Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १७ शुक्रबार १७:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सजाय भुक्तान नगरी फरार रहेका आठजना पक्राउ

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १७ शुक्रबार १७:२०:००

जिल्ला अदालत सिराहाले विभिन्न मुद्दामा सजाय सुनाएपछि फरार रहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले विभिन्न मुद्दामा कैद तथा जरिवाना भुक्तान नगरेका आठजनालाई पक्राउ गरेको हो।

चार वर्षअघि जिल्ला अदालत सिराहाले लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाहीका ६० वर्षीय रामअसिस दास तत्मालाई कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको थियो। अदालतको आदेशपछि फरार रहेका तत्मालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।

यस्तै, चोरी मुद्दामा एक दिन कैद र ४ लाख ९९ हजार जरिवानापछि फरार रहेका लहान नगरपालिका–२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादव, लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय सुनाएपछि फरार रहेका सुखिपुर नगरपालिका–५ का ३८ वर्षीय कासिन्द्र यादव, ६ महिना कैद फैसलापछि फरार सिराहा नगरपालिका– १२ गम्हरिया टोलका ४५ की अनिता देवी सहनी, सवारी ज्यान मुद्दामा १५ दिन कैद र २ हजार जरिवानापछि फरार गोलबजार नगरपालिका–२ गुरुधामका ४१ वर्षीय रामकुमार मगर, सोही मुद्दामा ८ दिन कैद र २ हजार जरिवाना सुनाइएका गोलबजार नगरपालिका–२ गुरुधामका ३५ वर्षीय साजनकुमार लामालाई फैसला कार्यान्वयनको क्रममा पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले जानकारी दिए।

त्यसैगरी, ६ वर्षअघि जग्गा खिचोला मुद्दामा एक सय ३७ रुपैयाँ जरिवाना भुक्तान नगरी फरार रहेका औरही गाउँपालिका–२ का ६७ वर्षीय जगदीश नायक, झैझगडा मुद्दामा संलग्न भई फरार रहेका सिराहाको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामबाबु यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले एकमुष्ट ४ वर्ष ६ महिना २४ दिन कैद र ६ लाख ३ हजार ७८७ रुपैयाँ जरिवाना असुली गर्न आठैजनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ गरिएकालाई जिल्ला अदालतमा बुझाएको र कैद भएकाहरूलाई कारागार चलान भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।