थ्री स्टार क्लबले पाँचौँपटक आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न १७औँ संस्करणको फाइनलमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ५–४ ले हराउँदै पाँचौँपटक उपाधि हात पारेको थियो । थ्री स्टारले ८ लाख र उपविजेता आर्मीले ४ लाख पाएका छन् । गत संस्करणमा थ्री स्टार उपविजेता बनेको थियो । आर्मीका खेलाडीमा प्लेइङ लिस्टमा नभएका खेलाडी मैदानमा छिराउँदा विवाद बन्यो ।
शाक्यको १० मिनेट
फाइनलमा आर्मीले प्लेइङ लिस्टमै नभएका आशिष शाक्यले १० मिनेटसम्म मैदानमा बिताएका थिए । थ्री स्टारले मैदानभित्र लिस्टमै नभएका खेलाडी प्रतिस्पर्धा गरिरहेको थाहा पायो । त्यसछि थ्री स्टारका खेलाडी र अफिसियलले त्यसको विरोध जनाए । ९१औँ मिनेटमा सेसाङ आङदाम्बेको स्थानमा शाक्य छिरेका थिए । आर्मीले खेलाडी शाक्यलाई छिराउँदा अफिसियल र फोर्थ अफिसियल क्रस चेक गरेनन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीसहितले रेफ्री सुदेशकुमार पाण्डेलाई त्यसको जानकारी गराए । पाण्डले आर्मीका कप्तान भरतसँग छलफल गरी शाक्यलाई मैदानबाहिर पठाएका थिए ।
यस्तो छ फिफाको नियम
यता थ्री स्टार र आर्मीका प्रशिक्षकले अफिसियलको ठूलो गल्ती रहेको बताए । थ्री स्टारका प्रशिक्षक केसीले फिफाको नियमअनुसार प्लेइङ लिस्टमा नभएका खेलाडी छिराउँदा विपक्षी टोली त्यत्तिकै ३–० ले जित्नुपर्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक न्यौपानेले सुदिल राईको नाम नन प्लेइङमा राख्नुपर्नेमा शाक्यको नाम झुक्किएर परेको बताए । ‘हामीले गल्ती गरे पनि अफिसियलले त्यो हेर्नुपर्ने थियो, तर उनीहरूले हेरेनन्, यसमा अफिसियल दोषी हुन्,’ न्यौपानेले भने, ‘यदि आर्मीले जितेको भए, विपक्षीले अपिल गर्दा उनीहरू नै विजयी हुन्छ ।’
गोलरक्षकले रोके खवासका पेनाल्टी
९० मिनेट र थपिएको ३० मिनेटमा दुवै क्लबले १–१ गोल गरेका थिए । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत थ्री स्टार र आर्मीले ४–४ गोल गरे । सडनडेथमा पहिलो प्रहार आर्मीका विकास खवासले गरेका थिए । उनको प्रहारलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले विफल पारे । थ्री स्टारका मिकछेन तमाङले गोल गर्दै टोलीलाई उपाधि दिलाउन सफल भए । टाइब्रेकरमा आर्मीका कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको गोल गरेका थिए ।
गोलरक्षक विकेश कुथुको प्रहार न्यौपानेले बचाए । थ्री स्टारका विजय धिमाल, रुपेश केसी, कप्तान विक्रम लामा र अनन्त तामाङको पेनाल्टी गोल भएको थियो । सुशील राईको प्रहार क्रसबारमा लाग्यो । यसअघि खेलको पाँचौँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले १–० का लागि गोल गरे । दीपक गुरुङको लामो क्रसमा बुढाथोकीले पहिलो बारमा हेडिङ गोल गरेका थिए । थ्री स्टारका रञ्जित धिमालले पहिलो हाफको इन्जुरी समयमा १–१ को बराबरी गरे । डि बक्सभित्र आर्मीका दीपक गुरुङको ह्यान्ड भएपछि धिमालले पेनाल्टी गोल गरेका हुन् । प्रतिस्पर्धामा प्लेइङ लिस्ट नभएका खेलाडी पठाउँदा आर्मी १० खेलाडीमा सीमित भयो ।