मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ मङ्सिर ४ शनिबार १२:३५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रामेछापमा धान उत्पादन ४० प्रतिशतले घट्यो

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ मङ्सिर ४ शनिबार १२:३५:००

रामेछापमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशतले गिरावट आएको छ। किसानहरूले धानको ब्याड राख्ने समयमा कृषि ज्ञान केन्द्र रामेछापले किसानहरूलाई सिफारिस गरेको बिउ राम्रो नभएको कारण यस वर्ष उत्पादनमा कमी आएको हो। रामेछापमा हाइब्रिड (एक्ले धान) सावित्री, शान्ति, मकवानपुरे र ३१२ तरार्इ क्षेत्रमा हुने धानको बिउ मध्यपहाडका लागि सिफारिस गरिएको धान बिउ बेँसी भूभागमा लगाउनाले धान उत्पादनमा धेरै कमी आएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताइन् ।

‘यस वर्ष रामेछापमा आठ हजार आठ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये बेमौसमी वर्षाका कारण तीन सय हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ,’ गुरुङले भनिन्। बाँकी रहेको धानमा मरुवा रोग, कालोपोके र डडुवा रोगजस्ता धेरै प्रकारका रोगहरू लागेका कारण ४० प्रतिशत धान उत्पादनमा गिरावट आएको प्रमुख गुरुङले बताइन् । गत वर्ष रामेछापमा आठ हजार ८१९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २६ हजार ९८६ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष धेरै धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

धानको ब्याड राख्ने समयमा कृषि ज्ञान केन्द्रसँगको परामर्शमा धान खरिद गरेर ब्याड राखेका किसानहरूले कृषि प्राविधिकले भनेजति उत्पादन नभएपछि किसानहरू चिन्तित बनेका छन्। धान उत्पादन घटेपछि कसरी जीविका चलाउने भन्ने चिन्ताले आफूलाई सताएको मन्थली नगरपालिका वडा नम्बर १ का किसानकुमार श्रेष्ठले बताए । उनले भने, ‘खेतमा लगाइएको धानको बिरुवा हेर्दा राम्रो सलसलाउँदो छ। बाला लामा र ठूलो लागेको देखिँदा धान निकै फलेको अनुमान गरिएको थियो। तर, धान काटेर चुट्दा बालाभित्र दाना नै नलागेको भेटियो।’ केही बालामा दाना लागे पनि खोस्टाजस्तो मात्रै भएकाले आफ्नो खेतमा गएको वर्षको तुलनामा आधा मात्रै धान उत्पादन भएको श्रेष्ठले बताए । 

रामेछापमा धान उत्पादनमा अब्बल मानिएको मन्थली नगरपालिकाको मन्थली फाँट, खाँडादेवी गाउँपालिकाको माडीमुहान फाँट, दोरम्बा गाउँपालिकाको टोकरपुरमा रहेको रजमानटार, लिखु तामाकोसी गाउँपालिकाको खिम्तीबेँसी र रामेछाप नगरपालिकाको साँघुटार फाँटमा यस वर्ष धान उत्पादनमा गिरावट आएसँगै किसानहरू मारमा परेका हुन् ।