१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकले सैनिकलाई कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०६:१०:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जालाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका सकल दर्जालाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण आवास कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यो कर्जा बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ अन्तर्गत रही प्रदान गर्ने जनाइएको छ । प्रतिस्पर्धाका आधारमा छनोट भएर बैंकले यो सम्झौता गरेको जनाएको छ ।

बैंकले आधारदरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३ दशमलव ३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्मका लागि कर्जा प्रवाह गरिने जनाएको छ । सम्झौताबमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउने जनाइएको छ । बैंकले हाल ७७ वटै जिल्लामा दुई सय ५६ शाखा, दुई सय १८ एटिएम र ९८ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।