Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार ११:४७:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

एउटै पेन्टिङ ४० लाखसम्ममा बिक्री गर्छन् नेपाली कलाकार

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ११:४७:००

विदेशी कलाकारहरूले बनाएका कलाकृति (पेन्टिङ) लाखौँ, करोडौँ रुपैयाँमा बिक्री भएको समाचार थुप्रै पढ्न पाइन्छ । नेपाली कलाकारले पनि आफ्ना कलाकृति राम्रो मूल्यमा बिक्री गर्ने गरेका छन् । नयाँ पत्रिकासँग चित्रकलालाई पेसा बनाएका केही कलाकारले यो पेसा र आम्दानीबारे अनुभव सुनाएका छन् ।  

महँगा आर्ट कर्पोरेट हाउसहरूले किन्छन्
एरिना ताम्राकार

   एरिना ताम्राकार नेपाली चित्रकारिता क्षेत्रको स्थापित नाम हो । उनी कलाकर्मबाटै जीवन बाँच्न सकिने बताउँछिन् । उनी चित्र बनाएर विलासी जीवन जिउन नपुगे पनि सामान्य जिन्दगी सहजै जिउन सकिने बताउँछिन् । उनले बनाएका पेन्टिङ १० हजारदेखि पाँच लाख रुपैयाँसम्ममा बिक्री गरेको बताइन् । ‘नेपाली बजारमा पेन्टिङ बिक्री राम्रै छ । बैंक, अस्पतालजस्ता कर्पाेरेट हाउसमा आर्ट राख्न थालिएको छ,’ उनले भनिन् । 

दुई वर्षदेखि एउटै चित्रमा लागिरहेका छन् मनीषलाल
मनीषलाल श्रेष्ठ

कलाकार मनीषलाल श्रेष्ठले बनाएको आर्ट देशविदेशमा निकै चर्चित छन् । उनले धेरै देशमा आर्ट प्रदर्शनी पनि गरिसकेका छन् । उनले आफूले बनाएको पेन्टिङ नेपाली बजारमै १२ लाखसम्ममा बिक्री भएको बताए । अहिले एउटा पेन्टिङ दुई वर्षदेखि बनाइरहेको र २५ लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएका छन् । उनले भने, ‘२५ लाखमा नबिके आफैँ राख्छु,’ उनले भने । यसअघि उनले विदेशी बजारमा ४० लाखसम्ममा धेरै चित्र बिक्री गरेको बताए । 

५० हजारदेखि माथि मूल्यमा बिक्छन्
लक्ष्मण श्रेष्ठ

नेपालमा अझै पनि आर्टमा लगानी गर्ने कल्चर नभएको बताउँछन्, कलाकार लक्ष्मण श्रेष्ठ । उनी भन्छन्, ‘विदेशमा लगानी गरेर पेन्टिङ गर्न लगाउँछन् । तर, नेपालमा त्यस्तो परिपाटीको विकास भएको छैन । तर पनि अहिले आर्ट क्षेत्र आसलाग्दो छ ।’ उनले आफ्नो पेन्टिङ ५० हजारदेखि माथि बिक्री गरेको बताए । ‘मैले आफ्नो कलामा समय र संघर्षको मूल्य राख्ने हो । हचुवामा मूल्य राख्ने होइन,’ उनी भन्छन् । 

कला क्षेत्रमा आकर्षण बढेको छ
एनबी गुरुङ
नेपाली कलाकारहरू चित्र बनाएर मात्रै पनि बाँच्न सक्ने अवस्थामा रहेको कलाकार एनबी गुरुङ बताउँछन् । उनी आफैँले बनाएको पोटेर्«ट आर्ट पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म बिक्री गरेको बताए ।

‘अहिले समय फेरिएको छ, कला क्षेत्रमा आकर्षण बढेको छ । कलाकारहरूको जीवन पनि बिस्तारै फेरिएको छ । हामी यसैबाट आत्मनिर्भर भएका छौँ,’ उनले भने । 

आसलाग्दो पेसा
संगी श्रेष्ठ
 पहिले विदेशीले खरिद गर्ने आर्ट नेपाली युवाको रोजाइमा पनि पर्न थालेको छ बताउँछिन्, संगी श्रेष्ठ । ‘मेरो आर्ट तीन लाखसम्ममा बिक्री भएको छ । सुरुका दिनमा १५ सयमा पनि बेच्न गाह्रो थियो । अहिले आसलाग्दो भएको छ । निराश हुनुपर्ने अवस्था छैन ।’

नेपालमा सहजै बिक्री हुन्छन् पेन्टिङ
उमाशंकर शाह

कलाकार उमाशंकर शाहले व्यावसायिक चित्रकला सुरु गरेको ३० वर्ष बितिसक्यो । कलाकर्मबाटै जीवन चलाउन सकिन्छ भन्ने उनी धेरैका लागि उदाहरण हुन् ।उनी भन्छन्, ‘चित्रकारितामा धैर्य र साधना चाहिन्छ ।’ उनले नेपाली बजारमै सात लाख रुपैयाँसम्ममा चित्र बिक्री गरेको बताए । विदेशी बजारमा भने चारदेखि १० लाख रुपैयाँसम्ममा बिक्री गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘भारतीय बजारमा मेरो आर्ट बढी जान्छ ।’ उनका चित्र (पेन्टिङ)मा देशको समय र परिस्थितिलाई बढी जोड दिएका हुन्छन् । माओवादी द्वन्द्वकालमा ‘शान्ति’ नामक चित्रको सिरिज नै चलाए । 

कोरोनापछि पनि बिक्री राम्रो
सुजन डंगोल

कलाकार सुजन डंगोल पेन्टिङको मूल्य पछिल्लो समय बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीबीच पनि पेन्टिङ बिक्री राम्रै भइरहेको छ । हामीजस्ता कलाकारलाई पेन्टिङ बिक्री हुनु भनेको राम्रो हो ।’आफूले बनाएको चित्र चार लाख २५ हजारसम्ममा बेचेको बताए । 

मौलाउँदो आर्ट बजार
ईशान परियार

कलाकार ईशान परियार अहिले आर्ट बजार मौलाउँदै गएको बताउँछन् । उनले आफ्नो पेन्टिङ दुई लाख ६० हजार रुपैयाँसम्ममा बेचेको बताए ।उनी भन्छन्, ‘कूटनीतिक नियोगका मान्छेहरूले महँगा चित्र किन्ने गर्छन् ।’

नेपाली कलाको बलियो उपस्थिति
आशा डंगोल

कलाकार आशा डंगोल पेन्टिङ बिक्रीमा समस्या नरहेको बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली कलाको उपस्थिति निकै बलियो रहेको उनको भनाइ छ ।आफूले बनाएका पेन्टिङ १० हजारदेखि सात लाखसम्ममा बिक्री गरेको बताए । 

शिवजीको मूर्ति ५० लाखमा बिक्री
विजय महर्जन 

कलाकार विजय महर्जनका अनुसार नेपाली आर्टको मागसँगै क्वालिटी पनि बढेको छ । ‘घर सजावटका लागि पेन्टिङको प्रयोग हुँदै आएको छ । लकडाउनपछि आर्टतर्फ आकर्षण झन् बढेको छ,’ उनी भन्छन्, ‘लकडाउनपछि आर्टको मार्केट घट्छ होला भन्ने सोचेको थिएँ, तर झन् बढेको छ ।’ उनले आफूले बनाएको मूर्ति ५० लाखसम्ममा बेचेको बताए ।

उनले बनाएको आर्ट स्वादेशमा भन्दा विदेशका म्युजियमहरूमा बढी निर्यात हुन्छ । ‘शिवजीको दुईवटा मूर्ति ५०–५० लाखसम्म बेचेको छु । यो मूर्ति बनाउन दुई वर्ष लागेको थियो भने आठ सय ५० किलो ढलौट लागेको छ । नेपालमा पनि चार लाखसम्मका मूर्ति बनाएको छु,’ उनले भने ।