१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर २ बिहीबार १०:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिका अध्यक्षले अनियमितता गरेको भन्दै सात ठाउँमा उजुरी

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २ बिहीबार १०:३२:००

जिल्लाको दुर्गा भगवती गाउँपालिकाले गोप्य रूपमा झन्डै २३ करोडको टेन्डर निकालेको छ । खरिद निर्देशिका २०७४ को दफा ३५(१) मा दुई करोडभन्दा माथिको ठेक्कापट्टा विद्युतीय प्रणालीबाट गर्नुपर्ने उल्लेख रहेकोमा गाउँपालिकाले गोप्य तरिकाले बोलपत्र निकालेको हो । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले ०७८ भदौ २५ गते निकालेको २३ करोडको बोलपत्रसम्बन्धी सूचना गोप्य तरिकाले प्रकाशित गर्न लगाएका  थिए । सो बोलपत्र कुन राष्ट्रिय मिडियामा प्रकाशित भएको छ भन्नेबारेमा समेत कसैले थाहा पाएका  छैनन् । आगामी वर्षको बजेटबाट समायोजन गरिने भन्दै करोडौँको टेन्डर हतारहतारमा गाउँपालिका अध्यक्ष साहले निकालेका हुन् । 

बजेट टुक्य्राउन नपाउने शीर्षकबाट समेत रकम विनियोजन गर्दै अध्यक्ष साहले निकालेको टेन्डर निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले ब्याक मितिमा हस्ताक्षर गर्न नमान्दा उनलाई डरत्रास देखाएर सदर गराउने प्रयास अध्यक्ष साहले गरेका थिए । अधिकृत पाठकले टेन्डर सदर नगरेपछि कार्यपालिकाको निर्णय भन्दै अधिकृत फेर्न उनी मन्त्रालयमा पुगेका थिए । अध्यक्ष साहले आह्वान गरेको करोडौँको बोलपत्र प्रशासकीय अधिकृतले सदर गर्न नमानेपछि गाउँपालिका अध्यक्षले अर्को प्रशासकीय अधिकृत ल्याउने तयारी गरेका छन् । टेन्डर स्वीकृत नहुँदै लाखौँको ह्यान्डपाइपलगायतका सामग्री अध्यक्ष साहकै घरमा थुपारिएको छ । 

गाउँपालिका अध्यक्षले चरम भ्रष्टाचार गरेको भन्दै सोही गाउँपालिका– १ गंगापिपराका सुनिल सिंहले अख्तियार दुरुपयोग अनुसन्धानसहित विभिन्न निकायमा उजुरी गरेका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएदेखि साहले विभिन्न शीर्षकमा व्यापक रूपमा आर्थिक अनियमितता भएको भन्दै सिंहले लिखित उजुरी गरेका हुन् । नियमकानुन मिच्दै अध्यक्ष साहको निर्देशनमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू विकास निर्माणका लागि आएको रकम विनाकारण अन्य शीर्षकमा रकम विनियोजित गरेर चरम आर्थिक दुरुपयोग गरिएको उक्त उजुरीपत्रमा उल्लेख गरिएको छ । त्यति मात्रै नभई चालू आर्थिक वर्ष ०७८/७९ मा विनासूचना आह्वान गरिएको २३ करोडको बोलपत्र आफ्नै मान्छेलाई दिने तयारी गरेको आरोपसमेत लागेको छ ।

सामाजिक सुरक्षाको रकम विगत तीन आर्थिक वर्षमा ५० प्रतिशत व्यक्तिको नाममा नक्कली ल्याप्चे छाप लगाएर करोडौँ रकम हिनामिना गरेको हुँदा उक्त कार्यहरूको अनुसन्धान गरी दोषीहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाहीको गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख साहविरुद्ध उजुरी परेको छ । गाउँपालिकाको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको प्रमुख प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । दर्ता भएको उजुरीसँग सम्बन्धित कागजातहरू आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेको उनले बताए । अख्तियारले छानबिन गर्ने भएको हुँदा अनुसन्धान तथा प्रशासनिक कार्यमा सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए । सो विषयमा गाउँपालिका प्रमुख साहले भने केही बताउन चाहेनन् ।