीले उम्मेदवारी दिएका छन् । कर्णालीमा करिब ७५० मतदाता रहेको देउवा पक्षले आफूसँग ३८० मत रहेको दाबी गरेको छ । त्यस्तै पौडेल पक्षसँग ३४० मतदाता र निधिको पक्षमा १५ जना मतदाता रहेको अनुमान गरिएको छ । करिब १५ जनाभन्दा बढी मतदाता भने कुनै पक्षमा खुलेका छैनन् ।

त्यस्तै सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा पौडेल पक्षले चुनौती दिने भएको छ । सुदूरपश्चिम प्रदेशमा देउवा पक्षबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने पौडेल पक्षबाट नारायणदत्त मिश्रले उम्मेदवारी दिएका छन् । यहाँ करिब ९८७ मतदाता रहेकामा देउवा पक्षले आफू एक्लैसँग ६ सयभन्दा बढी मतदाता रहेको दाबी गरेको छ ।

सिटौलानिकट एकजना केन्द्रीय सदस्यका अनुसार तलका कमिटीमा सबैले आ–आफ्नो पक्षमा परिणाम ल्याउने प्रयास गरेकाले माथिको समीकरण फरक हुने बताए । ‘वडादेखि प्रदेश तहसम्म आइपुग्दा समीकरण एकैनासले बनेको देखिएन । जहाँ जसले जससँग सहकार्य गरेर आफ्नो पक्षमा शक्ति आर्जन गर्न सकिन्छ, सोहीअनुसार समीकरण बनेका छन्,’ ती नेताले भने, ‘केन्द्रमा पनि बाहिर अनुमान जे भइरहेको छ, त्यही हुन्छ भन्न सकिने अवस्था छैन । सबै पक्षले आ–आफ्नो दाबी छाडेका छैनन् । प्रदेशमुनिका सबै अधिवेशन सकिएपछि त्यस विषयमा गृहकार्य सुुरु होला ।’ उनले प्रदेशमा सहकार्य गर्दा पनि पूर्वानुमान गरिएजस्तो समीकरण बन्न नसकेको र जतिसक्दो आफ्नो पक्षमा शक्ति आर्जन गर्ने कोसिस देखिएको बताए । संस्थापनइतर भने वडादेखि प्रदेश तहसम्म अधिवेशनमा सहकार्य भइरहेको छ ।

देउवा–सिटौला समूहबीच अघोषित समीकरण
- देउवानिकट स्रोतका अनुसार नेता सिटौलासँग सातमध्ये पाँच र दुई प्रदेश भाग लगाउने मोटामोटी सहमति बनेको थियो, जसमा प्रदेश १ र बागमतीमा सिटौला पक्षलाई र बाँकी पाँचवटा प्रदेशमा देउवा पक्षलाई सहयोग गर्ने गरी छलफल भएको थियो । सोहीअनुरूप प्रदेश १ मा सिटौला पक्षका उद्धव थापालाई देउवा पक्षले समर्थनसमेत गरेको छ । 

- बागमती प्रदेशमा भने देउवा र सिटौला पक्षबीच भएको भनिएको सहमतिअनुसार समीकरण बन्न सकेन । शुक्रबार उम्मेदवारी दर्ताका क्रममा बागमती प्रदेशमा देउवानिकट इन्द्र बानियाँले सिटौलानिकट भीमसेनदास प्रधानलाई समर्थन गर्न मानेनन् । जसका कारण दुवै जनाले सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रदेश पदाधिकारीमा यस्ता छन् उम्मेदवार

प्रदेश १ मा देउवा–सिटौला समूहले उद्धव थापालाई साझा उम्मेदवार बनाएको छन् । यो समूहबाट उपसभापतिमा टंक राई र रमेशजंग रायमाझी, महामन्त्रीमा भूपेन्द्र राई र पद्मसुन्दर पालुङ्व उम्मेदवार छन् । कोइराला–पौडेल समूहले गुरुराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको छ । यो समूहबाट उपसभापतिमा गोविन्द ढुंगाना र विश्वनाथ रिजाल र महामन्त्रीमा दिपेन श्रेष्ठ र उमेश थापाको उम्मेदवारी परेको छ । 

प्रदेश २ मा प्रदेश समितिको निर्वाचन सुरु हुन सकेको छैन । तर, विमलेन्द्र निधि र देउवा समूहबाट उम्मेदवारीको तयारी देखिन्छ । निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले उम्मेदवारी दिने तयारी गरेका छन् । देउवा समूहबाट रौतहट जिल्ला सभापति कृष्णा यादव उम्मेदवार बन्ने कसरतमा छन् । रोकिएका जिल्लाका अधिवेशन सकिएसँगै शनिबारदेखि प्रदेश समितिको अधिवेशन सुरु हुने नेपाली कांग्रेस प्रदेश २ निर्वाचन संयोजक रमेश रिजालले बताए । प्रदेश २ का आठ जिल्लामा प्रदेश निर्वाचनका निम्ति एक हजार ७६० मतदाता हुनेछन् ।

बागमती प्रदेशमा देउवा, पौडेल–कोइराला र सिटौलाका गरी तीन उम्मेदवारबीच सभापतिको प्रतिस्पर्धा पक्का भएको छ । देउवा पक्षबाट इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानलसहित उम्मेदवारी परेको छ । उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का मैदानमा छन् ।

पौडेल–कोइराला समूहबाट जगदीश्वरनरसिंह केसी सभापतिमा उठेका छन् । प्रकाशमान र विमलेन्द्रको पनि समर्थन रहेको यो समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कञ्चनचन्द्र बाद, सहमहामन्त्रीमा ऋषिराम घिमिरे, दिलबहादुर तामाङ र जीवन डंगोलको उम्मेदवारी परेको छ । सिटौला पक्षबाट भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिएका छन् । यो समूहले अन्य पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दिएको छैन । 

गण्डकी प्रदेशमा पनि देउवा र पौडेल–कोइराला प्यानलसहित प्रतिस्पर्धामा छन् । देउवा समूहबाट सभापतिमा अर्जुन जोशी, उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, महामन्त्रीमा कुमार खड्का र ईश्वर पाण्डे, सहमहामन्त्रीमा ओमकला गौतम, राजनराज पन्त र झलबहादुर आलेले उम्मेदवारी दिएका छन् । 

पौडेल–कोइराला समूहबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन् । उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने, सहमहामन्त्रीमा कोपिला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डे मैदानमा छन् । कुनै पनि समूहमा नरहेका युवराज बास्ताकोटी र गणेश सापकोटाले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । 

लुम्बिनी प्रदेशमा पौडेल पक्षबाट सभापतिमा अमरसिंह पुनको उम्मेदवारी परेको छ । यस्तै, उपसभापतिमा भुवन श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी उम्मेदवार छन् । देउवा पक्षबाट भरतकुमार शाहले सभापतिमा उम्मेदवारी दिएका छन् । उपसभापतिमा सुधाकर पाण्डे र राजु खनाल, महामन्त्रीमा जन्मजय तिमिल्सिना र खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा सरिता चौधरी, माया पुन र लक्ष्मीनारायण शाह उम्मेदवार छन् । 

कर्णाली प्रदेशको सभापतिमा देउवा, पौडेल–कोइराला र निधिका उम्मेदवार मैदानमा छन् । सभापतिमा देउवा पक्षबाट ललितजंग शाही, पौडेल–कोइराला पक्षबाट भूपेन्द्रजंग शाही तथा निधिको समूहबाट मोतिराम बल उम्मेदवार बनेका छन् । उपसभापतिका दुई पदमा कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । महामन्त्री दुई पदमा निरञ्जन केसी, कृष्णबहादुर बिसी, खगेन्द्रबहादुर मल्ल र गोविन्द कोइराला भिड्दै छन् । यस्तै, दुई सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्याय (जयस) को उम्मेदवारी छ । सहमहामन्त्रीतर्फ महिला पदमा रामछायाकुमारी शाही र देविकाकुमारी सिंह भिड्दै छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन समूहबाट सभापतिमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री वीरबहादुर बलायर र इतर समूहबाट नेता नारायणदत्त मिश्रले उम्मेदवारी दिएका छन् । बलायर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वास पात्र हुन् ।

बलायरको प्यानलबाट उपसभापतिमा जनकराज चौधरी, लोकराज अवस्थी र हिम रावल मैदानमा छन् । पौडेल–कोइराला समूहबाट भने गोपाल गुरुङ र मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा संस्थापन समूहबाट कैलाली सभापति नरनारायण शाह र मेघराज खड्का तथा पौडेल समूहबाट प्रताप गुर्धामी र रामबहादुर शाही प्रतिस्पर्धामा छन् ।

तीन सहमहामन्त्री पदका लागि संस्थापनबाट अम्बिका चलाउने, गोपालदत्त भट्ट, चिन्तामणि भट्ट, लक्ष्मण शाही र हर्कबहादुर स्वाँरले उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट पदमराज पन्त, नरेन्द्र भट्ट र खिमा भण्डारीको उम्मेदवारी छ । शनिबार बिहान ८ बजेबाट निर्वाचन हुने प्रदेश अधिवेशन आयोजक समितिका सचिव नृप सुनारले जानकारी दिए । 

(झापाबाट चिरञ्जीवी घिमिरे, पोखराबाट गोविन्द सुवेदी, भैरहवाबाट दिपेश पछाई, हुम्लाबाट नरजन तामाङ र धनगढीबाट तेजराज भट्ट)