Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनु आचार्य
२०७५ पौष ६ शुक्रबार ०८:३५:००
Read Time : > 2 मिनेट
प्रदेश

पहुँचवालालाई मात्र रसुवागढी नाका हुँदै केरुङ जान ‘वान डे पास’

Read Time : > 2 मिनेट
अनु आचार्य
२०७५ पौष ६ शुक्रबार ०८:३५:००

पहुँचवालाले मात्र रसुवागढी नाका हुँदै केरुङ जान ‘वान डे पास’ पाउने गरेका छन् । जिल्लाबाहिरका नागरिकमध्ये अधिकांश पहुँचवालाले मात्र ‘वान डे पास’ पाउने गरेको पाइएको हो । रसुवागढी अध्यागमन कार्यालय रसुवाका अनुसार १ जनवरीदेखि १८ डिसेम्बरसम्म ५४७ सरकारी कर्मचारी तथा जनप्रतिनिधिले ‘वान डे पास’ पाएका छन् । जनवरीमा ४५, फेब्रुअरीमा ३४, मार्चमा ३१, अप्रिलमा ३६, मेमा ३७, जुनमा ३९, जुलाईमा ४१, अगस्टमा ३८, सेप्टेम्बरमा ५०, अक्टोबरमा ४२, नोभेम्बरमा ८२ र डिसेम्बर १८ सम्ममा ७२ जनाले ‘वान डे पास’ पाएका हुन् । 

जिल्लाबाहिरका अधिकांश नागरिक अवैध गतिविधिमा संलग्न भई नाकालाई बदनाम गराउने हुँदा जनप्रतिनिधि र सरकारी कर्मचारीलाई मात्र पास उपलब्ध गराइएको रसुवागढी अध्यागमन कार्यालयले जनाएको छ । रसुवागढी हुँदै चीनको केरुङमा अवलोकन भ्रमणका लागि जिल्ला आएका सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई ‘वान डे पास’ उपलब्ध गराइएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए । उनले भने, ‘परिचयपत्रका आधारमा हामीले जनप्रतिनिधि र सरकारी कर्मचारीलाई मात्र पास उपलब्ध गराएका छौँ, यदि कोही जानै पर्नेछ, समस्यामै परेको हो भने उहाँहरूलाई पनि दिन्छौँ ।’

‘वान डे पास’ पाएर केरुङ पुग्ने नेपाली २४ घन्टासम्म रहन पाउँछन् । यसअघि जिल्ला प्रशासन कार्यालय र अध्यागमन कार्यालयबाट ‘वान डे पास’ उपलब्ध गराउने गरिए पनि पछिल्लो समय अध्यागमन कार्यालयबाट मात्र पास उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । उनले भने, ‘दुई स्थानबाट पास उपलब्ध गराउँदै आइएको थियो, तर एकद्वार प्रणालीमा ल्याउन अहिले अध्यागमन कार्यालयबाट मात्र पास उपलब्ध गराउन थालिएको छ ।’


 सबै नेपालीलाई पास उपलब्ध गराउन पहल
चीन प्रवेशका लागि जिल्लाबाहिरका नागरिकलाई असहज भएपछि अध्यागमन तथा जिल्ला प्रशासन कार्यालय रसुवाले ‘वान डे पास’ उपलब्ध गराउन पहल थालेको जनाएका छन् । सबै नेपालीलाई चीन प्रस्थान प्रवेश अनुमतिका लागि केही दिनअघि मन्त्रीस्तरीय बैठकले चीन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । उनले भने, ‘तातोपानी नाकाबाट सहज रूपमा सबै नागरिकलाई आवतजावत गर्न सक्ने जुन वातावरण बनाइएको थियो, सोहीअनुसार यो नाकाबाट पनि आवतजावत गराउन मन्त्रीस्तरमा पहल थालेका छौँ ।’ 

 बसाइँ सरेर आउनेको हकमा सर्त 
जन्म तथा विवाहका आधारमा नेपाली नागरिकताको प्रमाणपत्रमा स्थायी ठेगाना रसुवा भएकाबाहेक बसाइँसराइ गरी आएका नागरिकले पनि एकवर्षे पास पाउने गर्दछन् । तर, उनीहरूका लागि सर्त निर्धारण गरिएको छ । उनीहरूले स्थायी रूपमा बसोवास गर्न आफ्नो नाममा जग्गा धनीपुर्जा प्राप्त गरी घर निर्माणसमेत गरेको हुनुपर्नेछ । साथै, आफ्नो परिवारसहित बसाइँ सरेर आएको व्यहोरा सुनिश्चित गरेर मात्रै बसाइँसराइ प्रमाणपत्र जारी हुनेछ । त्यसका लागि स्थानीय तहका प्रमुख स्वयंले सिफारिस गर्नुपर्नेछ । यसबारेमा जिल्लाका पाँचवटै गाउँपालिकालाई पत्र पठाइएको पौडेलले बताए ।

 १२ जनाको पास रद्द गर्ने तयारी
चीन प्रवेशका लागि अनियमितता गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ । कर्मचारीसँगको मिलेमतोमा १२ जनाको विनाकागजात पास बनाएको पाइएपछि उक्त पास रद्द गर्न आवश्यक प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 


 विगतमा केरुङ जान पास चाहिँदैनथ्यो
रसुवागढी नाका हुँदै केरुङ जान विगतमा पासको आवश्यकता पर्दैनथ्यो । तर, रसुवागढी हुँदै केरुङबाट व्यापार व्यावसाय बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले एकवर्षे पास उपलब्ध गराउन सुरु ग-यो । सुरुमा चीनसँग सीमा जोडिएका गाविसका नागरिकलाई दिइएको पास जिल्लाबासीलाई पनि दिइयो । १ जनवरी २०१८ बाट ‘वान डे पास’को समेत व्यवस्था गरिएको छ । तर, त्यो पास भने पहुँचवालाले मात्रै पाएका छन् । उद्योग वाणिज्य संघ, हिमालय सीमापार व्यापार संघ, नेपाल–चीन केरुङ व्यापार संघलगायतका विभिन्न संघसंस्थाहरू तथा व्यापारीहरूले अन्य जिल्लाका व्यक्ति पनि केरुङ जान पाउनुपर्ने माग गर्दै आएका छन् ।

 सम्झौता संशोधन आवश्यक
नेपाल सरकार र चीन सरकारबीच सन् २०१२ जनवरी १४ मा सिमानाका बासिन्दाबाट गरिने सीमापार चरनसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौता संशोधन गर्न आवश्यक रहेको पौडेलले बताए । सम्झौताअनुसार रसुवा जिल्लाका बासिन्दाकाले रसुवागढी नाका हुँदै सीमा क्षेत्रबाट ३० किलोमिटरभित्रको पहुँचयोग्य स्थानसम्म आवतजावत गर्न सक्नेछन् । उक्त स्थानसम्म आवतजावत गर्न अध्यागमन कार्यालय रसुवाबाट नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र जारी तथा नवीकरण हुँदै आएको छ ।