मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ११ शनिबार ०८:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राखेप सदस्यसचिव बन्न विष्टसहित १८ जनाको आवेदन

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ११ शनिबार ०८:२७:००

नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बन्न शुक्रबार आवेदन दिएका छन् । सरकारले गत कात्तिकमा रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्यसचिव रिक्त छ । सिलवालको सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले केही दिनअघि राखेप सदस्यसचिव बन्न योग्य उम्मेदवारको आवेदन खुला गरेको थियो ।

यही माध्यमबाटै विष्टले नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पद जिम्मेवारी सम्हाल्न लागि युवा तथा खेलकुद मन्त्रालयमा आवेदन बुझाएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्यसचिव बन्न इच्छुक व्यक्तिलाई निवेदन दिन शुक्रबार अन्तिम दिन भनिएको थियो । सदस्यसचिवका लागि १८ जनाले आवेदन दिएका छन् । अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाईं, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे, छुम्बी लामा र सुनील नकर्मी छन् ।

खेलकुदमन्त्री महेश्वर गतहराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका छन् । समितिले एक महिला अनिवार्यसहित तीनजनाको नाम सिफारिस गर्नेछ । राष्ट्रिय खेलकुद विकास ऐन ०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुनेछ । 

आवेदन दिएकाले आइतबार छनोट समितिसामु आफ्नो प्रस्तुति दिनुपर्नेछ । उनीहरूले समितिसमक्ष आफ्नो योजना बनाउनुपर्नेछ । आवेदन दिएकामध्ये विष्ट खेलकुद क्षेत्रकै हाइप्रोफाइलका व्यक्तित्व हुन् । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विष्टले लगातार चारपटक स्वर्णपदक जित्दै कीर्तिमान राखेका थिए । सन् २०१० को ढाकामा भएको सागमा स्वर्ण जित्दै विष्टले म्याराथनका वैकुण्ठ मानन्धरको नाममा रहेको सर्वाधिक तीन स्वर्णको रेकर्ड तोडे । यसैगरी एसियन खेलकुद प्रतियोगितामा नेपाललाई लगातार दुईपटक कास्यपदक दिलाउने विष्ट मात्र हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहिसकेका विष्टले सन् २००२ को बुसान तथा २००६ को दोहो एसियाडमा कांस्यपदक हात पारेका थिए । ओलम्पिक इतिहासमा छनोट चरण पार्दै प्रतिस्पर्धा गर्ने विष्ट दोस्रो नेपाली खेलाडी पनि हुन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोको छनोट चरण पार गर्दै विष्टले प्रतिस्पर्धा गरेका थिए । विष्टअघि तेक्वान्दोकी संगीता वैद्यले सन् २००४ को एजेन्स ओलम्पिकमा छनोट चरण पार गर्दै पहिलो नेपाली खेलाडीकी रूपमा स्थान बनाएकी थिइन् । 

सागमा विष्ट र पौडीकी गौरिका सिंहका नाममा समान चार स्वर्ण रहेका छन् । सन् २०१९ मा गौरिकाले नेपालमै भएको १३औँ सागमा विभिन्न विधामा गरी चार स्वर्ण हात पारेकी थिइन् । एकै संस्करणमा नेपालबाट चार स्वर्ण जित्ने गौरिका एक्लो खेलाडी हुन् । विष्ट पछिल्लो समय उनी प्रशिक्षकको भूमिका सक्रिय छन् ।

नयाँ खेलकुद ऐनअनुसार एकै व्यक्ति दुई पदमा बस्न नहुने भनिएपछि विष्टले नेपाल तेक्वान्दो संघको सचिव छाडेका थिए । उनी राखेपका तेक्वान्दो प्रशिक्षक हुन् । यसैगरी नेपाल ओलम्पिक कमिटीका पूर्व सदस्य तथा नेपाल घोडचढी संघका अध्यक्ष रविराजसँग अन्तर्राष्ट्रिय नियकासँग राम्रो सम्वन्ध छ । उनकै सक्रियमा अन्तर्राष्ट्रिय घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । उनले गत वर्ष पनि सदस्यसचिव बन्न आवदेन दिएका थिए । त्यसवेला छनोट समितिले आवेदकमध्ये सिलवाललाई सदस्यसचिव बनाइएको थियो । त्यतिवेला २७ जनाले आवेदन दिएका थिए । 

यस्तो छ आवश्यकता 
सदस्यसचिवका लागि योग्यता र अनुभवको पाँच बुँदा तय छन् । नेपाली नागरिक हुनुपर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । छनोट समितिले गरेको सिफारिसको आधारमा खेलकुदमन्त्रीले मन्त्रिपरिषद् बैठकमा सदस्यसचिवको प्रस्ताव लानेछ । मन्त्रिपरिषाद्को अनुमोदन गरेपछि राखेपले नयाँ सदस्यसचिव पाउनेछ ।