१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Friday, 27 September, 2024
२o७८ कार्तिक ३० मंगलबार o८:२९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रौतहटमा दुई बालकको शंकास्पद मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार o८:२९:oo

चकलेटमा विष मिसाएर छिमेकीले हत्या गरेको पीडित परिवारको दाबी

देवाही गोनाही नगरपालिका– ५ टिकुलियास्थित एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु भएको छ । टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार वर्षीय छोरा विकासको शंकास्पद मृत्यु भएको हो ।

शनिबार साँझ अकस्मात् बिमारी भएपछि दुवैलाई उपचारका लागि शिवनगरस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालले उपचार गर्न नसक्ने बताएपछि थप उपचारका लागि दुवै बालकलाई वीरगन्ज लगिएको थियो । आफन्तका अनुसार विकासको अस्पताल नपुर्‍याउँदै शनिबार राति बाटोमै ज्यान गएको थियो । आकाशको भने आइतबार बिहान वीरगन्जको नेसनल मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै बालकको बाबु सञ्जय भने वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् ।

पीडित परिवारले यसअघिको एक घटनामा जोडिएर छिमेकीले दुवै बालकलाई विष खुवाएको दाबी गरेको छ । सोही गाउँमा गत वर्ष स्थानीय महेश तिवारीकी श्रीमती जयरानी तिवारीको हत्या भएको थियो । सो हत्यामा संलग्न रहेको आरोपमा रामएकवाल मुखियाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता छ । सोही मुद्दा फिर्ता लिन दबाब दिने उद्देश्यले तिवारी परिवारले चकलेटमा विष हालेर दुवै बालकलाई खुवाएको आरोप पीडित परिवारले लगाएका छन् ।

कर्तव्य ज्यान मुद्दा लागेका रामएकवाल भने फरार छन् । उनी रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रकाश मुखियाका सम्धी हुन् । त्यसैले घटनाले राजनीतिक रंग लिएको कतिपय स्थानीयको भनाइ छ । मृतक बालकका आफन्त तथा गाउँपालिका प्रमुख मुखियाले तिवारी परिवारले फरार रहेका आफ्ना सम्धीमाथिको ज्यान मुद्दा फिर्ता लिए तिवारी परिवारमाथि बालक हत्याको आरोपमा जाहेरी फिर्ता लिने भन्दै बार्गेनिङ गरेको स्थानीय महेस तिवारीले बताए ।

 प्रहरीले जाहेरी दर्ता गरेन
दुवै बालकको मृत्युपछि पीडित परिवारले भने छिमेकीले चकलेटमा विष मिसाएर खान दिँदा घटना भएको आरोप लगाएका छन् । छिमेकीले विष खुवाएर हत्या गरेको भन्दै पीडित परिवार र केही स्थानीय सोमबार किटानी जाहेरी दिन खोेजे पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन । स्थानीय महेस तिवारी, राजेश तिवारी, रमेश तिवारीसहित पाँचजनाविरुद्ध बालक हत्याको किटानी जाहेर लिएर स्थानीय जिल्ला प्रहरी कार्यालय गएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा दुवै बालकले घरमा खेल्ने क्रममा मुसा मार्न प्रयोग गरिने विष सेवन गरेको पाइएकाले किटानी जाहेरी दर्ता नगरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख श्रीमरा भण्डारीले बताए । पीडित परिवार र केही स्थानीयले भने छिमेकी तिवारी परिवारले चकलेटमा विष खुवाएर हत्या गरेको आरोप लगाएका छन् ।

सडकमा शव राखेर चक्काजाम
प्रहरीले जाहेरी नलिएपछि पीडितहरूले बालकको शव सडकमा राखेर गरुडा बजारमा चक्काजाम गरेका थिए । दुवै बालकको शव सडकमा राखेर चक्काजाम गर्दा चन्द्रनिगाहपुर–गौर सडकखण्डमा यातायात प्रभावित भएको थियो । प्रहरीले बल प्रयोग गरी चक्काजाम खुलाएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीमरा भण्डारीले जानकारी दिए । ‘दुवै बालकको शव सडकमा राखेर चक्काजाम गरिएको थियो । त्यसले यातायातमा बाधा पु¥याएपछि प्रहरीले बल प्रयोग गरेर चन्द्रनिगाहपुर–गौर सडकखण्ड खुलाएको हो,’ डिएसपी भण्डारीले नयाँ पत्रिकासँग भने ।