१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ०७:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ए डिभिजन लिग : रुमेशको गोलमा च्यासलको पहिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ०७:००:००

रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको हो ।

४९औँ मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्ताैलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो । जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो । 

एपिएफको भने यो लगातार दोस्रो हार हो । दुवै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १५औँ मिनेटमा च्यासलका कमल श्रेष्ठलाई मनबहादुर रानामगरले फल गरेपछि प्राप्त फ्रि–किकमा कमलको प्रहार एपिएफका गोलकिपर राजु योगीले पन्च गरी फ्याँकिदिए । 

१७औँ मिनेटमा १८ यार्डभित्रबाट च्यासलका अजित गुरुङले गरेको प्रहारलाई गोलरक्षक योगीले फेरि विफल पारिदिए । ४०औँ मिनेटमा च्यासलका विकास मेराग्लियानको हेड एपिएफका राजन गुरुङले रोकेपछि रिबाउन्डमा सुसन लामाको प्रहार एपिएफका सनिश श्रेष्ठले गोललाइननजिकबाट क्लियर गरिदिए । दोस्रो हाफको चौथो मिनेटमा च्यासलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा च्यासलका मउसाले गरेको प्रहार एपिएफका कप्तान टोपबहादुर विष्टबाट डिफ्लेक्ट हुँदै बल पोस्टको माथिल्लो जालीमा अड्किएको थियो । 

६५औँ मिनेटमा च्यासलका केचाको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो । लिगको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । पहिलो खेलमा एपिएफ ब्रिगेड ब्वाइजसँग ३–२ ले तथा च्यासल थ्री स्टारसँग ३–० ले पराजित भएको थियो । 

फ्रेन्ड्सविरुद्ध संकटाको जित
लिगअन्तर्गत शनिबार साँझ भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई २–१ गोलले पराजित गरेको हो । जारी लिगमा संकटाको यो पहिलो जित हो ।

खेलमा फ्रेन्ड्सले पहिले अग्रता लियो । फ्रेन्ड्सका लागि कप्तान प्रकाश बुढाथोकीले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरे । पहिलो हाफमा पछि परेको संकटाका लागि नीरज बस्नेतले ५७ मिनेटमा बराबरी गोल फर्काए । उनले डिबक्समा हेडमार्फत गोल गरेका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा संकटाले अग्रता लियो । संकटाका लागि फोफनाले गोल गरेका थिए ।