१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक २९ सोमबार १७:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ठेकेदार र विद्युत् प्राधिकरणको लापरबाहीले युवकको मृत्यु, प्रहरीले जाहेरी लिन मानेन

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार १७:११:००

गत बुधबार साँझ काभ्रेपलाञ्चोकस्थित कुशादेवीमा बिजुली बत्ती बिग्रिएको थियो। ठेकेदारले कुशादेवीका सुशील घिमिरेलाई बिजुलीको तार मर्मत गर्न बोलाए। उनलाई ठेकेदार धु्व्र लम्साल र हरि बन्जराले बोलाएका थिए। ठेकेदारले बोलाएपछि बिजुली मर्मत गर्न २० वर्षीय घिमिरे ट्रान्सफर्मरमा चढे। उनी ट्रान्सफर्मरमा चढ्नुअघि ठेकेदारले विद्युत् काट्न विद्युत् प्राधिकरण बनेपा शाखालाई अनुरोध गरेका थिए। प्राधिकरणले बत्ती काटेको जानकारी ठेकेदारलाई गराएपछि घिमिरेलाई ठेकेदारले तार छुन आग्रह गरे। तार छुनासाथ करेन्टको झट्काले घिमिरे भुइँमा खसे। उनको त्यहीँ मृत्यु भयो।

ठेकेदारले बत्ती काटिएको वा नकाटिएको विषयमा जाँच नगरी ट्रान्सफर्मरमा चढाउँदा घिमिरेको मृत्यु भएको स्थानीयको आरोप छ। प्राधिकरण र ठेकेदारले बत्ती नकाटिएको अवस्थामा ट्रान्सफर्मरमा चढाउँदा युवकको मृत्यु भएपछि आफन्त इलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिन पुगे। तर, ठेकेदार र प्राधिकरणको नाम समेटिएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेन। इलाका प्रहरीले जाहेरी नलिएपछि पीडित परिवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धुलिखेल पुगे। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीलाई भेटे। तर, प्रशासनले उक्त जाहेरी दर्ता गर्न मानेन। बरु ठेकेदार र प्राधिकरणसँग आफैँ सल्लाह गर्नुस् भन्दै प्रहरीले पीडितलाई फर्कायो। 

प्राधिकरण र ठेकेदारको लापरबाहीले युवकको ज्यान गएको मृतकका भिनाजु शालिकराज दाहालले बताए। उनले भने, ‘गल्ती प्राधिकरण र ठेकेदारको छ। तर, उहाँहरूले मुद्दा दर्ता नै गर्नुभएन। मुद्दा दर्ता गर्ने प्रक्रियामा लागे प्राधिकरणले मृतकले पाउने इन्स्योरेन्स रकम पनि रोकिदिने भनेको छ।’
 
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विद्युत् प्राधिकरणको दोष देखाएर मुद्दा दर्ता गर्दा अनुसन्धानमा समस्या हुने बताए। उनले भने, ‘यस्तो विषयलाई विद्युत प्राधिकरणको गल्ती भन्न मिल्दैन। उहाँहरूले व्यक्तिमाथि आरोप लगाउनुभएको छ। त्यसरी दिएको जाहेरी दर्ता हुँदैन।’ उनले मुद्दा दर्ता नै नगरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने विषयमा प्राधिरणसँग छलफल भएको बताए।

प्राधिकरणले १० लाख क्षतिपूर्ति दिने बताए पनि पीडित पक्षले दोषी ठेकेदार र प्राधिकरण भएको भन्दै कारबाहीको माग गरेका छन्। मृतक घिमिरेले काठमाडौंमा प्लस टु सकेर गाउँ फर्किएका थिए। घरमा आर्थिक समस्या परेपछि उनले पढाइ छाडेर ठेकेदारसँग उतै हाउस वायरिङको काममा लागेका थिए।