मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक अधिकारी दार्चुला
२०७८ मङ्सिर १७ शुक्रबार १३:०५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला सीमामा एसएसबीको ज्यादती, नेपालीलाई घन्टौँ लाइनमा कुराएर तीनपुस्ते इन्ट्री

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १७ शुक्रबार १३:०५:००

भारतीय बजार जान लागेकी महाकाली नगरपालिका–४ की राधिका लुहारलाई एसएसबीले  नेपाल–भारत जोड्ने धार्चुला पुलमा रोकिदियो। दार्चुला सदरमुकाम खलंगामा भारी बोक्ने काम नपाउँदा भौतारिँदै पारी धारचुला जान खोजेकी उनलाई एसएसबीले नागरिकता वा परिचयपत्र देखाउन भन्दै पुलछेउमै अवरोध गरे। उनले नागरिकता बोकेकी थिइनन्।  नागरिक परिचयपत्र खुल्ने केही कागज नभेटिएपछि उनलाई धारचुला प्रवेशमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पुलबाटै फर्काइदिए।  

मालिकार्जुन २ का वीरसिंह धामी औषधि लिन धारचुला बजार जाँदै थिए।  पकेटमा नागरिकता बोकेको भए पनि पुलपारि सयौँ नेपालीलाई लाइनमा रोकेर राखिएको थियो।  सबैको नागरिकताअनुसार तीनपुस्ते विवरण एसएसबीले टिप्दै थियो।  एकजनाको नाम इन्ट्रीमै पाँचदेखि सात मिनेट लगाउँदा घन्टौँ लाइनमा कुर्नुपर्ने अवस्था आएपछि औषधि नलिएरै नेपाल फर्किएको उनले सुनाए।  नेपाल फर्किने क्रममा धामीले भने, ‘घन्टौँ लाइनमा कुरेर भारतमा औषधि लिन किन जानु।  बरु डडेल्धुरा धनगढीबाट मगाउनुपर्ला। ’ 

एक सातायता भारतीय एसएसबीले नेपालीलाई भारत प्रवेशमा परिचयपत्र अथवा नेपाली नागरिकता र कोरोना खोप लगाएको कार्डसमेत माग्न थालेको छ।  दैनिक उपभोग्य समान ल्याउन जाने नेपालीलाई अहिले परिचयपत्र मागेर एसएसबीले सीमामा दु:ख दिएको स्थानीय मञ्जु भुलले बताइन्।  ‘अहिलेसम्म हामी पारिबाटै वारी भारी बोक्ने, धारचुलाका पसलहरूमा समान ओसारपसार गरेर गुजारा चलाउँदै आएका थियौँ उनले भनिन्’, ‘तर अहिले पारि जान नपाउँदा दैनिक छाक टार्न धौधौ भएको छ।‘ 

‘सदरमुकाम खलंगा वरपरकालाई नागरिकता बोक्नुपर्छ भन्ने जानकारी भयो, तर गाउँबाट आएकाहरूले भारतीय बजार नपुगी फर्किनुपरेको छ’, भुलले सुनाइन्।  पहिले सामान्य चेकजाँच गरेर धारचुला बजार जान दिने गरेकोमा अहिले तीनपुस्ते विवरण र परिचयपत्र खुल्ने कार्ड मागेर सर्वसाधारणलाई सीमामा हैरानी पुर्याएको छ।  

भारतीय बजार धारचुलामा निर्भर रहेका मजदुरको अहिले दैनिकी टार्न मुस्किल छ।  वारि दार्चुला बजारमा भारी बोक्ने कामसमेत पाइँदैन्।  सानो बजार भएको कारण मजदुरी गर्नेको संख्या बढ्दो छ।  यहाँ काम पाउने भनेको तराईबाट गाडी आउँदा बिहानको समयमा थोरै भारी पाइन्छ, कैलाली टीकापुर घर भई सदरमुकाम खलंगामा भारी बोक्दै आएका मोहन थापाले भने।  अहिले खलंगामा कैलाली, बझाङ, बैतडीलगायतका दर्जनौँ मजदुर भारी बोक्ने गर्छन्।  

गत शनिबार दार्चुला, बैतडी र भारत पिथौरागढका जिल्ला अधिकारीबीच पिथौरागढमा सीमा समन्वय बैठक बसेको थियो।  बैठकमा भारतसँग सीमा जोडिएका दार्चुला बैतडी र पिथौरागढका जिल्ला अधिकारी सहभागी थिए।  कोरोनाका कारण दुई वर्षसम्म बस्न नसकेको बैठक बसेको हो।
बैठकमा सीमामा नागरिकलाई दुर्व्यवहार नगर्नेदेखि सीमा आवतजावतमा सहजता तुल्याउनेसम्मको छलफल भएको थियो।  नेपाली पक्षले सीमामा नेपालीमाथि बढ्दो दुर्व्यवहार रोक्नुपर्ने एजेन्डा राखेको थियो।  नेपाली पक्षले राखेको एजेन्डामा सहमति जनाए पनि व्यवहारमा अहिले भारतले निर्णय कार्यान्वयन नगरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।  ‘मौखिक छलफल गर्दा सबै हुन्छ, हुँदैन केही पनि भन्दैनन्,’ प्रजिअ जोशीले भने, ‘तर उनीहरूले प्रतिबद्धता गरेका कुरा व्यवहारमा भने देखिँदैन।’ 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि आज सार्वजनिक सूचना जारी गर्दै कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण भित्रिन नदिन सीमा चेकजाँचमा कडाइ गर्ने जनाएको छ।  प्रमुख जिल्ला अधिकारी जोशीद्वारा हस्ताक्षरित सूचनामा नयाँ भेरियन्टलाई समयमै सावधानी अपनाई नेपाल प्रवेश हुन नदिने र जनजीवनलाई सामान्य बनाइराख्न नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्ने सबै नागरिकलाई कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्रै प्रवेश दिन भनिएको छ।  

खासगरी रोजगारीका लागि भारत जाने तथा दैनिक मजदुरी गर्न धारचुला बजारमा जानेहरू अहिले समस्यामा परेका छन्।  दैनिक उपभोग्य वस्तु पनि धारचुला बजारबाटै आउने गर्छ।  तर, अहिले भारतले सीमामा सास्तीदिँदा नेपालीले एसएसबीबाट दुर्व्यवहारसमेत खेप्नुपरेको छ।  

सीमा पुलका प्रहरीका अनुसार धारचुला आवतजावत गर्दा माथिको आदेश भन्दै एसएसबीले घन्टौँ लाइनमा उभ्याउने गरेको छ। ‘हामीलाई पनि माथिकै आदेश भनेर जानकारी गराएका छन्, पुलघाटमा कार्यरत एक सुरक्षाकर्मीले भने, ‘पाँच सात दिनयता नेपालीले सीमामा सास्ती भोगेका छन्।‘  समान ल्याउन रोकटोक नलगाएको भए पनि आवतजावत गर्दा केही असहजता ल्याएका छन्।  विगतमा वारिपारिको समन्वयमा पुल बन्द भइसके पनि खुलाउने गरेकोमा अहिले सवा पाँच बजेपछि पुल खुलाउनसमेत रोकिएको छ।  

उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापा नेपाली व्यापारी र सर्वसाधारणले भारत प्रवेशमा रोक लगाएकोबारे प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशी र भारतीय व्यापारमण्डललाई ध्यानाकर्षण गराएको बताउँछन्।  ‘आवतजावत सहज बनाउने विषयमा भारतीय व्यापारमण्डलसँग छलफल भएको छ,’ उनले भने ‘भारतीय पक्षबाट धारचुला प्रवेशमा सहजता नभए सोमबार नेपालीलाई भारत जान रोक लगाउँछौँ।’ कुनै पनि नेपाली सीमा पुल भएर धारचुला जान बन्द गर्ने गरी छलफल थालिएको उनले बताए।