मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक २२ सोमबार १५:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन व्यवसायी भन्छन्– न्यायपालिका बचाउन प्रधानन्यायाधीश जबराकाे राजीनामाकाे विकल्प छैन

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २२ सोमबार १५:१४:००

कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल बार एसाेसिएसनले सर्वोच्च अदालतको प्रांगणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताउँदै प्रधानन्यायाधीश जबराविरुद्ध आक्रोश व्यक्त गरेका हुन्। 

नेपाल बार एसाेसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। उनले प्रधानन्यायाधीश जबरालाई अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार रहन चेतावनी दिए। उपाध्यक्ष भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एसाेसिएसन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र, देशभरका कानुन व्यवसायीहरू आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ।’ 

त्यस्तै, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको धारणा राखे। उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए।

उनले भने, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकटमा परेको छ। न्यायपालिकामा हिजो समस्या थियो । तर, आज न्यायपालिकामा संकट आएको छ।  विवाद पहिले पनि थियो।  तर, उहाँले संकट निम्त्याउनुभयो । न्यायपालिका समाप्त हुने बिन्दुमा पुगेको छ।  आज प्रधानन्यायाधीशजीले के भन्नु हुन्छ भने– मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर, म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु– उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिका निर्वाह गर्नुभएको छ? के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नुभएको छ? आज उहाँको नेतृत्व सम्पूर्ण रूपमा असफल भएको छ। 

नेपाल बार एसाेसिएसनका पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाइ गर्न नहुने बताए। उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबीसमेत गरे।  प्रधानन्यायाधीशको राजीनामा वकिलले माग गर्नु दुःखद भएको तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्योभन्दा पनि दुःखद भएको उनले बताए।

बार र बेन्च दुवैले तपाईंको(प्रधानन्यायाधीश) राजीनामा माग गरिरहेका छन्। यस्तो अवस्थामा प्रधानन्यायाधीशसँग राजीनामाको विकल्प नभएको पनि उनले बताए। उनले भने, ‘राजीनामा दिनुस्। मार्ग प्रशस्त गर्नुस्। तपाईंका लागि सबैभन्दा यही राम्रो हुन्छ । यो तपाईंको भलोको लागि होइन। आमनेपाली नागरिकको न्यायको लागि माग गरिएको हो। यो न्यायिक संस्थाका लागि तपाईंको राजीनामा माग गरिएको हो। तपाईं रहुन्जेल अब यो संस्था चल्न सक्दैन । किनभने हिजो केही व्यक्तिहरू विवादित थिए। आज यो संस्थामाथि प्रश्न उठिसकेको छ। यो संस्थाको बचाउको लागि तपाईंले राजीनामा दिनुपर्याे।’

नेपाल बार एसाेसिएसनले मंगलबार बिहान साढे १० बजे पनि सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरूलाई आह्वान गरेको छ।