मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ६ सोमबार १७:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा चार आकांक्षी

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ६ सोमबार १७:४४:००

नेकपा एमालेको १४औँ महाधिवेशन नजिकिँदै जाँदा उक्त पार्टीका विभिन्न आकांक्षीहरूले आफ्नो अकांक्षा बाहिर ल्याउन थालेका छन्। एमालेमा नवाैँ महाधिवेशनमा जम्मा एकजनाले मात्र पदाधिकारीमा बस्ने अवसर पाएका थिए। सचिवमा निर्वाचित पृथ्वी सुब्बा गुरुङ यसपालि त्यसबाट बढुवा हुन चाहन्छन्। उनले सचिव भइसकेको र सफल पनि भएकाले आफ्नो आकांक्षा त्यसभन्दा माथि रहनु स्वभाविक रहेको बताए। ‘सचिव भएर काम गरिसकेको छु। पार्टीमा महासचिव भएर हाँक्ने इच्छा हो। त्यहाँभन्दा तल हुने कुरा भएन,’ उनले भने। 

गण्डकी प्रदेशको भूगोलबाट राजनीति गर्ने व्यक्ति मध्ये एमाले पदाधिकारी बन्ने पहिलो व्यक्ति हुन पृथ्वी सुब्बा गुरुङ । प्रदेशबाट एक मात्र पदाधिकारी र त्यसमाथि भूगोलबाटै पहिलो रेकर्ड बनाएका गुरुङ यस क्षेत्रकै न्याएका लागि पनि आफूले महासचिव पाउनुपर्ने तर्क गर्छन्। ‘एमालेको पदाधिकारीमा गण्डकीबाट रेकर्ड तोड्ने म मात्र हुँ। अहिले पार्टीमा गुट या समूह छैन। भएको भए समूहगत लडाइँ लडेर भए पनि महासचिव बन्न सक्थेँ। अहिले अध्यक्षले पक्कै पनि यस विषयमा विचार पुर्याउनुपर्छ। महासचिव र कसै समेट्ने कुरामा मिलाउनुपर्ने अवस्था आए उपाध्यक्ष पनि हुन सक्ला’ नयाँ पत्रिकासँग उनले भने। 

नवौँ महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ पनि उपाध्यक्ष पदका दाबेदार हुन्। गण्डकी प्रदेश कमिटी संयोजकसमेत रहेका किरण गुरुङले फेरि सोही पदमा आफूले आकांक्षा राखेको प्रस्ट्याएका छन्। ‘मैले नवाैँ महाधिवेशनमा पनि उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको हुँ। अहिले पनि स्वभाविक रूपमा मेरो दाबी हुन्छ नै,’ उनले भने। 

राजनीतिक रूपले हेर्दा धेरै कुरा मिलाउनुपर्ने भए पनि भूगोलको हिसाबले पनि गण्डकीमा कम्तीमा दुईवटा पदाधिकारी दिइनुपर्ने उनको भनाइ छ। ‘हाम्रो पार्टीमा विभिन्न मनोविज्ञान छन्। हिजो अर्को समूह (माधव समूह) मा रहनुभएका साथीहरू हुनुहुन्छ। माओवादीबाट आएका साथीहरू हुनुहुन्छ। त्यो मिलाउनुपर्ने विषय छ नै। तर, भूगोलको हिसाबले पनि र पार्टीमा दिएको योगदानका हिसाबले पनि मेरो उपाध्यक्षमा दाबी स्वभाविक हो,’ उनले भने। 

एमाले केन्द्रीय कमिटी सदस्य एवं महिला नेतृ पद्मा अर्यालले पनि पार्टीको पदाधिकारीमै अपेक्षा गरेकी छिन्। आफ्नो अपेक्षा सचिवमा रहेको उनले खुलाइन्। उनले पदाधिकारीमा आफ्नो दाबी स्वाभाविक रहेको नयाँ पत्रिकालाई प्रतिक्रिया दिइन्। यद्यपि पार्टीमा सर्वसम्मत पदाधिकारी चयनका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ। ‘म सर्वसम्मत पदाधिकारी चयनको पक्षमा छु । स्वाभाविक रूपमा मेरो चाहना पदाधिकारीमै छ । पार्टीमा सल्लाह गर्दै छु । निर्वाचन लड्ने अवस्था आयो भने लड्नु पनि पर्ला। परिस्थिति हेरेर अगाडि बढ्नै पर्छ,’ उनले भनिन्।  

गण्डकीका अर्का नेता खगराज अधिकारीले आफ्नो दाबी पदाधिकारीमै हुने यसअघि नै सार्वजनिक गरेका छन्। नवौँ महाधिवेशनमा अधिकारी केन्द्रीय सदस्यमा थोरै मतान्तरले मात्रै पराजित भएका थिए।अधिकारीले पार्टीको सचिव अथवा उपाध्यक्षमध्ये एकमा आफ्नो उम्मेदवारी रहने प्रस्ट भएको बताए। उनले भने, 'यसपालि सचिव र उपाध्यक्षमध्ये एक पदमा मेरो उम्मेदवारी प्रस्ट छ।'