मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०७:४७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नौ रेफ्रीको सामूहिक राजीनामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०७:४७:००
  • २३ डिसेम्बरसम्म अनिवार्य फिटनेस गर्नुपर्ने एन्फाको निर्देशनप्रति असहमति जनाउँदै दिए राजीनामा 
  • राजीनामा बुझाएकामध्ये दुईजना त्रिभुवन आर्मीका रेफ्री थिए । तर, आर्मीको निर्देशनपछि उनीहरूले राजीनामा फिर्ता लिएका छन् ।

सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिरहेका नौजनाले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष सामूहिक राजीनामा दिएका छन् । एन्फाले अन्तर्राष्ट्रिय नियमअनुसार २३ डिसेम्बरसम्म अनिवार्य रूपमा रेफ्रीहरूले फिटनेस टेस्ट गर्नुपर्ने भनेपछि उनीहरूले राजीनामा दिएका हुन् ।

राजीनामाले लिग प्रभावित हुँदैन : इन्द्रमान तुलाधर, महासचिव, एन्फा 
रेफ्रीहरूको सामूहिक राजीनामाले ए डिभिजन लिग प्रभावित हुँदैन । हामी उहाँहरूसँग छलफल गरिरहेका छौ“ । मलाई विश्वास छ, उहाँहरू आउनुहुन्छ यहीकारण खेल प्रभावित हुँदैन जस्तो लाग्छ ।

नेपालका १० मध्ये नौ पुरुष फिफा रेफ्रीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् । यी १० फिफा रेफ्रीमध्ये चारजना फुल फिफा रेफ्री हुन् । उनीहरूमध्ये पनि तीनजना फिफा रेफ्री र ६ जना सहायक रेफ्रीले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा बुझाएकामध्ये दुईजना त्रिभुवन आर्मी क्लबका छन् । तर, आर्मीको निर्देशनपछि उनीहरूले राजीनामा फिर्ता लिएका छन् । आर्मीका दुई सहायक फिफा रेफ्री विक्रम चौधरी र माधव खत्रीले राजीनामा फिर्ता लिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । बाँकी सातजनाले एन्फाको पछिल्लो निर्णयमाथि असहमति जनाउँदै राजीनामा फिर्ता नलिने र लिगसमेत सञ्चालन नगर्ने अडान लिएका छन् ।

‘हामी एन्फाको निर्णय मान्न तयार छैनौँ,’ राजीनामा बुझाएका एक रेफ्रीले भने, ‘हामीलाई जबर्जस्ती फिटनेस टेस्ट गर्न भनिएको छ ।’ ए डिभिजन लिग सञ्चालन गरिरहेका ती रेफ्रीले गत २३ सेप्टेम्बरमै फिटनेस पास गरेका थिए । फिटनेस टेस्ट नै गर्नुपर्ने भए लिग रोक्नुपर्ने उनीहरूको माग छ । लिग चलिरहेका वेलामा फिटनेस टेस्ट गर्न नसकिने उनीहरूको भनाइ छ । ‘हामीलाई एन्फाले बाध्य बनाएर २३ डिसेम्बरसम्म फिटनेस टेस्ट गर्नु भनेको छ, लिग चलिरहेको अवस्थामा यो सम्भव छैन,’ राजीनामा बुझाएकामध्ये एक रेफ्रीले भने ।

रेफ्री उपलब्ध गराए खेल हुन्छ, नभए हुँदैन : मिश्र
रेफ्रीहरूको सामूहिक राजीनामासँगै आजबाट सुरु हुने लिगको तेस्रो चरण अन्योलमा परेको छ । यद्यपि, लिगका लागि एन्फासँग अझै पनि १७ जना रेफ्री बाँकी छन् । लिग सञ्चालन गर्न एन्फासँग २४ रेफ्री छन् । ए डिभिजन लिग कमिटीका संयोजक सञ्जीव मिश्रले आफूहरूलाई रेफ्री कमिटीले रेफ्री उपलब्ध गराए लिग सञ्चालन गर्न सकिने बताएका छन् । 

‘हाम्रो कमिटीको काम नै लिग सञ्चालन गर्ने हो, यदि रेफ्री कमिटीले हामीलाई रेफ्री उपलब्ध गराउँछ भने लिग खेलाउन सक्छौँ,’ संयोजक मिश्रले भने, ‘रेफ्री कमिटीले रेफ्री उपलब्ध नगराए खेल सञ्चालन गर्न सकिन्न ।’ रेफ्रीहरूको सामूहिक राजीनामापछि पनि लिग सञ्चालनमा त्यति धेरै समस्या नआउने उनको भनाइ छ । 

फुटबलको नियमनकारी अन्तर्राष्ट्रिय संस्थाले प्रत्येक तीन–तीन महिनामा रेफ्रीहरूलाई फिटनेस टेस्ट गर्नुपर्ने नियम बनाएको छ । यही नियमअनुसारै नेपालमा रहेका फिफा रेफ्रीहरूले डिसेम्बरभित्र आ–आफ्नो फिटनेस टेस्ट गर्नुपर्ने छ । यद्यपि, लिग चलिरहँदा फिटनेस नगराउन आग्रह रेफ्रीहरूले गरेका थिए । अन्तर्राष्ट्रिय नियमअनुसार फिटनेस दिनु नै पर्ने भएपछि नेपालमा रहेका फिफा रेफ्रीहरूलाई २३ डिसेम्बरसम्म परीक्षण गर्न भनेको हो । 

आपसी सहमतिमा लिग चलिरहँदा फिटनेस टेस्ट नगर्दा पनि हुने रेफ्रीहरूको भनाइ छ । ‘प्रत्येक तीन महिनामा फिटनेस परीक्षण खासै ठूलो होइन । तर, लिग चलिरहेका वेलामै गर्नुपर्ने बाध्यकारी नियमप्रति मात्र हाम्रो असहमति मात्र हो,’ राजीनामा बुझाएका एक रेफ्रीले भने, ‘संसारभरि नै ठूलो प्रतियोगिताअघि वा पछि यस्तो टेस्ट हुने गर्छ, हामीले एन्फा अध्यक्षलाई पछि गरौँ भनेका थियौँ, तर उहाँले मान्नुभएन ।’