मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कोभिड– १९ का कारण सुनसान सौराहा : एमाले महाधिवेशनपछि गुल्जार हुने अपेक्षा यहाँका व्यवसायीले गरेका छन् ।
२०७८ मङ्सिर ४ शनिबार ०९:२२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चितवनमा एमाले महाधिवेशन : कोभिड-१९ ले आहत सौराहामा बढ्ला त पर्यटन ?

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर ४ शनिबार ०९:२२:००

कोरोना कहरका कारण थलिएको पर्यटन आन्तरिक पर्यटकमार्फत लयमा फर्काउने कोसिसमा रहेका चितवनका पर्यटन व्यवसायीहरू नेकपा (एमाले)को महाधिवेशन चितवनमा हुने भएपछि उत्साहित भएका छन् । वाइल्ड लाइफ टुरिजमका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य चितवनका पर्यटन व्यवसायीले एमाले अधिवेशनले तत्कालै धेरै फाइदा नभए पनि दीर्घकालीन रूपमा अर्थ राख्ने निष्कर्षसहित उत्साहित भएका हुन् । 

सौराहामा पर्यटक भित्र्याउने उल्लेख्य दीर्घकालीन योजनाहरू छैनन् । वाइल्ड लाइफ पर्यटनमा असर परेमा सौराहा सुनसान हुन्छ । सौराहालाई विविधता दिन नसकेको र प्रचार–प्रसार गर्न पछि परेको बताउन संकोच नमान्ने व्यवसायीहरूले महाधिवेशन अवधिमा हुने आफ्नो क्रियाकलापलाई परीक्षाका रूपमा पनि हेरेका छन् । 

स्थगित कार्यक्रमको भरपाई र प्रचारको अपेक्षा 
नेकपा एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुँदै छ । पाँच लाख जनताको सहभागितामा नारायणी नदी–किनारमा उद्घाटन गरेर सौराहामा बन्दसत्र गर्ने तयारीमा रहेको एमालेले आवासका लागि क्षेत्रीय होटेल संघ र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन चितवनसँग तीन हजार पाँच सय कोठा बुकिङ गरिसकेको छ । 

विशेष छुटसहित कोठाहरू उपलब्ध गराएको बताउने क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई तत्कालका लागि व्यवसायीलाई धेरै फाइदा नभए पनि भविष्यमा ठूलो अर्थ राख्ने बताउँछन् । उनी थप्छन्, ‘एमालेको महाधिवेशन चितवनमा हुनु हाम्रो तत्कालको फाइदा भन्दा पनि यहाँको प्रचार–प्रसार र आन्तरिक पर्यटकको प्रवर्द्धनका लागिचाहिँ महत्वपूर्ण हुन्छ ।’

विदेशी पर्यटकको आगमन नभएको यो समयमा आन्तरिक पर्यटक भित्र्याउन प्रचार–प्रसार नै ठूलो बन्ने उनको ठहर छ । महाधिवेशन हुँदै गर्दा दैनिक १० हजार मानिस सौराहा आउँछन् । तीन दिनसम्म बस्दा यहाँका गतिविधि, होटेलहरू, वस्तुस्थिति सबै बुझ्छन् । मान्छे–मान्छेबीचको प्रचार अन्य प्रचारभन्दा धेरै राम्रो हुने हुनाले यो अधिवेशनले चितवन र सौराहालाई नै देशमा मात्र नभई विदेशमा समेत चिनाउने उनको अपेक्षा छ । 

चितवनमा एक हजार दुई सय ५० सामान्य होटेल तथा लज रहेको पर्यटनविज्ञ विश्व सुवेदी बताउँछन् । त्यसमध्ये दुई सय २५ होटेल बाह्य पर्यटक राख्ने क्षमताका छन् । त्यस्तै, कफीसप, चियापसल र खाजाघर करिब एक हजार पाँच सय रहेको उनको भनाइ छ । सिजनको समयमा यहाँ दैनिक तीन करोड रुपैयाँको कारोबार हुने गर्छ । १६ हजार कामदार प्रत्यक्ष रोजगारीमा छन् । चितवनमा पर्यटकीय होटेलमा ३० अर्बको लगानी रहेको सुवेदीको अनुमान छ । यसमध्ये आधाभन्दा बढी लगानी सौराहामा छ । एक सय १० होटेल र ५३ रेस्टुरेन्ट रहेको सौराहामा १५ अर्बको लगानी रहेको अनुमान छ । करिब ६ हजार पाँच सय पर्यटक सुत्न मिल्ने सुविधा सौराहामा छ ।

सक्दो सेवा दिने तयारीमा
सौराहाका सबै कोठा महाधिवेशनकै कारण यो अवधिलाई बुकिङ भइसकेको छ । लकडाउनका वेला काम नभएपछि आधा कामदारलाई छुट्टी दिएका सौराहाका होटेलहरूले अहिले कर्मचारी बढाइरहेका छन् । महाधिवेशनका लागि आउने पाहुनालाई केन्द्रित गरेर आवश्यक पर्ने सामान होटेलमा स्टक राख्न थालिएको छ । खाना, मासु, तरकारी, खाजा, मदिरा, पेय पदार्थलगायतका बिक्री बढ्ने भएकाले त्यसको तयारीमा समेत व्यवसायी छन् । 

यससँगै नेकपा एमालेले दसौँ महाधिवेशनको बन्दसत्र गर्न लागेको होटेल सेभेन स्टारनजिकै सौराहामा हुने पर्यटकीय गतिविधिको स्टल पनि रहनेछ । जहाँ हात्ती र जिप चढेर जंगल घुम्ने, जंगल वाक गर्ने, राप्ती नदीमा डुंगा सयर गर्नेलगायतका सेवाको टिकट र जानकारी प्रदान हुनेछ । सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारी अतिथिहरूलाई सहज हुने ढंगबाट सेवा–सुविधा प्रदान गर्ने भनेर अघि बढेको बताउँछन् । 

हात्ती र जिप चढेर जंगल घुमाउन, जंगल वाक गर्न, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न, सूर्यास्त हेर्न, थारू संस्कृतिसहित ब्राह्मण–क्षत्रीको डम्फु नाँच देखाउन सबै तयारी सकिएको तिवारी सुनाउँछन् ।  

आशंका पनि छ व्यवसायीमा 
यो तीन दिनको अवधिमा सौराहामा मात्र १० करोडको कारोबार हुने अपेक्षा छ । महाधिवेशनका लागि आउने कतिपय कार्यकर्ताले सौराहामा कोठा नपाएपछि रत्ननगर र भरतपुरका होटेलमा पनि कोठा बुक गरेका छन् । तीन हजार पाँच सय कोठाका लागि एमालेले सौराहामा सम्झौता गरे पनि होटेल व्यवसायीहरू नेतालाई सेवा दिन व्यावसायिक रूपमा केही डराउँछन् । एक सयजना मानिस राख्न सक्ने क्षमता भएको भरतपुर–१३ को लेक ट्वान्टी थाउजेन्ट फार्म एन्ड रिट्रिट (हबेली)मा पनि अधिवेशनमा आउने ३० जना मानिसहरूले कोठा बुकिङ गरिसकेका छन् ।

तर, सञ्चालक देवेन लोहनी भने नेताहरूको भ्रमण आफैँमा पर्यटन व्यवसायीका लागि परिपूरक नभएको बताउँछन् । उनले नेताको अतिथि सत्कारमा भएको खर्च नउठ्ने गरेको विगतको घट्ना सुनाउँदै भन्छन्, ‘व्यावसायिक हिसाबले नेता राख्दा फाइदा भने हुँदैन, तर नेतृत्वमा आउने मानिस चितवनदेखि प्रभावित भएमा भोलिका दिनमा भने सकारात्मक प्रभाव पक्कै पर्ला ।’

यस्तो छ कार्यक्रमस्थलको तयारी 
महाधिवेशनको उद्घाटन सत्रका लागि एमालेले नारायणी किनारमा तयारी थालेको छ । नदीको छेवैमा पूर्वाधार तयार गरेर अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँचसयजना अट्ने मञ्च तयार हुँदै छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् ।

बीचभागमा ७२ जना कालाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बन्नेछ । भाषणका लागि छुट्टै तीन स्टेज हुनेछन् । महाधिवेशनको मूल समारोहमा सेल्फी प्वाइन्ट बन्नेछ । मूल समारोहको मञ्चलाई चार भागमा विभाजन गरिएको छ । बन्दसत्र भने सौराहाको होटेल सेभेन स्टारपरिसरमा हुनेछ । महाधिवेशन हेर्न जानेहरूका लागि किताब, चित्रकलासहितको प्रदर्शनीसमेत गरिने छ ।

सौराहाको प्रवर्द्धन हुनेमा आशावादी छौँ  : दीपक भट्टराई अध्यक्ष, क्षेत्रीय होटेल संघ, सौराहा

देशका ७७ जिल्लाकै प्रत्येक वडाबाट मान्छे आउने हुँदा प्रचार राम्रो हुन्छ । कोभिडकै कारण हामीले हात्ती महोत्सव, नयाँ वर्ष, प्रणय दिवसलगायतका नियमित कार्यक्रमहरू गर्न पाएका थिएनौँ ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न चलाइएको ‘घुमौँ सौराहा’ अभियान पनि बीचैमा रोकियो । लकडाउन तथा निषेधाज्ञाको समयमा चितवनका पर्यटन व्यवसायीले प्रत्यक्ष रूपमा दैनिक तीन करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको थियो ।

हाम्रो क्षतिको भरपाई पक्कै यो समयमा हुनेछ । एमालेको महाधिवेशन सौराहामा सम्पन हुनासाथ अरू दललाई पनि अनुरोध गर्न सक्छौँ । त्यसैले पनि यो अधिवेशनमा यहाँको बारेमा कुनै गुनासो आउने वातावरण नबनोस् भनेर हामी सजग छौँ ।

पहिलोपटक तीन दिनसम्म ‘फुल अकुपेन्सी’ हुँदै छ : सुमन घिमिरे पूर्वअध्यक्ष, क्षेत्रीय होटेल संघ, सौराहा

महाधिवेशन अवधिका लागि चाहिने कोठाहरू उपलब्ध गराउने विषयमा एमाले र क्षेत्रीय होटेल संघ, सौराहाबीच सम्झौता भइसकेको छ । होटेल तथा रिसोर्टले ५० प्रतिशतसम्म छुट दिएर महाधिवेशनका लागि कोठाहरू उपलब्ध गराउने भएका छन् ।

महाधिवेशन तीन दिन भए पनि करिब एक हप्ताजति सौराहामा चहलपहल हुने अनुमान गरेका छौँ । सबै जिल्लाका मान्छेहरू आउँछन्, सबैजसो मिडियाको उपस्थिति रहन्छ, उनीहरूले समाचार लेख्छन्, सौराहाको राम्रो प्रचार हुनेछ ।

सौराहा आउनेले घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जाल रंगाउने हुँदा पनि सौराहाको आन्तरिक प्रचारमा ठूलो सहयोग पुग्ने अनुमान छ । प्रमुख पर्यटकीय गन्तव्य सौराहाको लामो इतिहास भए पनि लगातार तीन दिनसम्म फुल अकुपेन्सी हुन लागेको पहिलोपटक हो ।