मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार ०६:२०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार ०६:२०:००

उच्च संक्रामक मानिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिँदै गएकाले अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी ओमिक्रोनलाई नेपाल भित्रिन नदिन समयमै सावधानी अपनाउन आग्रह गरेको हो । 

‘हालसम्म संक्रमण देखिएका मुलुकहरूमा सकेसम्म भ्रमण नगर्न आग्रह मात्रै गरेका हौँ । नेपाल भित्रिनेलाई पनि अनिवार्य परीक्षण र क्वारेन्टिनको व्यवस्था गरिएको छ । तर, आवतजावतमा प्रतिबन्ध नै लगाउनेबारे भने हालसम्म निर्णय भएको छैन,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

दक्षिण अफ्रिकी मुलुक बोत्सवानामा पहिलोपटक पुष्टि भएको ओमिक्रोन आठ दिनमा विश्वका २० देशमा फैलिसकेको छ । यसले जुनसुकै उमेर समूहका व्यक्तिलाई असर गर्ने विज्ञहरूले बताउँदै आएका छन् । विश्वभर जोखिम बढ्दै गएकाले सकेसम्म विदेश यात्रामा ननिस्किन मन्त्रालयले भनेको छ । 

नेपालमा हालसम्म ओमिक्रोनका संक्रमितहरू नभेटिएको पनि मन्त्रालयले जनाएको छ । संक्रमण फैलन नदिन दैनिक ‘जिन सिक्वेन्सिङ’ भइरहेको र नमुनाहरू परीक्षणका लागि विदेश पठाएको बताउँछिन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा । ‘जिन सिक्वेन्सिङका लागि नमुनाहरू बाहिर पठाइरहेका छौँ । नाका र एयरपोर्टबाट संकलित नमुनाहरू नियमित परीक्षण भइरहेका छन् । संक्रमण देखिहालेमा फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ,’ उनले भनिन् । जिन सिक्वेन्सिङका लागि ७ मंसिरमा विदेश पठाएको नमुनाको नतिजा आउन बाँकी छ । 

ओमिक्रोन संक्रमितमा सामान्य लक्षण 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म ओमिक्रोन संक्रमितमा सामान्य लक्षण मात्रै देखिएको छ । दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डा. एन्जेलिक कोएत्जीले अस्पतालहरूमा नयाँ भेरियन्टबाट संक्रमित बिरामीको संख्या न्यून रहेको बताएकी छिन् । अस्पतालमा भर्ना भएकामध्ये अधिकांश पूर्ण खोप नलगाएका भए पनि उनीहरूमा सामान्य खोकीको लक्षण मात्र रहेको उनको भनाइ छ । 

‘संक्रमितमा स्वाद र गन्ध थाहा नहुने समस्या देखिएको छैन । तर, कोभिड एन्टिबडी उपचार भने ओमिक्रोनविरुद्ध प्रभावकारी नहुन सक्छ । यसका लागि मोनोक्लोनल एन्टिबडी औषधिहरू आवश्यक देखिएको छ ।’ कोभिडविरुद्ध हाल प्रयोगमा आइरहेका खोपले ओमिक्रोनविरुद्ध केही सुरक्षा प्रदान गर्न सक्ने विज्ञहरूले बताएका छन् । चिकित्सकहरूका अनुसार भ्याक्सिनले एन्टिबडी मात्र नभई भाइरस संक्रमित कोशिकालाई आक्रमण गर्ने अन्य प्रतिरक्षा कोशिकालाई सक्रिय गराउँछ । स्पाइक प्रोटिनको उत्परिवर्तनले त्यो प्रतिक्रियालाई कमजोर बनाउँदैन, जुन धेरै विज्ञहरूले गम्भीर रोग र मृत्युलाई रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्छन् ।

अहिले विभिन्न देशले आफ्ना नागरिकलाई दक्षिण अफ्रिका आउजाउ गर्न रोक लगाएका छन् । इजरायल, जापान र मोरक्कोले त आफ्नो देशमा विदेशी नागरिकलाई प्रतिबन्ध लगाएका छन् । 

नआत्तिन तर भ्याक्सिन लगाउन विज्ञको सुझाव
स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई नआत्तिन, तर जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । त्यस्तै, कोभिडविरुद्धको खोप समयमै लगाउन अपिल गरेको छ । १८ वर्षमाथि सबै उमेरका व्यक्तिले पायक पर्ने ठाउँमा गएर खोप लगाउन पाउने व्यवस्था गरेको छ । मन्त्रालयले पनि अहिले करिब ५० लाख खोप मौज्दात रहेको र थपिने क्रम जारी रहेकोले आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन नागरिकलाई अनुरोध गरेको छ । मन्त्रालयको विवरणअनुसार हालसम्म एक करोड ८५ लाख ४५ हजार ९२ डोज खोप प्रयोग भएको छ । जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या एक करोड ३० हजार  चार सय आठ र पूर्ण मात्रा लगाउनेको संख्या ८५ लाख ४१ हजार ६ सय ८४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले स्थानीय तहले खोपको व्यवस्थापन गर्ने भएकाले सम्बन्धित निकायमा जानकारी लिएर खोप लगाउन अनुरोध गरे । उनका अनुुसार दैनिक दुई लाखको संख्यामा खोप लगाएको रेकर्ड जिल्लाहरूबाट आइरहेको छ । काठमाडौं उपत्यकाभित्र नयाँ बसपार्क, बयोधा अस्पताल, जडिबुटी प्रसोधन केन्द्र र कलंकी चोकमा खोप कार्यक्रम सञ्चालनमा छ ।