मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जितपछि सुदूरपश्चिमका खेलाडी खुसी मनाउँदै ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०८:५१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय यू–१९ क्रिकेट : प्रतियोगिता सुदूरपश्चिमको रोमाञ्चक जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०८:५१:००

सुदूरपश्चिमाञ्चल प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ । सुदूरपश्चिमले इनिङ्सकै अन्तिम चार बलअघि गण्डकीमाथि रोमाञ्चक जित हात पारेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार पहिलो ब्याटिङ गरेको गण्डकी ४९ ओभरमा दुई सय नौ रनमा अलआउट भयो । प्रत्युत्तरमा सुदूरपश्चिमले ६ विकेट गुमाएर ४९.२ ओभरमा दुई सय १२ रन जोड्यो । 

जितसँगै सुदूरपश्चिम चार अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । सुदूरपश्चिमले चार खेलमा समान दुई जित र हार सामना गरेको छ । पराजित गण्डकी चार अंकका साथ सातौँ स्थानमा छ । अंक तालिकामा लुम्बिनी प्रदेश शीर्ष स्थानमा छ । लुम्बिनीले पाँच खेलमा चार जित निकाली सर्वाधिक आठ अंक जोडेको छ । सुदूरपश्चिमको जितमा अर्जुन साउदले सर्वाधिक ६८ रन तथा राहुल भण्डारीले नटआउट ४२ रनको योगदान दिएका थिए । अर्जुन र राहुलबीच पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । 

दुवैले सुदूरपश्चिमलाई १३४–५ बाट १९९–६ को बलियो स्थितिमा पु¥याए । अर्जुनले ७९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । राहुलले ४२ बलमा चार चौका प्रहार गरी ४२ रन नै बनाए । कप्तान खड्क बोहराले ७७ बल सामना गरी ४० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा चार चौका प्रहार गरेका थिए । सो इनिङ्समा गण्डकीका बलरले सुदूरपश्चिमलाई १४ अतिरिक्त रन दिएका थिए । 

गण्डकीका सुवासले लिए तीन विकेट
बलिङमा गण्डकीका सुवास भण्डारीले २१ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । उनले आफ्नो बलिङ स्पेलमा तीन मेडन ओभरसमेत फ्याँके । यसैगरी, सुदीप अर्यालले २१ रनमा दुई विकेट तथा अर्जुन कुमालले ३७ रन खर्चँदै एक विकेट लिए ।यसअघि पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशका ओपनर उत्सव श्रेष्ठ र अर्जुन कुमालबीच पहिलो विकेटका लागि ३३ रनको साझेदारी भएको थियो । अर्जुन १३ रनमा आउट भए । अभिषेक थापाले सात बल सामना गर्दा पनि खाता खोल्न सकेनन्। 

उत्सव र दीपक दुम्रेले ५४ रनको साझेदारी गरे । उत्सवले आफ्नो इनिङ्समा ५२ बलमा पाँच चौकाको सहयोगमा ४० रन बनाए । यसैगरी, दीपकले ९९ बलमा सात चौका प्रहार गरी सर्वाधिक ५६ रन बटुले । मध्यक्रमपछिका ब्याट्सम्यान सुवासले २८ रन, कमल परियारले २० रन तथा सुजन गौतमले १७ रन जोडे । बलिङमा सुदूरपश्चिमका लागि कैलाश ऐरले ४३ रनमा तीन विकेट लिए । आकाश चन्द तथा गजेन्द्र बोहराले समान दुई विकेट हात पारे । 

 बागमती एक विकेटले विजयी
प्रतियोगिताअन्तर्गत मूलपानी मैदानमा मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई एक विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको कर्णाली २७.१ ओभरमा ७८ रनको झिनो योगफल अलआउट भयो । प्रत्युत्तरमा बागमतीले १९.५ ओभरमा नौ विकेट गुमाउँदै ८२ रन बनायो । बागमतीले एक सय ८१ बलअघि नै सफलता चुमेको हो । बागमतीको कठिन जितमा विवेक मगरले सर्वाधिक १८ रन तथा कृष्ण कार्कीले १२ रन जोडेका थिए । यसबाहेक आठ ब्याट्सम्यानले दोहोरो अंक नै बनाएनन् । 

कर्णालीका अर्जुन चनराले सर्वाधिक पाँच विकेट लिँदा ३७ रन खर्चेका थिए । कर्णालीको ब्याटिङ क्रममा कप्तान निश्चल रावलले ५० बल सामना गरी १५ रन जोडे । उनले दुई चौका प्रहार गरेका थिए । यसैगरी, विपिन रावलले १२ रन तथा सन्दीप साहीले १४ रन जोडे । बागमतीका गौतम केसीले ६.१ ओभरमा १० रन खर्चेर चार विकेट लिए । उनले तीनपटक मेडन ओभर पनि गरेका थिए । विशाल यादवले पाँच ओभरमा तीन मेडन राखी ११ रन खर्चेर तीन विकेट लिन सफल भए ।