मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २८ आइतबार ०९:०३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा महाधिवेशन : नेतृत्वमा चार नेताबीच टक्कर

Read Time : > 3 मिनेट
२०७८ कार्तिक २८ आइतबार ०९:०३:००

विगतमा एकै ठाउँ रहेका कमल थापा र राजेन्द्र लिङ्देनबीचको संघर्षले राप्रपा वृत्तमा तरंग

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन (११–१३ मंसिर) नजिकिँदै जाँदा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । हालसम्म पार्टीमा दोस्रो पुस्ताका तर्फबाट नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । तर, अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले पनि उम्मेदवारी दिने जनाउ दिइसकेका छन् । अध्यक्ष थापा र उनीनिकट मानिने सांसद लिङ्देनबीच प्रतिस्पर्धाको सम्भावनाले राप्रपा वृत्तमा चर्चा पाएको छ । 

११ देखि १३ मंसिरमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । बारम्बार फुट्दै र जुट्दै गरेको राप्रपाको बागडोर सम्हाल्न अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणा फेरि पनि आकांक्षी छन् । तर, दोस्रो पुस्ताको नेतृत्व गर्दै राजेन्द्र लिङ्देन उनीहरूका अघिल्तिर चुनौती बनेर उभिएका छन्

राप्रपाले हिन्दू धर्म सापेक्ष राज्य र राष्ट्रप्रमुखका रूपमा सेरेमोनियल राजसंस्था हुनुपर्ने धारणा राख्दै आएको छ । ‘राप्रपामा नीतिगत भिन्नता केही पनि छैन, नेतृत्वका सन्दर्भमा आ–आफ्ना दाबी विभिन्न ढंगबाट प्रस्तुत भएका छन्,’ प्रचार संयोजक मोहन श्रेष्ठले भने, ‘पार्टीको लाइनमा समानता छ । पार्टीभित्र सबै उमेर समूह र सबै पक्षबीच सामञ्जस्य कायम गर्ने र मजबुत पार्टी निर्माण हुनुपर्ने विषयमा कसैको पनि फरकमत छैन ।’ तर, अध्यक्षका आकांक्षी आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् । 

थापा–लिङ्देन टकराव
राप्रपाका एक नेताका अनुसार ०७४ को निर्वाचनमा राप्रपाले शर्मनाक पराजय भोगेपछि केन्द्रीय समिति बैठकमा राप्रपा अध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा घोषणा गरेका थिए । तर, नेता राजेन्द्र लिङ्देनलगायतले थापाको राजीनामा फिर्ता गराए । त्यसको एक वर्षपछि पार्टी अध्यक्षको अधिकार कटौती हुने गरी पार्टीको विधान संशोशन गर्ने तयारी भएपछि थापाले पार्टीका पदाधिकारी विघटन गरे । विधान संशोधनका लागि गोविन्द खनियाँ नेतृत्वमा गठित समितिमा लिङ्देन र अर्का नेता धवल शमशेर राणा पनि थिए । विधान संशोधन गर्ने तयारीलाई अध्यक्ष थापाले आफूलाई कमजोर पार्न लागिएको अर्थमा लिए । त्यसपछि थापा र लिङ्देनबीच बिग्रेको सम्बन्ध अब अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तहमा आइपुगेको जानकार नेताहरू बताउँछन् । 

त्यसवेला पशुपतिशमशेर राणा नेतृत्वको बेग्लै राप्रपा थियो । पछि थापाले राणा नेतृत्वको पार्टीसँग एकीकरण गर्दा वा केन्द्रीय सदस्य, पदाधिकारीको मनोनयन गर्दा लिङ्देनसँग सरसल्लाह गरेनन् । ‘त्यसपछि थापा र लिङ्देनबीच सुरु भएको विवाद अहिले उत्कर्षमा पुगेको मात्र छैन, दुईजना आपसी प्रतिस्पर्धीका रूपमा देखिने परिस्थिति बनेको छ,’ अध्यक्ष थापानिकट एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने, ‘कुनै समय पाथीभारा मन्दिरमा गएर एक–अर्कालाई असहयोग नगर्ने कसम खाएका थापा र लिङ्देन अहिले मुख्य प्रतिस्पर्धी देखिएका छन् ।’

दोस्रो पुस्ताका तर्फबाट लिङ्देनले अध्यक्षमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । संघीय संसद्मा एक मात्र राप्रपाका निर्वाचित सांसद उनलाई नेपालगन्जका मेयर एवं नेता धवल शमशेर राणालगायतको साथ छ । लिङ्देननिकट एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने, ‘अब पुरानो पुस्ताको हातमा पार्टी गयो भने पार्टी समाप्त हुन्छ, समाप्त भएको पार्टी सम्हाल्न पाँच वर्ष धैर्य गर्ने होइन, पार्टीलाई अहिले नै सम्हाल्ने दोस्रो पुस्ताको चाहना छ ।’ 

११ देखि १३ मंसिरमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । बारम्बार फुट्दै र जुट्दै गरेको राप्रपाको बागडोर सम्हाल्न अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणा फेरि पनि आकांक्षी छन् । तर, दोस्रो पुस्ताको नेतृत्व गर्दै राजेन्द्र लिङ्देन उनीहरूका अघिल्तिर चुनौती बनेर उभिएका छन्

के चाहन्छन् अध्यक्षत्रय ?
०६३ पछि हिन्दू राष्ट्रको मुद्दा आफैँले स्थापित गरेको, तर आफूविरुद्ध निरन्तर घेराबन्दी भएकाले पार्टीले पछिल्लो निर्वाचनमा पराजय व्यहोरेको थापाको दाबी छ । राणा र लोहनीभन्दा आफू बलियो रहेको थापाको बुझाइ छ । ‘आफ्नो पालामा बढेको राप्रपाको साख उहाँ फेरि पुनस्र्थापन गर्न चाहनुहुन्छ, उहाँको विकल्प पार्टीमा छैन,’ थापानिकट नेताको भनाइ छ । राष्ट्रिय राजनीतिमा थापाकै हैसियत मजबुत रहेको र अन्तर्राष्ट्रिय व्यक्तित्व पनि थापाकै रहेको उनी निकटस्थ एक नेताले दाबी गरे । 

अर्का अध्यक्ष राणाको बुझाइ फरक छ । तत्कालीन राप्रपा नेपाल समूहका थापा र लिङ्देनको प्रतिस्पर्धाले आफूलाई फाइदा हुनेमा उनी ढुक्क देखिन्छन् । राणानिकट एक नेताले भने, ‘जीवनको आखिरी पटक नेतृत्वका लागि अध्यक्ष राणालाई साथ दिन्छौँ भन्नेहरू देशभरि नै छन् । लोहनी संगठनमा कमजोर छन् । थापाको व्यक्तिगत अप्रजातान्त्रिक स्वभावका कारण कार्यकर्ता चिढिएका छन् र लिङ्देनसमेत थापासँग नभएपछि राणालाई सहज छ ।’ 

राप्रपाका अर्का अध्यक्ष लोहनी पनि अन्तिमपटक अध्यक्ष पदका लागि उम्मेदवारी दिने छलफलमा छन् । थापा र राणाले लामो समय पार्टीको नेतृत्व गरेको, तर पार्टीको वैचारिक राजनीतिक धरातल अझै मजबुत बन्न नसकेको निष्कर्षसहित लोहनीले नेतृत्वको आकांक्षा राखेका छन् । उनले दोस्रो पुस्तासँग पनि समन्वय गर्न खोजेका छन् । निकट एक नेताका अनुसार अध्यक्षद्वय थापा र राणाले उम्मेदवारी नदिएको अवस्थामा लोहनी दोस्रो पुस्तालाई समर्थन गर्न तयार छन् । ‘अध्यक्षत्रयलाई पार्टीको बोर्ड अफ डाइरेक्टर जसरी व्यवस्थापन गर्ने र प्रमुख कार्यकारी अधिकृतका रूपमा नयाँ पुस्तालाई नेतृत्व गर्न दिने विकल्पमा पनि लोहनी तयार हुनुहुन्छ,’ उनीनिकट ती नेताले भने, ‘उहाँ दोस्रो पुस्तासँग समझदारी गरेर अघि बढ्न चाहनुहुन्छ ।’

प्रदेश अध्यक्षमा आ–आफ्ना उम्मेदवार, आज भिडन्त हुँदै

राप्रपाले आइतबार प्रदेश अधिवेशन गर्दै छ । प्रदेश १ मा अध्यक्षका लागि  थापा र लिङ्देनका उम्मेदबारबीच प्रतिस्पर्धा हुँदै छ । थापाका उम्मेदवार राम थापा र लिङ्देनका उम्मेदवार भक्ति सिटौला हुन् । राणाका उम्मेदवार विश्वमोहन थापा हुन् । प्रदेश २ मा दोस्रो पुस्ताका उम्मेदवार भरत गिरी हुन् भने राणा र लोहनीका उम्मेदवार क्रमशः रामचन्द्र राय र भोला साह हुन् । प्रदेश २ मा थापाका उम्मेदवार स्पष्ट छैनन् ।

बाग्मती प्रदेशमा थापाका उम्मेदवार विक्रम थापा हुन् भने राणा र दोस्रो पुस्ताका तर्फबाट मधु अधिकारीको उम्मेदवारी हुने सम्भावना रहे पनि टुंगिएको छैन । गण्डकी प्रदेशमा दोस्रो पुस्ताबाट हेमजंग गुरुङ उम्मेदवार हुन् भने अध्यक्ष थापाका तर्फबाट नीलकण्ठ काफ्ले, मदनबहादुर कार्की र राजेन्द्र अधिकारी दाबेदार छन् । पुराना नेता भीमप्रसाद गौचनलाई सर्वसम्मत बनाउने प्रयासमा राणाको समर्थन रहने देखिएको छ । 

लुम्बिनी प्रदेशमा दीपक बोहोराका उम्मेदवार प्रदीप उदय र धवलशमशेरका उम्मेदवार ऋषिराज देवकोटा हुन् । उदयलाई थापाको समर्थन छ भने देवकोटालाई लिङ्देनको समर्थन छ । कर्णालीमा नयाँ पुस्ताका तर्फबाट धनबहादुर बुढा र मुकुन्न श्याम गिरी आकांक्षी हुन् भने राणाका उम्मेदवार दीपबहादुर शाही हुन् । थापाका उम्मेदवार भनिएका जनकसिंह प्रदेश अधिवेशन प्रतिनिधि नै हुन सकेनन् । 

सुदूरपश्चिममा नयाँ पुस्ताबाट धर्मराज जोशी उम्मेदवार हुन् भने उनलाई राणाको समर्थन देखिएको छ । यद्यपि दोस्रो पुस्ताका पक्षधर नेता जयन्त चन्दका उम्मेदवार भने गणेश चन्द हुन् । सुदूरपश्चिम अध्यक्षमा थापा समूहले जयन्तका उम्मेदवारलाई समर्थन गर्ने सम्भावना भनिए पनि थापा समूहबाट हिक्मत भण्डारीले आकांक्षा राखेका छन् ।