मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिमकोट विमानस्थलमा सेनाको हेलिकोप्टर
अजित अधिकारी काठमाडाैं
२०७८ मङ्सिर १३ सोमबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

सदरमुकामबाट आज ११ क्विन्टल चामल लगेर लिमी जाने, हिल्सा अड्किएको खाद्यान्न पनि लिमी पुर्‍याइने

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७८ मङ्सिर १३ सोमबार ०६:२८:००

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा रहेको चामल लिमी क्षेत्रमा पठाउन लागेको बताए । ‘सिमकोटबाट हेलिकोप्टर खाली पठाउनुभन्दा लिमी क्षेत्रमा ११ क्विन्टल चामल बोकाएर पठाउन लागिएको हो,’ उनले भने, ‘लिमीमा चामल खसालेपछि हेलिकोप्टर हिल्सा जानेछ ।’ 

चीनले नाम्खा गाउँपालिकालाई अनुदानमा उपलब्ध गराएको चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल हिल्सामा थन्किएको छ । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल लिमी क्षेत्रका तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको छ । यो खाद्यान्न हेलिकोप्टरले लिमी क्षेत्रमा ढुवानी गर्नेछ । 

लिमी क्षेत्रमा खाद्यान्न पु¥याउन झन्डै तीन दिन लाग्ने सिडिओ आचार्यले बताए । ‘हिल्सादेखि लिमी क्षेत्रको हवाई दूरी १० मिनेटको हो । तर, हिमपातका कारण हेलिप्याडसमेत राम्रो नभएकाले एकपटकमा बढीमा १५ क्विन्टल मात्रै ढुवानी हुन्छ । त्यसैले हेलिकोप्टरले धेरैपटक ओसार्नुपर्ने भएको हो,’ आचार्यले भने । गृह मन्त्रालयको पहलपछि आइतबार दिउँसो सेनाको हेलिकोप्टर हुम्लाका लागि उडेको हो । काठमाडौंबाट उडेको हेलिकोप्टर सुर्खेतमा अवतरण गरेको थियो । त्यहाँबाट २४ सय लिटर हवाई इन्धन बोकेर साँझ ४ बजेतिर सिमकोट अवतरण गरेको थियो । सोमबार बिहानै लिमी हुँदै हिल्सा पुग्ने हेलिकोप्टरले तेलसमेत बोकेर जानेछ । हिल्सा–लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्दा तेल सकिए पुनः सिमकोट आएर भर्नेछ । अहिले लगेको तेल अपुग हुने भए पुनः सुर्खेत आएर लैजाने कार्यतालिका रहेको सिडिओ आचार्यले बताए ।

सिडिओ आचार्यका अनुसार सिमकोटबाट पनि ३७ क्विन्टल चामल पनि लिमी क्षेत्रमा पु¥याइनेछ । ‘हिल्साबाट मैदा धेरै जाने हो, हिल्सामा धेरै चामल छैन,’ उनले भने, ‘त्यसैले सिमकोटबाट पनि चामल पठाउँछौँ । तेल भर्नका लागि हेलिकोप्टर आउँदैपिच्छे चामल हालेर लिमी क्षेत्रमा पठाउने योजनामा छौँ ।’ नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले एक साताको प्रयासपछि खाद्यान्न ढुवानी गर्न हेलिकोप्टर पठाएकोमा खुसी व्यक्त गरे । ‘केही ढिला गरी हेलिकोप्टर आए पनि अब लिमीका बासिन्दाले खाद्यान्न पाउने टुंगो भएको छ,’ उनले भने । उनी गत सोमबार संघीय सांसद छक्कबहादुर लामासँगै काठमाडौं आएका थिए । उनीहरूले खाद्यान्न ढुवानीको पहल गर्न अर्थ र गृह मन्त्रालयका अधिकारीलाई भेटेर आग्रह गरेका थिए ।

हेलिकोप्टरमा खाद्यान्न लोड गर्न यसअघि नै लिमीका स्थानीय हिल्सा पुगिसकेका छन् । ‘हेलिकोप्टरमा खाद्यान्न लोड गर्न हिल्सामा साथीहरू तयारी अवस्थामा हुनुहुन्छ । म पनि हेलिकोप्टरमा सामान लोड गर्न सघाउँछु । हेलिकोप्टर आएको खबरले लिमी क्षेत्रका सबै बासिन्दा खुसी भएका छन्,’ वडाध्यक्ष तामाङले भने ।

टेन्डर गरेको चामल हुम्लामा ढुवानी गर्न खाद्यलाई बाटो खुल्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई टेन्डर प्रक्रियाबाट छनोट भएको कम्पनीबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न बाटो खुलेको छ । महँगो दररेट कबुल गर्ने सिम्रिका कार्गोलाई ढुवानी अनुमति दिने खाद्यको निर्णयविरुद्ध टेन्डर प्रक्रियामा सामेल भएको समिट एयरले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । त्यसमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ ।

अब खाद्यलाई टेन्डर प्रक्रियाबाट छनोट भएको सिम्रिका कार्गोबाट खाद्यान्न ढुवानी गर्न सहज भएको छ । सिम्रिका कार्गोले सुर्खेतबाट ६ हजार र नेपालगन्जबाट चार हजार क्विन्टल चामल हुम्लाको सिमकोटसम्म ढुवानी गर्ने गरी छनोट भएको थियो । खाद्य कम्पनीको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले ढुवानी कार्यविधिअनुसार महँगो दररेट पेस गरे पनि सिम्रिकाको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले छनोट गरिएको बताइन् ।