Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार १६:११:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से करिब आठ अंकले बढ्यो, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार १६:११:००

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षाको क्रममा प्रति ग्राहक सेयर धितो कर्जामा संशोधन गर्ने खबरले आइतबार बढेको सेयर बजार सोमबार पुनः संशोधन नहुने हल्ला चलेपछि बजारको वृद्धि सुस्ताएको छ। सोमबार दुई हजार सात सय ७७ सम्म पुगेर बजारको वृद्धि रोकियो। बजार बन्द हुँदा भने नेप्से परिसूचक करिब ८ अंकले बढेर दुई हजार ७६५ बिन्दुमा आइपुगेको छ। सोमबार बजारमा तीव्र मोलमोलाई चलिरह्यो।

आइतबारको तुलनामा यस दिन कारोबार रकम सीमान्त दरमा घटेको छ। सोमबार तीन अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको हो। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकम पनि चार अर्बबाट घटेको हो। राष्ट्र बैंकले हाल बजारमा प्रति ग्राहकले एउटा बैंकबाट चार करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले केही सीमित ठूला लगानीकर्ताहरूलाई मात्र प्रभाव पर्ने भए पनि यसलाई बजारको वृद्धिसँग जोडेर लगानीकर्ताहरूले हेर्दै आएका छन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा नजिकिँदै गर्दा यो विषयमा हरेक दिन अलगअलग हल्ला चलिरहेको छ। लगानीकर्ताहरू सोही हल्लाअनुसार निर्णय लिइरहेका देखिन्छन्। बैंकहरूमा रहेको तरलता दबाब कायमै रहँदा पनि लगानीकर्ताहरूले ठोस निर्णय लिन सकिरहेका छैनन्।

यस दिन १०६ किसिमका धितोपत्र तथा ऋणपत्रहरूको मूल्य बढेर कारोबार भएको छ। मानुषी लघुवित्त र चन्द्रागिरि हिल्सको सेयर मूल्य सबैभन्दा धेरैले वृद्धि भएको छ। करिब दुई महिनाअघिबाट कारोबारमा आएको मानुषी लघुवित्तको मूल्य बढ्दो क्रममा छ। प्रतिसेयर आम्दानी करिब ८ रुपैयाँ रहेको यस कम्पनीले गत आवमा एक करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो। केही अघि बुल बजारमा करिब २ हजार ७  सय रुपैयाँसम्ममा कारोबार भइरहेको चन्द्रागिरिका लगानीकर्ताहरू हालको मूल्य अन्तरको आधारमा लगानी गरिरहेका देखिन्छन्। हाल कम्पनीको सेयर एक हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ। कम्पनी पहिलो त्रैमासमा ४३ करोड रुपैयाँ सञ्चित नोक्सानमा छ भने पहिलो त्रैमासमा ३ करोड ८७ लाख रुपैयाँ खुद नोक्सान छ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ। यी कम्पनीको मूल्य तीनदेखि चार प्रतिशतको दरमा घटेको हो। महालक्ष्मी, नेपाल टेलिकम, अरुण काबेलीलगायतको कारोबार सबैभन्दा धेरै भएको छ। यी कम्पनीको २९ करोड देखि ३४ करोड रुपैयाँसम्मका सेयर किनबेच भएको छ। यसदिन २ सय २५ किसिमका धितोपत्र र ऋणपत्रलगायतको कारोबार भएको छ।