कोरोना संक्रमणले गर्दा अघिल्लो वर्ष घरघरमै कृत्रिम जलाशय बनाएर पूजा गर्न बाध्य प्रदेश १ का भक्तालु र ब्रतालुहरू यसपालि नजिकैको जलाशयमै गएर छठपर्व मनाउने तयारीमा जुटेका छन् । अघिल्लो वर्ष सामूहिक रूपमा छठ पर्व मनाउन नपाएका भक्तालु र ब्रतालुहरू यो वर्ष आफूलाई पायक पर्ने नदी र पोखरी सरसफाइ गरेर भव्य रूपले छठ पर्व मनाउने तयारीमा जुटेका हुन् । तिहार पर्व सकिएसँगै प्रदेश १ को तराईका जिल्लाहरूमा छठपूजाको चहलपहल सुरु भएको छ । मानिसहरू बजारमा किनमेल गर्न, घरआँगन र जलाशयको सरसफाइमा जुटेका छन् ।
छठपूजाका लागि चाहिने अन्न, फलफूल र बाँसका सामग्रीहरूको किनमेल बजारमा तीव्र रूपले हुन थालेको छ । छठपूजामा विशेष बाँसका सामग्री, शुद्ध बाली, उखु, भोगटे, नरिवल, मेवा र अन्नको प्रयोग गरिन्छ । छठमा शुद्ध गहुँको पिठोबाट बनेको ठकुवा नामको पकवान खाने विशेष चलन छ ।
छठपूजाका लागि आज सोमबारदेखि ब्रत सुरु भएको छ । आज सोमबार पहिलो दिन नाया खाया रितअनुसार नुवाएर शुद्ध भई घर आँगन चोख्याएर शुद्ध अन्नको भोजन ग्रहण गरेर ब्रतालुहरूले ब्रत सुरु गरेका छन् । भोलि कात्तिक पञ्चमीका दिन ब्रतालुहरूले खरना पूजा गर्छन् । अनि पर्सि बुधबार पायक पर्ने जलाशयमा गएर पूजास्थल (घाट) सजाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अनि बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपूजा सम्पन्न हुन्छ । छठपूजामा ब्रतालुहरूले चार दिनसम्म कठोर ब्रत लिनुपर्छ । छठपूजामा शुद्ध गहुँको पिठोबाट बनेको पकवान ( ठेकुवा) देउतालाई चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ । यसबाहेक सिंगो नरिवल, उखु आदि पनि छठ मातालाई चढाउने गरिन्छ ।