मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किरण दहाल काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०८:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा महाधिवेशन : युवा नेता लिङ्देनको अध्यक्षमा उम्मेदवारी घोषणा, चारपक्षीय भिडन्तको सम्भावना

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०८:५१:००

१५ देखि १७ मंसिरसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने राप्रपाको महाधिवेशनमा मुख्य नीतिमा एकरूपता भए पनि नेतृत्वका लागि चारपक्षीय भिडन्तको सम्भावना बढेको छ । पार्टीका युवा नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि राप्रपामा चारपक्षीय भिडन्तको सम्भावना बढेको हो । यसअघि अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेवारी दिने बताइसकेका छन् । 

संघीय संसद्मा राप्रपाका एक मात्रै सांसद लिङ्देनले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । ०७६ फागुनमा राप्रपा र राप्रपा (संयुक्त)बीच एकता भएपछि थापा, राणा र लोहनी पार्टी अध्यक्ष रहँदै आएका थिए । तर, झन्डै दुई वर्षपछि हुन लागेको महाधिवेशनमा तीनै नेतालाई चुनौती दिँदै लिङ्देनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । नयाँ नेतृत्वबाट राप्रपालाई अघि बढाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । 

‘साथीहरूले सल्लाह गरेर, खासगरी नेता धवलशमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आगामी १५, १६ र १७ गते जुन महाधिवेशन हुँदै छ, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ,’ उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले भने, ‘नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत भावनालाई स्वीकार गर्दै आफू उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु ।’

कांग्रेस, एमाले र माओवादीका युवा नेताले आँट नगरे पनि राप्रपाले नेतृत्व परिवर्तन गर्ने उनको भनाइ थियो । ‘अब पार्टीमा नेतृत्व परिवर्तन मात्र हुँदैन । पार्टीमा रहेका गुटगत परम्पराको अन्त्य हुन्छ । राप्रपामा आएको परिवर्तन अन्य पार्टीका लागि पनि सन्देश हुन्छ । किनभने कांग्रेस, एमाले र माओवादीका युवा नेताहरूले आँट गर्न सक्नुभएन,’ उनले भने, ‘नेतृत्व परिवर्तनको धक्कु लगाएर आफ्नो पद मात्र सुरक्षित गर्नुभएको छ । राप्रपाले नेतृत्व परिवर्तन गरेर उदाहरण दिँदै छ ।’ अर्कातिर पार्टी महामन्त्रीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा उठ्ने तयारीमा छन् । लिङ्देन र राणा प्यानल बनाएरै अघि बढ्नेछन् ।