मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ मङ्सिर ११ शनिबार ०६:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रजनन दर घट्दा  कुल जनसंख्या तीन करोड ननाघ्ने तथ्यांक विभागको प्रक्षेपण

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ मङ्सिर ११ शनिबार ०६:५२:००

- प्रदेश २, कर्णाली र सुदूरपश्चिममा औसतभन्दा धेरै, तर बागमती, प्रदेश १, गण्डकी र लुम्बिनीमा औसतभन्दा न्यून प्रजनन दर
- बागमतीमा प्रत्येक १० जना महिलाले १४ बच्चा मात्र जन्माउँछन् 
- जनगणनामा छुटेकालाई अझै एक हप्तासम्म प्रश्नावली भराइने

प्रजनन दर (महिलाको सन्तान जन्माउने दर) घटेका कारण देशको कुल जनसंख्या तीन करोड ननाघ्ने प्रारम्भिक अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । दुई करोड ८० लाखदेखि तीन करोडसम्म जनसंख्या पुग्ने विभागको प्रक्षेपण छ । 

‘अहिले सरदर १० जना महिलाले २० जना बच्चा जन्माउने देखिएको छ,’ जनगणना सम्पन्न भएको एक दिनपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने । यसअघि ०६८ को जनगणना हुँदा १० जना महिलाले औसतमा २१ जना बच्चा जन्माउने देखाएको थियो । 

विभागका अनुसार प्रजनन दर प्रदेश २, कर्णाली र सुदूरपश्चिममा औसतभन्दा धेरै छ । बागमती, प्रदेश १, गण्डकी र लुम्बिनीमा भने औसतभन्दा कम रहेको छ । त्यसमा पनि बागमतीमा सबैभन्दा कम रहेको महानिर्देशक श्रेष्ठले बताए । बागमतीमा प्रत्येक १० महिलाले १४ जना मात्र बच्चा जन्माउने गरेको पाइएको छ ।

विभागले घरपरिवार संख्या ७० लाख पुग्ने प्रक्षेपण गरेको थियो । तर, घर तथा घरपरिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको छ । यसले पनि अनुमानित जनसंख्या धेरैमा तीन करोड पुग्ने विभागको अनुमान छ । 

विभागले २५ कात्तिकदेखि ९ मंसिरसम्म गरेको मूल गणनामा छुटेकालाई अझै अधिकतम एक हप्तासम्ममा प्रश्नावली भरेर समाविष्ट गरिने जनाएको छ । कसैको घरमा गणक नआएको वा केही कारण छुट्न गएको अवस्थामा ११७८ मा फोन गरेर गुनासो गर्न सकिने र त्यस्तो ठाउँमा गणक पठाउने व्यवस्था गरिनेछ,’ विभागको जनसंख्या शाखा प्रमुख ढुण्डीराज लामिछानेले भने । तर, त्यसरी प्रश्नावली भर्दा ९ मंसिरसम्मको विवरण राखेर भरिनेछ । 

यसपटकको जनगणनामा पहिलोपटक डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडा तहसम्मको आधारभूत विवरण संकलन, विदेशस्थित कूटनीतिक नियोगमा इ–सेन्सस विधिबाट गणना गरिएको छ । विवरण संकलनमा विगतको भन्दा एक तहमाथिको शैक्षिक योग्यता भएका स्थानीय बेरोजगार युवाहरूको संलग्नता भयो । यी विषय नै यसपटकको जनगणनाका प्रमुख विशेषता भएको विभागको भनाइ छ । 

नेपालको भूभागभित्रका तराई, पहाड र हिमालका सम्पूर्ण स्थानको गणना सम्पन्न गरिएको, तर केही विवादित क्षेत्रहरूमा कूटनीतिक पहल गरी छिटै गणना सम्पन्न गर्ने विभागको भनाइ छ । 

पुसदेखि डेटा सेन्टरमा विवरण प्रशोधन सुरु 
विभागले आउँदो पुसदेखि विभागको डेटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन सुरु गर्ने भएको छ । करिब तीन महिनाभित्र प्रारम्भिक नतिजा तथा एक वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्ने समय तालिका निर्धारण गरेको छ । 

जनगणनाका क्रममा तीनजनाको मृत्यु
जनगणना गर्ने क्रममा कैलाली, धादिङ र रसुवामा एक–एकजना गणकको मृत्यु भएको छ । त्यस्तै, चारजना गणकलाई कुकुरले टोकेको र दुईजना गणकको खुट्टा भाँच्चिएको विभागले जनाएको छ । त्यस्तै, केही गणकलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको छ । विभागले जनगणनामा खटिएका कर्मचारीको पाँच लाख रुपैयाँको बिमा गरेको थियो ।