१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १७:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्राविधिक र व्यावसायिक शिक्षामा विश्वविद्यालयले जोड दिनुपर्छ : शिक्षामन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १७:५९:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको नवौँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिनुपर्ने बताए। विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान एवं योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। सहकुलपतिसमेत रहेका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। 

‘सुदूरपश्चिम जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनाहरू बोकेको क्षेत्र हो,’ उनले भने, ‘त्यहाँको आवश्यकता र मागअनुसारको अनुसन्धानमुखी शिक्षा सर्वसुलभ रूपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ।’

आजको  प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउँदै थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाब दिए। उनले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्विद्यालयले उपलब्ध सीमित स्रोतसाधन एवं प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठनपाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताए। विश्वविद्यालयको समृद्धि एवं सफलताका लागि प्रशासनिक तथा सांगठनिक रूपमा सबल नेतृत्व, पारदर्शिता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ।