१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सुदीप पोखरेल
२०७८ मङ्सिर १३ सोमबार १०:४६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

एमालेमा मौलाएको ‘गणेश प्रवृत्ति’

Read Time : > 2 मिनेट
सुदीप पोखरेल
२०७८ मङ्सिर १३ सोमबार १०:४६:००

एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन चितवनस्थित नारायणी नदीको किनारमा झन्डा १४ लाखभन्दा बढी एमालेका कार्यकर्ता, शुभेच्छुक र समर्थकको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रममा एमालेको निमन्त्रणालाई स्वीकार गरी प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, राप्रपाका कमल थापा, जनमोर्चाका चित्रबहादुर केसीलगायत नेताको उपस्थिति रह्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेपाली इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो जनसागरबीच एमालेको उद्घाटन सम्पन्न भयो । चितवन नारायणी नदीको किनार, नारायणी नदीको पुल, मेन रोड, पोखरा बसपार्क र पुल्चोकभित्रका सडकमा भरिभराउ र खचाखच जनमानस देख्दा एमाले नेपाली जनतामा अन्य पार्टीको तुलनामा बढी लोकप्रिय छ भन्ने प्रमाणित भएको छ ।उद्घाटन कार्यक्रमपछि बन्द सत्रको सुरुवातसँगै स्वाभाविक रूपमा पुराना कमिटीहरू निष्क्रिय वा भंग हुने गर्छन् र सोही कार्यक्रमको सञ्चालन र व्यवस्थापनको अधिकार अध्यक्ष मण्डलमा निहित हुने गर्छ ।

जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक प्रणालीलाई अभ्यासमा ल्याउने हो भने पार्टीको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन र प्रतिस्पर्धा दुवै लोकतन्त्रका उन्नत अभ्यास मानिन्छन् । तथापि, एमालेको राजनीतिमा पछिल्लो समय नेताको अघिपछि दौडिने ‘गणेश प्रवृत्ति’को विकास भएको देखिन्छ । हालको समयमा पार्टी विधान, नीति–नियम, अनुशासन, सैद्धान्तिक विचार, कार्यक्रमिक बहस, कम्युनिस्ट पार्टीको इतिहास र अध्ययनभन्दा बाहिर रहेर युवा साथीहरू नेताहरूको स्कर्टिङ र स्वार्थमूलक प्रशंसामा तल्लीन भएको देखिन्छ । यस्तो खालको प्रथाले कम्युनिस्टमा उदय हुने नयाँ युवा नेतामा पनि माथि भनिएजस्तै कार्यक्रमिक, वैचारिक, सैद्धान्तिक दृष्टिकोण वा कुनै लोकप्रिय र दीर्घकालीन भिजनको विकास गर्नुभन्दा नेताको आसपासमा घुलमिल भएर नै नेता बन्न सकिन्छ भन्ने मानसिकताको विकास हुन सक्छ ।

एमालेको राजनीतिमा पछिल्लो समय नेताको परिक्रमामा रमाउने ‘गणेश प्रवृत्ति’को विकास भएको देखिन्छ । यस्तो प्रवृत्तिका कारण भविष्यमा तिनै युवा स्वयं एमालेकै लागि सुतली बम बन्न पनि सक्छन् ।

यदि भविष्यको कुनै कालखण्डमा युवामा यस्तो मानसिक चिन्तनको विकास भयो भने निकट समयमा युवाहरू स्वयं एमालेकै लागि सुतली बम बन्न पनि सक्छन् । आफ्नो गौरवपूर्ण अस्तित्वलाई आफैँ मेटाउन सक्ने वा विपक्षीका लागि एउटा धमाकेदार पटाका साबित हुन सक्छन् ।  यसका आधारहरू सर्वसहमतिको नाममा टीके प्रथाद्वारा छानिएका महाधिवेशन प्रतिनिधि मूल कारक बन्न सक्छन् । निकै लामो समयसम्म एमालेको बिरासतलाई जीवित तुल्याउन जनताको बहुदलीय जनवाद, नेकपा एमालेका नीति–नियम, विधि, पद्धति, कम्युनिस्ट सिद्धान्त र समाजवादका आधारलाई नारायणीमा बग्ने पानीको बहावसँगै तिलाञ्जली दिने दुस्साहस नेतृत्व तहबाट नहोस् भन्ने कामना पार्टीका आमशुभेच्छुक कार्यकर्ताको छ । कार्लमाक्र्स भन्नुहुन्छ, ‘हरेक वस्तुको उत्थान, विकास र विनाशको कारण सोही वस्तुमा निहित हुन्छ ।’

पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, मनमोहन अधिकारीलगायत नेताहरू हुँदै केपी शर्मा ओलीसम्म आइपुग्दा एमालेमा सबैभन्दा चर्चित, अब्बल र ठूलो/व्यापक जनसागरको उपस्थितिमा एमालेको महाधिवेशनलाई सम्पन गर्न सक्ने सक्षम, लोकप्रिय र कार्यकर्ताले अत्यधिक रुचाएका नेता हुने केपी शर्मा ओली । तसर्थ एमालेको गौरवपूर्ण इतिहासलाई सुरक्षित राख्न, जनताको बहुदलीय जनवादलाई असल कार्यान्वयन गर्न, समाजवादका आधारलाई तय गर्न, राष्ट्रिय पुँजीको विकास गर्न, नेपालको संविधानमा दुई ठाउँमा प्रयोग गरिएको शब्द ‘समाजवाद’लाई समुचित ढंगबाट कार्यान्वयन गर्दै समाजवादी यात्रा अगाडि बढाउन र एमालेको चुलिएको विराट् वर्तमानलाई थप उचाइमा पुर्‍याउन युवाहरूको दक्षता र क्षमतालाई मूल्यांकन गर्दै केन्द्रीय कमिटीमा कम्तीमा २० देखि ३० प्रतिशतसम्म सशक्त, जुझारु र असल नेतृत्व गर्न सक्ने युवा कमरेडको एमालेको भ्रातृ संगठन अनेरास्ववियु र युवा संघबाट प्रतिनिधित्व हुनुपर्छ र केन्द्रीय राजनीतिमा समाहित हुन्नुपर्छ । किनभने, भोलिका दिनमा एमालेको विचार, कार्यक्रम र सिद्धान्तलाई कार्यान्वयन गर्ने अभिभारा एमालेसँग आबद्ध तमाम युवा कमरेडको काँधमा जिम्मेवारी हुने भएकाले नेतृत्वले उचित मूल्यांकन गरी केन्द्रीय राजनीतिमा युवाहरूको सक्रियता बढाओस् ।
(पोखरेल अनेरास्ववियु, दोलखाका नेता हुन्)