मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
यम बम काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार ०५:२९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

किन धुम्म छ मौसम ?

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार ०५:२९:००

तुलनात्मक रूपमा वायुमण्डलको माथिल्लो तहको तापक्रम कम हुँदा तल्लो तहको चिसो हावा माथि जान सकेको छैन, जसकारण प्रदूषित तुवाँलो पनि चिसो हावासँगै तलै थिग्रिएको छ 

केही दिनयता काठमाडौं उपत्यका र खासगरी तराई क्षेत्रको आकाश प्रदूषित तुवाँलोले ढाकेको छ । वेलावेला मधुरो घाम झुल्किए पनि तुवाँलो फाट्न सकेको छैन । सामान्यतः वायुमण्डलको तल्लोभन्दा माथिल्लो तहको तापक्रम बढी हुनुपर्नेमा ठीक उल्टो हुँदा मौसम धुम्म बनेको हो ।

मौसमविद्हरूका अनुसार यस्तो अवस्थामा माथिल्लो तह चलायमान र तल्लो तह स्थिर हुन्छ । तुलानात्मक रूपमा माथिल्लो तह बढी ठण्डा भए मात्र त्यहाँको गह्रौँ हावा तल्लो तहमा झर्ने र तलको हावालाई विस्थापन गरेर माथि पठाउने गर्छ । यसो हुँदा मौसम खुल्छ । 

‘स्वस्थ वातावरणका लागि वायुमण्डलको माथिल्लो तह तल्लोभन्दा बढी ठण्डा हुनुपर्छ । तर, अहिले तल्लोभन्दा माथिल्लो तहको तापक्रम बढी छ । यो अवस्थामा तल्लो तहमा जमेको हावा विस्थापन हुन सकेको छैन । यो हावामा प्रदूषण मिसिँदा तुवाँलोले वातावरण नै धुम्म बनेको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हावा नचल्दा वा पानी नपर्दासम्म मौसम सफा हुँदैन, तुवाँलो बढ्दै जान्छ । घाम नलाग्दा चिसो पनि बढ्दै जान्छ ।’ 

वातावरण विभागका अनुसार शनिबार साँझ वायु गुणस्तर सूचकांक पिएम– २.५ (पार्टिकुलेट म्याटर)को मात्रा कीर्तिपुरमा १८६, रत्नपार्कमा १६१ र शंखपार्कमा १३१ माइक्रोग्राम प्रतिघनमिटर पनि नाघेको छ । शुक्रबार यो सूचकांक कीर्तिपुरमा १६० र रत्नपार्कमा १५२ थियो । सूचकांक १५० नाघ्दा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई जोखिम हुन्छ । शनिबार साँझ पिएम– २.५ को मात्रा सबैभन्दा बढी विराटनगरमा २३२ पुगेको छ । यो सूचकांक २०० नाघ्नुलाई घातक मानिन्छ । 

मौसमविद् मानन्धरका अनुसार काठमाडौंमा धुलोधुवाँका कारण पनि तुवाँलो लागेको हो । जुन, वायुमण्डलमा तैरिएर बसेको छ । ‘धुवाँधुलो उडाएर लान कि पानी पर्नुपर्छ कि हावा चल्नुपर्छ,’ उनले भनिन्, ‘तत्काल पानी पर्ने र ठूलो हावा चल्ने सम्भावना छैन ।’

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले हिउँदमा घरबाहिर आगो बाल्ने प्रवृत्तिका कारण पनि प्रदूषण बढ्ने गरेको बताए । ‘जाडो भयो भनेर पराल वा फोहोर बाल्ने गरिएको छ, जुन गलत हो । यसले झन् प्रदूषण बढाउँछ,’ उनले भने, ‘राम्रोसँग घाम लाग्न नसकेको र तुवाँलो लागेको अवस्थामा फोहोर जलाउँदा निस्केको धुवाँले झन् प्रदूषण बढाउँछ ।’ 

७ डिग्रीसम्म झर्‍यो काठमाडौंको तापक्रम
केही दिनयता देशभर तापक्रम घटेको छ । जसले जाडो बढाएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियसमा झरेको छ । यो पछिल्लो साताकै कम तापक्रम हो । शुक्रबार ८.८ डिग्री सेल्सियस थियो । शनिबार उपत्यकाको अधिकतम तापक्रम २०.८ डिग्री सेल्सियस मापन भएको छ । १ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियसमा झरेको थियो । शनिबार सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम २.५ डिग्री सेल्सियस मापन भएको छ । शुक्रबार २.८ पुगेको थियो । ‘अधिकतम तापक्रम घटे दिनभर चिसो र न्यूनतम तापक्रम घट्दा बिहान र साँझ बढी चिसो महसुस हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन् ।