Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एमालेका डडेल्धुरामा जिल्ला अध्यक्ष डा. तारा जोशीसहितका जिल्ला नेताहरूलाई बुधबार पार्टी प्रवेश गराउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल । तस्बिर : झपट सोडारीको फेसबुकबाट
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ कार्तिक २५ बिहीबार ०६:०८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेका असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने माधव रणनीति

Read Time : > 3 मिनेट
२०७८ कार्तिक २५ बिहीबार ०६:०८:००

माओवादी नेता रामचन्द्र झा पनि एकीकृत समाजवादीमा आउँदै  

एमालेमा विद्रोह गरी आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधव नेपालले एमालेकै असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने रणनीति बनाएका छन् । वामपन्थी शक्तिबीच सहकार्यको नीति लिएका नेपालले माओवादी केन्द्रसहित विभिन्न वाम पार्टीका असन्तुष्ट व्यक्तिलाई पनि पार्टी प्रवेश गराउने योजना तय गरेका छन् । तत्काल सहकार्य, मोर्चा र वामपन्थी शक्तिबीचको एकतालाई एकीकृत समाजवादीले राजनीतिक कार्यभार बनाएको छ । 

त्यही रणनीतिअन्तर्गत अध्यक्ष नेपालले बुधबार डडेल्धुरामा एमालेको तत्कालीन २ जेठ ०७५ अघिका जिल्ला अध्यक्ष डा. तारा जोशीसहित एक दर्जन जिल्लास्तरीय नेतालाई पार्टी प्रवेश गराएका छन् । जोशीलाई प्रवेश गराउन नेपाल हेलिकोप्टर चार्टर गरेर डडेल्धुरा पुगेका थिए ।

डडेल्धुरामा अध्यक्ष जोशीसहित उपाध्यक्ष वीरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटीसहित १४ जना जिल्लास्तरीय नेतालाई अध्यक्ष नेपालले समाजवादीमा प्रवेश गराएका छन् । दशबुँदे सहमति कार्यान्वयन नभएपछि जोशीसहितका नेताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

अध्यक्ष नेपालको पहिलो नजर दशबुँदे सहमति कार्यान्वयन नहुँदा असन्तुष्ट बनेका एमालेका नेता–कार्यकर्तामाथि छ । यसबाहेक पूर्वएमाले पृष्ठभूमि रहेका र हाल माओवादी केन्द्रमा असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउने पनि नेपालको रणनीतिक योजना छ । 

माओवादी केन्द्रबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झालाई छिट्टै पार्टी प्रवेश गराउँदै छन् । झाले बुधबारै आफू एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको पुष्टि गरेका छन् । माओवादी केन्द्रका नेता झाले ७ मंसिरमा धनुषाको तिनकोरियामा आयोजना हुने कार्यक्रममा आफू एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको पुष्टि गर्दै त्यसका लागि प्रचण्डबाट औपचारिक रूपमा बिदा मागिसकेको बताएका छन् । 

उनले नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा प्रवेश गर्दा केपी ओली प्रवृत्तिसँग लड्न सहज हुने भएकाले प्रवेशका लागि दल रोजेको प्रस्टीकरणसमेत दिएका थिए । पूर्वस्थानीय विकासमन्त्रीसमेत रहेका झा २ नम्बर प्रदेशका प्रभावशाली नेता मानिन्छन् । झाले केही समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा बसेर पनि काम गरेका थिए ।

असन्तुष्टसँग संवाद र साना वाम पार्टीसँग एकताका लागि नेपालले पार्टी महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली नै बनाएका छन् । १७ कात्तिकमा गठित टोलीमा उपमहासचिवद्वय डा. गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य छन् । टोलीलाई वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्ने जिम्मेवारी दिइएको छ । 

वार्ताटोलीका संयोजक भुसालले एमालेसहित विभिन्न पार्टीका नेताहरू एकीकृत समाजवादीमा प्रवेशका लागि सम्पर्कमा आइरहेको दाबी गरे । ‘एमालेसहित ठूला दलबाट पनि साथीहरू पार्टी छाडेर आउन चाहनुभएको छ,’ भुसालले भने, ‘अहिल्यै गोपनीयताका कारण पनि उहाँहरूको नाम सार्वजनिक गर्न सकिने स्थिति छैन, तर वार्ता सकारात्मक दिशातिर जाँदै गर्दा परिणाम देखिँदै जानेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

यसबाहेक केशव पोखरेल नेतृत्वको जनता पार्टी नेपाल, रामप्रसाद न्यौपाने नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र विष्णुराज अर्याल नेतृत्वको समाजवादी पार्टी नेपाल समूहसँग नेकपा एकीकृत समाजवादीले वार्ता अगाडि बढाएको छ । ‘साना पार्टीहरूले वार्ता गर्न खोजिरहेका छन्, त्यसैले हामीले केन्द्रीय सचिवालयको बैठकबाटै वार्ताटोली गठन गरेर प्रक्रिया अगाडि बढाउन खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका महासचिव भुसालले नयाँ पत्रिकासँग भने, ‘कतिपय समूहसँग वार्ता पनि चलिरहेको छ, विभिन्न पार्टी छाडेर आउन चाहनुभएका साथीहरू व्यक्तिगत सम्पर्कमा पनि आइरहनुभएको छ, उहाँहरूसँग वार्ताटोलीले छलफल गर्नेछ ।’ 

एकीकृत समाजवादीले आफ्नो राजनीतिक प्रतिवेदनमा वाम शक्तिहरूबीच सहकार्य र मोर्चाबन्दीसहित पार्टी एकताको आधार निर्माण गर्ने प्रमुख राजनीतिक कार्यभार भएको उल्लेख गरेको छ । ‘वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो,’ नेकपा एसको ५ असोजमा सकिएको केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा छ । 

हाल कायम वाम–लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउने एकीकृत समाजवादीको प्रस्ताव छ । उसले कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरणलाई सांगठनिक कार्यभार बनाएको छ । 

त्यसैबीच एकीकृत समाजवादीले आगामी पुससम्म एक वडा दुई सय संगठित सदस्य र एक हजार पार्टी सदस्य नारा दिएर संगठन विस्तारको अभियान पनि चलाइरहेको छ । त्यसलगत्तै चुनावकेन्द्रित अभियान चलाउने एकीकृत समाजवादीको तयारी छ । 

त्यस्तै, एकीकृत समाजवादीको पछिल्लो सचिवालय बैठकले अहिलेको गठबन्धन सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीहरूले पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी ढंगले काम गर्ने, मन्त्री तथा मुख्यमन्त्री सल्लाहकारहरूको नियुक्ति र सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने निर्णय गरेको छ । 

साथै, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेअनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णयअनुसार काम गर्ने उसको निर्णय छ ।

माधवको नजर र रणनीति
१. दशबुँदे सहमति कार्यान्वयन नभएका कारण असन्तुष्ट एमालेका नेता–कार्यकर्ता भिœयाउने
२. पूर्वएमाले पृष्ठभूमिका माओवादीसहित अन्य दलमा रहेका नेता–कार्यकर्तालाई पनि समेट्ने 
३. तत्काल जनता पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र समाजवादी पार्टी नेपालसँग एकताका वार्ता गर्ने 
४. तत्काल सहकार्य गर्ने, आवश्यकताअनुसार मोर्चा र वामपन्थी शक्तिबीच एकताको आधार बनाउने
५. असन्तुष्टसँग संवाद र साना वाम पार्टीसँग एकताका लागि पार्टी महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन
६. वाम–लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउने 

चुनावमा एमाले पत्तासाफ : नेपाल
डडेल्धुरा/
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले पत्तासाफ हुने दाबी गरेका छन् । उनले पाँचदलीय गठबन्धन चुनावसम्म कायम रहने र चुनावपछि टर्च बालेर एमाले खोज्नुपर्ने अवस्था आउने बताए । बुधबार जिल्लामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष केपी ओलीविरुद्ध पाँचदलीय गठबन्धन चुनावसम्म रहन्छ । चुनावपछि टर्च बालेर एमाले खोज्नुपर्ने अवस्थाको सिर्जना गर्छौँ । पाँचदलीय गठबन्धनले चुनावमा देशभर एमालेको पत्तासाफ गर्छ ।’ भेलालाई पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगर, सुदूरपश्चिम भौतिक पूर्वाधार तथा निर्माणमन्त्री दीर्घ सोडारीलगायतले सम्बोधन गरेका थिए ।