मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ मङ्सिर ११ शनिबार २१:५४:००
Read Time : > 5 मिनेट
ब्लग डिजिटल संस्करण

एमालेको राजनीतिक वंशावली : पुष्पलालदेखि ओलीसम्म 

Read Time : > 5 मिनेट
२०७८ मङ्सिर ११ शनिबार २१:५४:००

नेपालमा कम्युनिस्ट पार्टी स्थापना २००६ साल वैशाख १० (२२ अप्रिल) हो कि असोज ३० (१५ सेप्टेम्बर) भन्ने विवाद समाधान भइसकेको छैन । यद्यपि, २२ अप्रिललाई स्थापना दिवस मान्नेहरूको संख्या ठूलो छ, जसमध्ये एमाले पनि हो । पार्टी संस्थापक पुष्पलाल, शम्भुराम श्रेष्ठ, निरन्जनगोविन्द बैद्य र नरबहादुर कर्माचार्य रहेकोमा विवाद छैन तर मोतीदेवी श्रेष्ठ संस्थापक हुन् कि होइनन् भन्ने विवाद अझै सुल्झिएको छैन । स्थापनाको ७२ वर्षमा कम्युनिस्ट पार्टीहरूले ७२ पटकभन्दा बढी फुटको कीर्तिमान कायम गरेका छन् । 

नेकपाको तेस्रो महाधिवेशनपछि फुट सुरु भएको देखिन्छ । करिब १३ वर्ष नेकपा सिंगो रहे पनि आन्तरिक विवाद नभएका होइनन् । राजा महेन्द्रले २०१७ साल पुस १ गते चालेको कदमपछि नेकपा फुटको संघारमा पुगेको थियो । नेकपाले तेस्रो महाधिवेशन (१०१९ वैशाख ४–१५)ले महासचिव केशरजंग रायमाझीसहित तीन नेतालाई निष्कासन गर्यो ।

रायमाझीले २०१७ सालमा राजा महेन्द्रले गरेको राजनीतिक ‘कू’लाई स्वागत गरेपछि विवाद फुटमा परिणत भएको थियो । तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुल्सीलाल अमात्य र संस्थापक नेता पुष्पलालबीच मतभेद भयो । पुष्पलालले निर्वाचित ६ जना केन्द्रीय सदस्य लिएर पार्टीको सम्मेलन आयोजना गरे । त्यसपछि मुलुकमा चार कम्युनिस्ट पार्टीको गठन भयो, रायमाझी समूह, अमात्य समूह, पुष्पलाल समूह र पूर्व कोसी प्रान्तीय कमिटी समूह । 

त्यतिवेला रायमाझी र अमात्य समूह रुसी क्रान्तिको पक्षधर थिए भने पुष्पलाल र कोसी प्रान्तीय कमिटी चिनियाँ क्रान्तिको पक्षधर थिए । त्यसपछि कम्युनिस्टहरू जुट कम र फुट बढीको क्रम सुरु भयो । अन्ततः पुष्पलाल, अमात्य र रायमाझी समूहभित्रै अनेकौँ फुट उत्पन्न भए । अहिलेको एमाले तेस्रो महाधिवेशनपछि पुष्पलालले नेतृत्व गरेको समूह, उनीसँग विद्रोह गरेका मदन भण्डारी, मोदनाथ प्रश्रितहरूले बनाएको समूहबाट गठित कोअर्डिनेसन केन्द्रको स्कुलिंग हो । पछिल्लोपटक एमाले र माओवादी एकता फुटको शृंखलापछि माओवादीको एउटा समूह एमालेमा समाहित भएको छ । एमालेबाट विभाजित भएर पूर्वपार्टी प्रमुख माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । 

पुष्पलाल र उनका उत्तराधिकारीको नालीबेली  
पुष्पलाल समूह पनि फुट्ने र जुट्ने क्रम हुँदै एउटा अंश एमाले, नेमकिपा, मालेसम्म आइपुगेको छ । केन्द्रीय न्युक्लियस हुँदै मोहनविक्रम सिंह, निर्मल लामाहरूले गठन गरेको पार्टी माओवादी केन्द्र हुँदै एमालेसँग २०७५ साल जेठ ३ गते  एकीकरणपछि नेकपा गठन भए पनि तीन वर्षमै एकता भंग भयो । केन्द्रीय न्युक्लियसको हाँगामध्ये प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्दको नेतृत्वमा बेग्लै नेकपा छ । नेकपा नामको अर्को समूह पनि छ जसको नेतृत्व ऋषि कट्टेलले गरेका छन् । मोहनविक्रम सिंहले नेतृत्व गरेको भूमिगत मसाल र खुला राष्ट्रिय जनमोर्चाको अलग अस्तित्व छँदै छ । 

नारायणमान विजुक्छेले पुष्पलाल समूह छाडेर गठन गरेको नेपाल मजदुर किसान संगठन हुँदै अहिले नेपाल मजदुर किसान पार्टी छ । नेमकिपा मूलभूत रूपमा अहिले भक्तपुरमा सीमित छ । सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश विभाजनका विषयमा अन्तरविरोध भएपछि पुष्पलालसँग बिजुक्छे अलग भएका थिए । बिजुक्छे बंगलादेश विभाजनको विपक्षमा थिए भने पुष्पलाल पक्षमा थिए ।  

पुष्पलाल समूहबाट अलग भएर मुक्ति मोर्चा नामक समूह गठन गरेका मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितहरूले माधव नेपाल, सिपी मैनाली, अमृत बोहोरासमेतसँग मिलेर कोअर्डिनेसन केन्द्र हुँदै नेकपा माले गठन गरे । २०४८ सालमा माले र पुष्पलाल समूहका मनमोहन अधिकारी, साहना प्रधानहरूले नेतृत्व गरेको नेकपा माक्र्सवादी मिलेर एमाले गठन भयो । एमाले २०५४ सालमा फुट्यो । फेरि माले २०५७ सालमा एमालेमा विलय भयो । यद्यपि, सिपी मैनाली नेतृत्वको एउटा समूहले नेकपा मालेलाई निरन्तरता दिँदै आएको छ । मैनालीबाट फुटेका ससाना समूहहरू माले समाजवादी, माले क्रान्तिकारी, नेकपा एकीकृत हुँदै कोही माओवादी केन्द्रमा मिले भने कोही मोहन बैद्य किरण नेतृत्वको पार्टीमा पनि विलय भएका छन् । 

सहाना र साधना प्रधान दुई बहिनीका श्रीमान् पुष्पलाल र मनमोहन अधिकारीबीच पनि विवाद भइरह्यो । जानकारहरूको भनाइमा पुष्पलालको शिक्षा कम हुनुका कारण उनलाई धेरै समयसम्म हीनताबोध भइरह्यो । पुष्पलालले अपेक्षाकृत रूपमा परिवारबाट साथ नपाएको जानकारहरू बताउँछन् ।  भारतको बनारसमा आइए भर्ना गरेको तर पढ्न नसकेको उनले कम्युनिस्ट पार्टीको इतिहासमा लेखेका छन् । 

२००८ सालमा पुष्पलाललाई महासचिवबाट अलग गरेर पोलिटब्युरो बैठकले मनमोहन अधिकारीलाई कार्यवाहक महासचिव बनाएको थियो । अधिकारी ०१० साल माघ १७ गते ललितपुरको गाबहालमा भएको पहिलो महाधिवेशनमा महासचिव निर्वाचित भए । उनको कार्यकाल पनि आन्तरिक झगडामा बित्यो । अधिकारीले ०१३ साल वैशाख ३ गते जारी प्रेस विज्ञप्तिमा समाजवादको शान्तिपूर्ण प्रचार र संवैधानिक राजतन्त्रलाई मान्ने घोषणा गरेपछि पार्टीमा सैद्धान्तिक विवाद सुरु भयो । त्यसवेला मनमोहनलाई अर्का नेता शम्भुराम श्रेष्ठको सहयोग थियो । २००८ साल माघ ९ गते जनता दलका नेता डा. केआई सिंहले सैन्य विद्रोह गरेर सत्ता कब्जा गरेको घटनालाई समर्थन गरेपछि माघ १० गते नै कम्युनिस्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको थियो । पार्टीमाथिको प्रतिबन्ध फुकाउन अधिकारीले त्यस्तो वक्तव्य दिएको एमालेका पुराना नेताहरू बताउँछन् ।  

०१३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन अधिकारीको नेतृत्वमा टोली चीन गयो, तर पुष्पलाल परेनन् । कुष्ठरोगले थलिएर मनमोहन चीनमै बस्नुपरेपछि पार्टीको कार्यवाहक महासचिव नेता पुष्पलाललाई बनाउने प्रस्ताव आयो । तर, अर्काको जुठो खान्नँ भनेर पुष्पलालले अस्वीकार गरेपछि केशरजंग रायमाझी कार्यवाहक महासचिव भए । कतिपय जानकारहरूको विश्लेषणमा पुष्पलालले कार्यवाहक महासचिव स्वीकार गरेको भए पार्टीमा रायमाझीको उदय हुने थिएन ।

पुष्पलाल समूहमा रहेका र अलग भएकाहरूको गठजोड अहिलेको एमाले हो । तीन वर्षअघि माओवादी केन्द्रसँगको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी नाम राखिएको थियो । तर नेकपाभित्रको आन्तरिक कलह भइरहेका वेला सर्वोच्च अदालतको एउटा फैसलासँगै एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । तर, माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीलगायतको समूह एमालेमै समाहित भयो । उनीहरूको तर्कअनुसार अहिलेको एमाले पुरानो होइन, माओवादीसँग एकीकरण गरिसकेपछि गठित नेकपाको निरन्तरता हो । 

रायमाझीको राजनीतिक बिरासत 
पञ्चायतलाई समर्थन गरेपछि राजापरस्तको आरोप लागेका रायमाझीले २०२५ सालमा तेस्रो महाधिवेशन गर्दा उनीसँग कमर साह, कृष्णराज बर्मा, कृष्णप्रसाद श्रेष्ठ र विष्णुबहादुर मानन्धर थिए । तर, उनीहरू एक ठाउँमा भएनन् । बर्मा स्वतन्त्र रूपमा रहे । मानन्धर नेकपा संयुक्तका संस्थापक थिए, त्यो पार्टी नेकपामा सामेल भएपछि मानन्धर स्वतन्त्र बसे । उनको निधन भइसकेको छ ।  सबै सहकर्मीले छाडेर गएपछि रायमाझीले २०४६ सालको आन्दोलनपछि जनता दल गठन गरे । उनी निर्वाचन पनि लडे तर पराजित भए । पछि, राजपरिषद् स्थायी समितिको सभापति हुँदै उनको राजनीतिक अस्तित्व गणतन्त्र स्थापनापछि सकियो । 

रायमाझीमाथि कारबाही भएपछि महासचिव भएका तुल्सीलाल अमात्यले पनि पार्टी चलाउन सकेनन् । अमात्यले पार्टीलाई एमालेमा विलय गराएपछि २०५१ सालमा चीनका लागि नेपाली राजदूत भए । रायमाझीले आफूलाई दरबारमा समर्पित गराएको भन्दै रायमाझी प्रवृत्तिका रूपमा उनी चिनिन्छन् । उनको निधन भइसकेको छ । 

केन्द्रीय न्युक्लियस, चौम हुँदै सशस्त्र द्वन्द्व 
केन्द्रीय न्युक्लियस हुँदै मोहनविक्रम सिंह, निर्मल लामाहरूले गठन गरेको पार्टीले पनि फुट र जुटको इतिहास बनायो । त्यस समूहका नेता मोहनविक्रम सिंहमाथि प्रेमकाण्डका कारण कारबाही भयो र निर्मल लामा महामन्त्री भए । त्यसअघि मोहनविक्रमले पुष्पलाललाई गद्दारको आरोप लगाएका थिए । पछि सिंहले आरोप फिर्ता लिएका थिए । यहीबीचमा मोहनविक्रम समूह र निर्मल लामा समूहबीच फुट भयो । मोहनविक्रम र लामाबीच पञ्चायती चुनावमा सहभागिता वा बहिष्कारको प्रश्नमा झगडा भएको थियो । लामा चुनावको पक्षधर थिए, मोहनविक्रम विरोधी ।

०४१ साल मंसिरमा भारतको अयोध्यामा भएको पाँचौँ महाधिवेशनबाट मोहन वैद्य महामन्त्री भए र पार्टीको नाम नेकपा मशाल राखियो । तर, लामा समूहले भने चौमलाई निरन्तरता दियो । मशालबाट मोहनविक्रममाथि कारबाही भयो र उनले नेकपा मसाल स्थापना गरेपछि मशाल टुक्रियो । मोटो मशालमा सेक्टर काण्डपछि प्रचण्ड महामन्त्री भए । 
०४८ सालमा नेकपा मशाल, नेकपा चौम (निर्मल लामा), सर्वहारावादी श्रमिक संगठन (रूपलाल विक) र क्रान्तिकारी मशालबीच एकता भएर गठन भएको नेकपा एकता केन्द्र पनि सशस्त्र युद्धमा जाने कि नजाने भन्ने विषयलाई लिएर फुट्यो । प्रचण्ड नेतृत्वको समूह माओवादी गठन गरेर युद्धमा गयो भने लामाको नेतृत्वको समूहले एकता केन्द्रलाई नै निरन्तरता दियो ।

एकता केन्द्र र मोहनविक्रम सिंहको नेतृत्वमा रहेको नेकपा मसालबीच एकीकरण भएर ०५९ सालमा स्थापना भएको नेकपा एकता केन्द्र मसाल चार टुक्रामा विभाजन भयो । एकता केन्द्र मसालको नारायणकाजी श्रेष्ठ समूहले २८ पुस ०६५ मा माओवादीसँग एकीकरण गर्यो । मोहनविक्रम सिंह समूहले पुरानै मसालमा फर्कने निर्णय गर्यो । तर, एकीकृत माओवादीको मातृका यादव समूहले नेकपा माओवादी पुनर्गठन गर्ने घोषणा गर्यो । पछि यादव समूह प्रचण्ड नेतृत्वको पार्टीमा विलय भयो । त्यसवेला मोहन वैद्य समूहबाट रामबहादुर थापा बादल र मणि थापा नेतृत्वको अर्को समूह पनि माओवादी केन्द्रमा विलय भयो । नेकपाको फुटपछि बादल र थापा एमालेमा छन् । 
तत्कालीन चौथो महाधिवेशनमा रहेका नेताहरूबाट धेरै पार्टी समूह निर्माण भए । प्रचण्ड नेतृवमा तत्कालीन माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गठन भए । युद्धकालको पृष्ठभूमि भएका गोपाल किरातीले पूर्वएमाले र माओवादी केन्द्रको एकीकरणमा असहमति जनाउँदै माओवादी केन्द्रलाई पुनर्गठन गरेका छन् ।  
 

कम्युनिस्ट पार्टीमा यस्तो पनि भयो 
पार्टीको दस्ताबेज सरकारलाई बेचेको आरोपमा संस्थापक नारायणविलास जोशीलाई नै पार्टीले निष्कासन गर्यो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई कम्युनिस्ट पार्टीको आन्तरिक दस्ताबेज बेचेको आरोप लागेपछि जोशी राजनीति छाडेर सरकारी कर्मचारी भए । त्यस्तै, अर्का संस्थापक वैद्यमाथि भियतनामबाट सहयोगस्वरूप आएको प्रेस बेचेर पुतलीसडकमा घर बनाएको आरोप लागेको थियो । अर्की संस्थापक मोतीदेवीमाथि कुमारीपाटीमा रहेको सार्वजनिक जग्गा हडपेको आरोप लागेको थियो । आठ आना सार्वजनिक जग्गामा बनाएको घर जोगाउन उनी एमालेमा लागेको अपुष्ट आरोप पनि छ । राजाको प्रत्यक्ष शासनकालमा दलहरूमाथि चरम दमन भइरहेको वेला पनि नरबहादुर कर्माचार्य नख्खुु जेलमा चामल सप्लाई गर्थे । मोतीदेवी र कर्माचार्यले पछि राजनीतिपीडितका नाममा तराईमा तीनतीन बिघा जमिन पाएको पुराना कम्युनिस्ट नेताहरूमाझ चर्चा छ ।