Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जावलाखेलका अनगुना जुनियरको प्रहार छेक्दै मनाङका गोलरक्षक विशाल सुनार । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार ०८:३७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मनाङको कठिन जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार ०८:३७:००

दिनेश राजवंशीले ५६औँ मिनेटमा गरेको एक मात्र निर्णायक गोलको सहयोगमा ए डिभिजन लिगमा   सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दीले आइतबार जावलाखेललाई १–० ले हरायो 

सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी  क्लबले आइतबार सहिद स्माकर ए डिभिजन लिगमा कठिन जितका साथ आफ्नो यात्रा सुरु गरेको छ । दशरथ रंगशालामा मनाङले जावलाखेल युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।मनाङको जितमा राष्ट्रिय टोलीका खेलाडी दिनेश राजवंशीले एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको ५६औँ मिनेटमा कर्नरबाट आएको बललाई हेडिङ गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । राजवंशीले दयानन्द सिंहको कर्नरमा हेडिङ गोल गरेका हुन् । 

खेलमा थप गोल नहुँदा राजवंशीकै गोल निर्णायक बन्यो । जितसँगै मनाङले महत्वपूर्ण तीन अंक जोड्यो । प्रतिस्पर्धात्मक देखिएको खेलमा मनाङ विनातयारी जावलाखेलविरुद्ध प्रतिस्पर्धा गरेको प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । ‘जावलाखेलविरुद्ध हाम्रो खासै तयारी थिएन, विनातयारी नै प्रतिस्पर्धा गरेका हौँ ।’ लिग तथा घरेलु फुटबलकै ठूलो तथा सर्वाधिक सफल क्लब भएकाले मनाङले योजना बनाउनु नपरेको उनको भनाइ छ । 

‘मनाङ ठूलो क्लब हो, जस कारण प्रशिक्षकका रूपमा मलाई खासै योजना बनाउनुपरेन,’ मनाङका प्रशिक्षक तामाङ भन्छन्, ‘खेलाडीलाई स्पष्ट थाहा छ, कसरी खेल्नुपर्छ भन्ने ।’ मध्यान्तरअघि जावलाखेलले एक राम्रो अवसर खेर फालेको थियो । ओनगुना जुनियरले डिबक्स भित्रबाट हेडिङ गरेको बल क्रसबारमा लागेको थियो । उनले सुजर ठकुरीको क्रसमा हेडिङ गोल प्रयास गरेका थिए । पहिलो हाफमा जावलाखेलमाथि मनाङको दबदबा देखिन्थ्यो ।

राष्ट्रिय टोलीका र राम्रा विदेशी खेलाडीले भरिएको मनाङले पहिलो तथा दोस्रो हाफमा केही राम्रा अवसर गुमायो । खेलको ३०औँ मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा आफिज ओलावालेले गोल नगरेका होइनन् । तर, उनको गोल अफसाइड भयो । खेलको ४६औँ मिनेटमा मनाङका कप्तान अञ्जन विष्टको पासमा मनाङका ओलावालेको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले विफल पारे । 

खेलको ४९औँ मिनेटमा मनाङले सुन्दर गोल प्रयास खेर फाल्यो । दयानन्द सिंहले जावलाखेलका गोलरक्षक थापा बिट भएको अवस्थामा प्रहार गरेको बल क्रसबारभन्दा धेरै माथि गयो । खेलको ८९औँ मिनेटमा मनाङका ओलावालेले अनमार्कमा रहेको अवस्थामै गोल गर्न सकेनन् । कप्तान विष्टले निकालेको क्रसमा ओलावाले बल नियन्त्रणमा लिएका थिए । तर, उनले उनले पहिलो बारनजिकै बल प्रहार गरे । 

ब्रिगेडसँग एपिएफ स्तब्ध 
प्रशिक्षकका रूपमा कुमार थापाले पहिलो खेलमै हारको सामना गरेका छन् । ए डिभिजन लिगअन्तर्गत आइतबार पहिलो खेलमा थापा प्रशिक्षण रहेको विभागीय क्लब एपिएफ ब्रिगेड ब्वाइजसँग ३–२ को रोमाञ्चक अन्तरमा पराजित भएको छ । ब्रिगेडले एपिएफविरुद्ध तीनपटक नै अग्रता लिएको थियो । ब्रिगेडको जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपिएफका आशिष लामा र बिक्की तामाङले एक–एक गोल फर्काए । 

खेलको १२औँ मिनेटमा दिनेशले फ्रिकिकमा गोल गर्दै ब्रिगेडलाई १–० को अग्रता दिलाए । ब्रिगेडको अग्रता पाँच मिनेट मात्र रह्यो । खेलको १७औँ मिनेटमा आशिषले एपिएफलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफमा ब्रिगेडका कप्तान रोशन रानामगरले डिबक्सभित्रबाट प्रहार गरेको बल बारमा लागेको थियो । खेलको ५०औंँ मिनेटमा एपिएफका आशिषको प्रहार पनि क्रसबारमा लाग्यो । 

खेलको ६५औँ मिनेटमा दिनेशले ब्रिगेडलाई २–१ को अग्रता दिलाए । उनले सुरज गुरुङको पासमा गोल गरेका हुन् । खेलको ७७औँ मिनेटमा बिक्कीले हेडिङ गोल गर्दै एपिएफलाई २–२ को स्थितिमा पुर्‍याए । बराबरीतर्फ अग्रसर भएको खेलको अन्तिम इन्जुरी समयमा सुरजले गोल गर्दै ब्रिगेडलाई ३–२ को रोमाञ्चक जित दिलाए । जितसँगै ब्रिगेडले तीन अंक जोडेको छ । 

 रणनीति असफल भयो : प्रशिक्षक केसी
जावलाखेलका अनुभवी प्रशिक्षक किशोर केसीले मनाङविरुद्धको रणनीति असफल भएकाले जित हात पार्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘हामीले जितका लागि सबै रणनीति प्रयोग गरेका थियौँ, तर जित निकाल्न सकेनौँ,’ जावलाखेलका प्रशिक्षक केसीले भने, ‘जावलाखेलले रणनीतिअनुरूपै गोल अवसर निकालेको थियो ।’ आफ्नै गोलरक्षकको गल्तीका कारण मनाङका राजवंशीले गोल गरेको केसीको विश्लेषण छ । ‘दोस्रो हाफमा गोलरक्षककै गल्तीमा गोल भयो,’ उनले भने । एक गोलले पछाडि परेको अवस्थामा जावलाखेलले बराबरी गोल फर्काउने धेरै प्रयास गरेको उनको भनाइ छ । ‘हामीले बराबरी र पुनरागमन गर्न धेरै प्रयास गरेका थियौँ,’ जावलाखेलका प्रशिक्षक केसीले भने, ‘खेलमा मनाङले राम्रो अवसर सिर्जना गरेको स्विकार्नुपर्छ ।’ 

खेलको ७३औँ मिनेटमा जुनियरको पासमा सुनील खड्काले सुवर्ण अवसर खेर फाल्दा जावलाखेल बराबरी अवसर चुकाएको थियो । ए डिभिजन लिगकै लागि मनाङले आफ्नो पूर्वखेलाडी तामाङलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो । तामाङले विपक्षी टोली जावलाखेल बलियो टोली भएको बताएका छन् । ‘जावलाखेल पनि बलियो टोली नै हो, हामीले एट्याकिङ रणनीति अनाएका थियौँ,’ तामाङले भने, ‘बिस्तारै बल पोसेसन राखी खेलमा नियन्त्रण बनायौँ ।’