Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पिटर कोय
२०७८ मङ्सिर १७ शुक्रबार ०८:२६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण अफ्रिकालाई दण्डित होइन, पुरस्कृत गरौँ

Read Time : > 3 मिनेट
पिटर कोय
२०७८ मङ्सिर १७ शुक्रबार ०८:२६:००

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे विश्वलाई जानकारी दिने जस्तो असल कार्य गरेबापत दक्षिण अफ्रिकाले अहिले भारी मूल्य चुकाइरहेको छ 


 कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे विश्वलाई जानकारी गराएबापत दक्षिण अफ्रिकाले भारी मूल्य चुकाइरहेको छ । अमेरिका, बेलायतलगायत धेरै मुलुकले दक्षिण अफ्रिका आउने–जाने हवाई उडानलाई रोक लगाएका छन् । महामारीले पहिल्यै जर्जर बनाएको दक्षिण अफ्रिकाको अर्थतन्त्रमाथि यो यात्रा प्रतिबन्धले थप क्षति पु¥याउने निश्चत छ । नयाँ भेरियन्ट पत्ता लगाएपछि विश्वले दक्षिण अफ्रिकामाथि गरेको छिःछि, दुरदुरको व्यवहारले खराब नजिर बसाल्नेछ । भविष्यमा कुनै मुलुकले कोरोना भाइरसको खतरनाक नयाँ भेरियन्ट भेट्दा पनि त्यो कुरा बाहिर ल्याउँदा आर्थिक दुष्परिणाम भोग्ने डरले त्यस तथ्य लुकाउन सक्छन् । साथै, मुलुकहरू नयाँ भेरियन्ट खोज्न गम्भीर हुनेछैनन् । र, भाइरस सबैतिर फैलिसकेपछि मात्र पहिचान हुने स्थिति सिर्जना हुन्छ । यो भयानक स्थितिलाई कसरी समाधान गर्न सकिन्छ ? 

दक्षिण अफ्रिकामाथिको हानि न्यूनीकरण गर्न एउटा त दक्षिण अफ्रिका र अन्य दक्षिणी अफ्रिकी मुलुकमाथि प्रतिबन्ध नगर्ने मार्ग अपनाउन सकिन्छ । आइतबार विश्व स्वास्थ्य संगठनको अफ्रिकास्थित क्षेत्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘यात्रा प्रतिबन्धले कोभिड–१९ को विस्तारमा सानो मात्र भूमिका खेल्छ । तर, यसले आम–जनसंख्या र तिनको जीवनमा भारी कठिनाइ थप्छ । यदि प्रतिबन्ध लागू गर्नैपरेमा त्यो विज्ञानमा आधारित हुनुपर्छ भने ती अनावश्यक रूप नियन्त्रणकारी तथा हस्तक्षेपकारी हुनुहुँदैन ।’ भेरियन्ट व्यापक यात्रा प्रतिबन्ध लगाइएका देशबाट बाहिर फैलिसकेको छ भने यात्रा प्रतिबन्धले न्यून प्रभाव पनि पार्दैन । तर पनि राष्ट्रिय सरकारहरूलाई यात्रा प्रतिबन्ध नलगाउन मनाउन कठिन हुन्छ । स्वाभाविक रूपमा हरेक सरकारको पहिलो प्राथमिकता तिनको नागरिकको स्वास्थ्य र सुरक्षा हुन्छ ।

यो गतिरोधको अर्को एक समाधान पनि छ, जसले एकातर्फ नयाँ भेरियन्टको विस्तार रोकिनेछ भने सँगसँगै मुलुकहरूलाई भविष्यमा देखिन सक्ने भेरियन्टको पहिचान गर्न र त्यसबारे शीघ्र सूचना दिन प्रेरित गर्नेछ । त्यो समाधान हो, पुरस्कार । अहिलेकै हकमा संयुक्त राष्ट्रसंघ अथवा विश्व स्वास्थ्य संगठनमार्फत बाँकी विश्वले दक्षिण अफ्रिकालाई नयाँ भेरियन्टको सिक्वेन्स (अनुक्रम) बनाएर विश्वलाई खबर दिएकोमा ठूलो वित्तीय पुरस्कार दिनुपर्छ । पुरस्कारले दक्षिण अफ्रिकाले असल कार्य गरेबापत सामना गरिरहेको हानिको क्षतिपूर्ति गर्नेछ । अझ पुरस्कार रकम दक्षिण अफ्रिकाले भोगेको क्षतिलाई भरपाई गर्नेभन्दा धेरै हुँदा राम्रो हुन्छ । यसो भएमा मात्र भविष्यमा ऊलगायत अरू मुलुकहरू भेरियन्ट खोज्न र त्यसबारे छिटै सूचित गर्न प्रेरित हुन्छन् । 

नयाँ भेरियन्ट पत्ता लगाएपछि विश्वले दक्षिण अफ्रिकामाथि गरेको छिःछि–दुरदुरको व्यवहारले खराब नजिर बसाल्नेछ । भविष्यमा कुनै मुलुकले कोरोना भाइरसको खतरनाक नयाँ भेरियन्ट भेट्दा पनि त्यो कुरा बाहिर ल्याउँदा आर्थिक दुष्परिणाम भोग्ने डरले तथ्य लुकाउन सक्छन् ।

नयाँ भेरियन्टको विस्तार रोक्न हाल यात्रा प्रतिबन्ध भोगिरहेका अन्य मुलुकलाई पनि मानवीय अनुदान प्रदान गर्नुपर्छ । तर, सबैभन्दा ठूलो लाभ दक्षिण अफ्रिकाले नै पाउनुपर्छ । किनकि, उसले विश्वलाई नयाँ भेरियन्टबारे सूचित गर्न सबैभन्दा धेरै काम ग¥यो । यस्तो पुरस्कार आर्थिक रूपमा कति ठूलो हुनुपर्छ भन्नेमा म स्पष्ट छैन । तथापि, मेरो निम्न प्रस्ताव छ– विश्वको समग्र कुल गार्हस्थ्य उत्पादन बर्सेनि एक हजार खर्ब डलर छ । यस्तोमा कोभिड–१९ बाट हुने विश्वव्यापी क्षतिलाई ०.१ प्रतिशतले मात्र कमले गर्छ भने पनि एक सय अर्ब डलर दिनु ठीक हुन्छ । 

पुरस्कारको एउटा राम्रो पक्ष के हुनेछ भने रकम गरिब देशले पाउने सम्भावना धेरै रहन्छ । ती मुलुकले कोभिड–१९ विरुद्धको लडाइँमा सबैभन्दा बढी कठिनाइ भोगिरहेकाले पुरस्कारको रकमले तिनलाई धेरै सघाउ पुग्नेछ । पुरस्कारको विषयमा सल्टाउनुपर्ने जटिलताहरू पनि छन् । जस्तो यो पुरस्कारका लागि को–को योग्य हुनेछन् ? यो पुरस्कारका लागि सरकारहरू मात्र छनोट हुन पाउँछन् कि कुनै निजी संस्था पनि पुरस्कारका लागि योग्य हुनेछ ? अमेरिकाजस्तो धनी मुलुकलाई पुरस्कार रकम दिनु उपयुक्त हुन्छ कि हुँदैन ? पुरस्कारको संरचना कसरी यस्तो बनाउने कि कुनै अनैतिक सोच भएको सरकारले आफ्ना जनतामाझ कोभिड–१९ फैलिन दिएर नयाँ भेरियन्ट पहिचान हुने सम्भावना बढाउने सोच बनाउन नसकोस् ? 

नयाँ रोगको खोज गर्ने र त्यसबारे सूचना दिनेलाई पुरस्कार दिनेबारे पहिलो चर्चा मेमा सार्वजनिक ‘इन्डिपेन्डेन्ट प्यानेल फर प्यान्डेमिक प्रिपेर्डनेस एन्ड रेस्पोन्स’को रिपोर्टमा उल्लेख थियो । विश्व स्वास्थ्य संगठनको सहयोग रहेको संस्थालाई लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सरलिफ र न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले अध्यक्षता गरिरहेका छन् । रिपोर्टमा भनिएको छ, ‘तीव्र कदम उठाउन सहयोगी हुने गरी सतर्कता प्रणाली रूपान्तरण गर्ने हो भने सहायता (पुरस्कार) संरचनाको आवश्यकता छ । आजको दिनमा स्थानीय तहदेखि माथि अन्तर्राष्ट्रिय तहसम्म जनस्वास्थ्यकर्मीले फैलिने सम्भावना भएको प्रकोपबारे सबैलाई जानकारी गराउँदा जोखिम मात्र देख्न थालेका छन् । यसलाई सम्बोधन गर्नको लागि पुरस्कार प्रदान गर्ने व्यवस्था निर्माण गर्नुपर्छ । पूर्वसतर्कता तथा नियन्त्रणकारी प्रयासले मानव जातिको हित गर्छ भन्ने सबैले स्विकार्नुपर्छ ।’

तर, रिपोर्टले सुझाएको अनुदान कार्यक्रम कसरी निर्माण गर्ने भन्नेबारेमा रिपोर्ट आफैँ मौन छ । यो वर्ष मिल्केन इन्स्टिच्युटले तयार पारेको अर्को रिपोर्टले पनि निगरानी तथा सूचना दिनेहरूका लागि पुरस्कारको व्यवस्था गर्नुपर्ने विषय समेटेको छ । तथापि, त्यसमा पनि त्यसको कार्यान्वयन पक्ष उल्लेख गरिएको छैन । रिपोर्टले ‘कुनै मुलुकले खतरनाक जीवाणु पहिचान गर्दा उसको अर्थतन्त्र, व्यापार, यात्रा र पर्यटनमा पर्न सक्ने सम्भावित नकारात्मक असरबारे’ चेतावनी दिएको छ । आजको दिनमा दक्षिण अफ्रिकाले असल कार्यका लागि सजाय पाएको छ । ‘पछिल्लो समय दक्षिण अफ्रिकामाथि लगाइएको यात्रा प्रतिबन्ध उसको उन्नत जिनोमिक सिक्वेन्सिङ र नयाँ भेरियन्ट शीघ्र पहिचान गर्ने क्षमताका लागि दण्ड दिइएको देखिन्छ,’ दक्षिण अफ्रिकाका विदेशमन्त्रीले शनिबार एक वक्तव्यमा यस्तो असन्तुष्टि पोखेका थिए । हुन पनि ‘उत्कृष्ट विज्ञानलाई दण्डित होइन, पुरस्कृत गर्नुपर्छ ।’