मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
माधव ढुंगेल
२०७८ मङ्सिर १० शुक्रबार ०८:१२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सहमति, समझदारी र सुझबुझको महाधिवेशन

Read Time : > 1 मिनेट
माधव ढुंगेल
२०७८ मङ्सिर १० शुक्रबार ०८:१२:००

पदाधिकारीमा सहमति गरेर केन्द्रीय सदस्यमा स्वस्थ निर्वाचन प्रक्रिया अवलम्बन गरियो भने नयाँको प्रवेश र लोकतान्त्रिक संस्कारलाई समेत एकैपटक अभ्यास गरेको अनुभूति दिन सकिनेछ

एमालेको दसौँ महाधिवेशनको उद्घाटन समारोह चितवनमा आज सुरु हुँदै छ । पाँच लाख जनताको उपस्थिति रहने अपेक्षा गरिएको यस अधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन विभिन्न राजनीतिक पार्टीका प्रमुख उपस्थिति हुनेछन् । महाधिवेशनमा आमन्त्रित विदेशी कूटनीतिक क्षेत्रका अतिथिहरू आइसक्नुभएको छ । देशी तथा विदेशी शक्तिकेन्द्रहरूले समेत यस अधिवेशनलाई नजिकबाट नियालिरहेका छन् । यसको उपस्थिति, व्यवस्थापन, अतिथि सत्कार, नेतृत्व चयन प्रक्रिया र सफलतालाई चारैतिरबाट हेरिँदै छ । 

सन्निकट आइरहेको तीनवटा निर्वाचनको सामना गर्न सक्ने शक्ति निर्माणको तयारीका रूपमा आयोजना गरिएको यस महाधिवेशनका मूल रूपमा दुईवटा पक्ष छन् । बृहत् मात्रामा जनपरिचालन एउटा पक्ष हो भने लोकतान्त्रिक मूल्य–मान्यतामा टेकेर सफलतापूर्वक नेतृत्व निर्माण सम्पन्न गर्नु यस महाधिवेशनको दोस्रो पक्ष रहेको छ । जनपरिचालनलाई केन्द्रमा राखेर एकैसाथ वडा तथा शाखा अधिवेशन र पालिका तथा इलाका अधिवेशन सम्पन्न गरिएको सबैमा जगजाहेर छ । जुन अभियानले लाखौँ जनता र कार्यकर्तालाई एकैसाथ परिचालन गरेको छ । पार्टीले केहीअघि मात्र झन्डै ६ हजारभन्दा बढी नेता–कार्यकर्तालाई विधान अधिवेशनमा उपस्थित गराई सफलतापूर्वक राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पारित गरेको थियो । 

पार्टी इतिहासमै पहिलोपटक महाधिवेशनलाई दुई छुट्टाछुट्टै विधामा ढालेर प्रथम विधान महाधिवेशन सकाएको एमालेले नेतृत्व महाधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । यसै क्रममा हामी सबै यतिखेर चितवनको नारायणी नदीकिनारमा उपस्थित भइरहेका छौँ । 

कथित पार्टी एकताका नाममा जाममा परेको पार्टी यतिवेला तेज गतिका साथ दौडिरहेको छ । प्रचण्डसँग विद्रोह गरेर एमाले अध्यक्ष केपी ओलीलाई नै आफ्ना राजनीतिक अभिभावक ठानेर एमालेमै रहने निर्णय गरेका कमरेडहरू, १० बुँदे सहमतिलाई आधार बनाएर पार्टी विभाजन गर्न नचाहने अर्को शक्ति र केपी ओली नेतृत्वमा क्रियाशील मूलधारको उचित संयोजनमा यो महाधिवेशन भव्यतापूर्वक सफल हुनेमा शंका छैन । 

आगामी निर्वाचन, पाँचदलीय सरकारी मोर्चा, एमालेले अपेक्षा गरेको ५१ प्रतिशत जनमत र रोकिएको समृद्धिको यात्रा सुचारु गर्ने र सिंहदरबारको मूलढोकाबाट पुनः सत्ता सम्हाल्न आउने उद्घोष पूरा गर्न पनि हामीले पूर्ण सहमति र समझदारीका साथ यो महाधिवेशनको मूल नेतृत्व चयन गराउनु आवश्यक छ । पदाधिकारीमा सहमति गरेर केन्द्रीय सदस्यमा स्वस्थ निर्वाचनको प्रक्रिया अवलम्बन गरियो भने नयाँको प्रवेश र लोकतान्त्रिक संस्कारलाई समेत एकैपटक अभ्यास गरेको अनुभूति दिन सकिनेछ । 

अन्त्यमा, राष्ट्रियता र स्वाधीनताको रक्षा, आधुनिक पूर्वाधारको विकास, आमनागरिकको सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यको सुव्यवस्था, सहकारीको विकास, जनताको सुख र देशको समृद्धि, लोकतान्त्रिक संस्कार र समाजवादको प्रवर्धनका लागि नेकपा एमाले अपरिहार्य शक्ति हो । देशको नेतृत्व गर्ने पार्टी भएकाले यसको सफलता पनि अनिवार्य छ । महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरूले अवश्यै पनि यो गहन राष्ट्रिय दायित्वलाई बुझ्नुहुनेछ । सबैले मन, वचन र कर्मले पार्टीलाई एकढिक्का राखेर पुनः हिजोको बिरासत फर्काउनकै लागि पनि नेतृत्व चयनमा सहमति र समझदारी कायम गर्नुपर्ने समय आएको छ । आमप्रतिनिधिले यो युगीन कार्यभारलाई आत्मसात् गर्न सक्नुभयो भने नेतृत्व यसबाट एक इन्च पनि दायाँबायाँ हुन सक्नेछैन । यस युगीन महत्वलाई नेतृत्वले समेत पक्कै आत्मसात् गर्नेछ ।