मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक २३ मंगलबार ०६:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भाइटीका महोत्सव : पोखराको नयाँ पर्यटन प्रडक्ट

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २३ मंगलबार ०६:३४:००

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले पोखराका पर्यटन व्यवसायीले भाइटीका महोत्सव आयोजना गरेका छन् । महोत्सवमा विभिन्न देशका २० पर्यटकले भाइटीका लगाएका छन् । पश्चिमाञ्चल होटेल संघ पोखराले भाइटीका (२० कात्तिक)को अवसरमा महोत्सव आयोजना गरेका हुन् । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित रिसोर्टमा रेन्वो चिल्ड्रेन होमका छात्राहरूले विदेशीलाई सप्तरंगी टीका लगाइदिएका थिए ।

सहभागीहरूलाई नेपाली परम्पराअनुसार छात्राहरूले टीका र माला लगाइदिएर पुरुषलाई नेपाली ढाका टोपी र महिलालाई सल उपहार दिएका थिए । पर्यटकले समेत बालिकाहरूलाई दक्षिणा दिएका थिए । टीका लगाएपछि पर्यटकहरू देउसीभैलो र सांस्कृतिक कार्यक्रममा समेत सहभागी भएका थिए । छात्राहरूले दिएको सेलरोटी अचारसँगै नेपाली खानेकुराहरू उनीहरूले चाख मानीमानी खाएका थिए ।

विदेशीलाई दाइ र दिदी मानेर टीका लगाउन पाउँदा छात्राहरूले खुसी र नौलो अनुभव गरेका थिए भने टीका ग्रहण गरेका विदेशीले नौलो अनुभव बटुलेको बताएका छन् । टीका लगाउन पुनः अर्को वर्षसमेत आउने उनीहरूले प्रतिबद्धता जनाएका थिए । कोरोनाका कारण रोकिएको महोत्सव दुई वर्षपछि पुनः जारी गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार केही पर्यटक दोहोर्‍याएर महोत्सवमा भाग लिन आउने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचारा अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित संघले महोत्सव गर्दै आएको उनको भनाइ छ ।

संघका पूर्वअध्यक्ष विप्लप पौडेलले तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिँदै आएको बताए । भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको पौडेलको भनाइ छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसँगै देशविदेशमा नेपाली परम्परा र संस्कृतिको प्रचारप्रसार तथा यसको माध्यमबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यधधसमेत महोत्सवको रहेको बताए ।