१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल
२०७५ फाल्गुण १८ शनिबार ०८:१०:००
Read Time : > 3 मिनेट
साहित्य

वाइवाइको आत्मकथा

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७५ फाल्गुण १८ शनिबार ०८:१०:००

म वाइवाइ ! मलाई मानिसले भोकमा सम्झिन्छन् । म सबैको भोक मेटाउँछु । मेरो जन्म थाइल्यान्डमा भयो । मलाई जन्माउने एसियन थाई फुड्सका मालिक किटी पोङ्श्री हुन् । तर, म हुर्किएँ नेपाली भूमिमा । विनोद चौधरीको काखमा । मैले नै उनलाई अर्बपति बनाउन सघाएँ । मलाई नेपालीले खुब माया गर्छन् । त्यहाँ पनि मलाई मीठो मानी–मानी खान्छन् । अहिले विश्वका तीन दर्जन मुलुकमा पुगिसकेँ । सारा विश्वले मलाई रुचाउन थालिसकेको छ । 

०४० सालतिरको कुरा । नेपालीहरू विदेशबाट फर्किंदा ब्यागेजमा चाउचाउ बोकेर फर्किने रहेछन् । थाइल्यान्डबाट फर्किंदा कतिले मलाई लगेजमा बोकेर ल्याए होलान् । गण्डकी नुडल्सको ‘रारा’ नामक चाउचाउ नेपालमा जन्मिएको थियो । नेस्ले इन्डियाको ‘म्यागी’ चाउचाउ पनि नेपालमा भित्रिन थालेको थियो । त्यहीवेला मलाई विनोद चौधरीले टपक्कै टिपेर नेपाल ल्याउनुभयो । र, नेपाल, भारत हुँदै विश्वभर फैलाउनुभयो ।

विनोद चौधरीले मलाई नेपाल भित्र्याउँदा जोखिम मोल्नुभएकै हो । नेपालमा चाउचाउको उति ठूलो बजार बनिसकेको थिएन । चाउचाउ खाने संस्कृति पनि बनिसकेको थिएन । ललितपुरको भैँसेपाटीमा पहिलो फ्याक्ट्री राख्नुभयो । त्यसवेला ताइवानको कम्पनीबाट सानो क्षमताको मेसिन किनेर ल्याउनुभयो । त्यसवेला उहाँले दैनिक ३० हजार प्याकेट उत्पादन गर्नुभयो । मलाई बिकाउन व्यापक मार्केटिङ गर्नुभयो । चाउचाउ संस्कृतिको विकास गर्नुभयो । अहिले नेपालमा मात्र दैनिक १८÷२० लाखभन्दा बढी प्याकेट उत्पादन हुन्छु । यहाँको चाउचाउ बजारमा झन्डै ५० प्रतिशत हिस्सा मैले नै लिएको छु । 

सुरुवाती समयमा चाउचाउ संस्कृतिको विस्तार गर्न चर्चित मोडल डली गुरुङलाई अभिनय गराएर मेरो विज्ञापन बनाइयो । विज्ञापनबाट म बजारमा हिट भएँ । मेरै कारण डली गुरुङ पनि रातारात हिट भइन् । दुई वर्षमै नेपालीको खाने बानीमा परिवर्तन ल्याइदिएँ । भारतीय म्यागी चाउचाउ विस्थापित नै गरिदिएँ । माग ह्वात्तै बढेपछि नवलपरासीको चौधरी उद्योग ग्राममा दोस्रो प्लान्ट लगाइयो । अहिले नवलपरासीमै पाँचवटा ‘प्लान्ट’ (उत्पादन एकाइ) पुगिसकेको छ । बर्दियामा नयाँ ‘प्लान्ट’ सञ्चालनमा आएको छ । सुनसरीमा पनि चैतभित्र उत्पादन सुरु हुन्छु होला ।

युद्धमा हिँड्ने सिपाही र लडाकुदेखि सडकमा सुत्नेसम्मले मलाई मज्जा मानीमानी खान्छन् । म हलुका छु, बोक्न पनि सजिलो छु । एउटै प्याकेट खाँदा पनि टन्न अघाइने । खर्च पनि कम । स्कुले बाबु–नानीलाई टिफिनमा मेरोसाथ चाहिन्छ । विदेश जाने युवाहरूले मलाई लगेजमा हालेर लैजान्छन् । नेपालमा अरू सामान बाहिरबाट ल्याइन्छ । तर, मलाई कतैबाट ल्याउनुपर्दैन । 

मलाई हुर्काउने विनोद चौधरी बडो आत्मविश्वासी छन् । मेरो जन्मदाता किटी पोङ्श्रीले कुनै वेला नेपालमा दैनिक ३० हजार प्याकेट चाउचाउ बिक्ला र भन्दै शंका गर्थे । आज त्यसको झन्डै ६० गुना बिक्री हुन्छु म । नेपाल, भारत, सर्बिया र बंगलादेशबाट उत्पादन हुन्छु । भुटान, श्रीलंका, कतार, दुबई, अमेरिकालगायत ३२ मुलुकका मेरा उपभोक्ता छन् । 

म वार्षिक २ अर्ब ५० करोड प्याकेट उत्पादन हुन्छु । त्यस्तै, मासिक २० करोड प्याकेट र दैनिक ६९ लाख ४४ हजार प्याकेट उत्पादन हुन्छु । ०४७ सालदेखि भारतीय बजारमा प्रवेश पाएँ । त्यहाँ अहिले मेरो हिस्सा करिब ३० प्रतिशत छ । त्यहाँको बजारमा राज गरिरहेको म्यागी चाउचाउलाई जित्ने मेरो धोको छ । विश्वको चाउचाउ बजारमा मेरो हिस्सा २.५ प्रतिशत छ । मेरो मालिक विनोद चौधरीको सन् २०२० सम्म वार्षिक उत्पादन ३ अर्ब प्याकेट पु-याउँदै विश्वबजारमा ३ प्रतिशत हिस्सा पु-याउने लक्ष्य छ ।  नेपाल र भारतपछि युरोपको बजार तताउने योजनामा छु । सर्बियामा ‘प्लान्ट’ सञ्चालनमा आइसकेको छ । युरोपमा तयारी चाउचाउ खाने संस्कृति बसिकेको छैन । पक्कै, मैले त्यहाँ पनि चाउचाउ खाने संस्कृतिको जग बसाउनेछु । विश्वव्यापी रूपमा नेपाली ब्रान्ड बन्दै पाँचै महाद्वीपमा फैलिएको छु । 

०००
भारतका विभिन्न स्थानमा मेरो उपस्थिति छ । ०६२ चैतमा सिक्किममा वार्षिक १२ करोड प्याकेट क्षमताको मेरो प्लान्ट सुरु भयो । यो नै विदेशी भूमिमा लगाइएको मेरो पहिलो प्लान्ट हो । यहीँबाट मेरो विश्वव्यापी विस्तारको पाइला सुरु भयो । ०६८ मा सिक्किममै दोस्रो प्लान्ट पनि जडान भयो, पहिलोभन्दा ठूलो क्षमताको । 
सिक्किमपछि अर्को गन्तव्य बन्यो, उत्तराखण्डको रुद्रपुर । ०६५ जेठमा रुद्रपुर प्लान्टबाट मेरो उत्पादन सुरु भयो । रुद्रपुरमा वार्षिक १२ करोड प्याकेट उत्पादन गर्ने प्लान्ट सञ्चालनमा छ । रुद्रपुरपछि तेस्रो गन्तव्य बन्यो, आसाम । गुवाहाटीमा ०६७ सालतिर मेरो उत्पादन सुरु भयो । आसामको गुवाहाटी प्लान्टबाट वार्षिक १५ करोड प्याकेट उत्पादन हुन्छु । 

भारतको सिक्किम, रुद्रपुर, गुवाहाटी, चितुर, पुर्णिया, सिलचरमा गरी नौवटा प्लान्ट सञ्चालनमा छन् । राजस्थानमा सेप्टेम्बर २०१९ देखि उत्पादन सुरु हुँदै छ । मध्यप्रदेशमा पनि प्लान्ट जडानको तयारी हुँदै छ । म पूरै भारतभर फैलिँदै छु । म भारतबाट विभिन्न मुलुकमा निर्यात हुन्छु । सार्क मुलुकहरू पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकमा बलियो उपस्थिति बनाइसकेको छु । भुटानको समग्र चाउचाउ बजारमा झन्डै ५० प्रतिशत हिस्सा मेरै छ । मेरो विश्वव्यापी विस्तारको मुख्य टर्निङ प्वाइन्ट नै सिक्किम बन्यो । यही प्लान्टले नै मलाई विश्वभर फैलिने दह्रो आधार खडा गरिदियो । बंगलादेश पनि चाउचाउको ठूलो बजार हो । यो प्लान्टले बंगलादेश र आसपासको बजार समेट्नेछ । मेरो कजाकिस्तान र इजिप्टमा पनि प्लान्ट निर्माणाधीन छ । छिट्टै त्यहाँबाट पनि उत्पादन सुरु हुनेछु । रसिया र किर्गिस्तानमा पनि उत्पादन एकाइ थपेर समग्र युरोपभरि फैलिने योजना हो ।

खाडी मुलुक मेरो मुख्य बजार बनेको छ । त्यहाँ धेरै नेपाली काम गर्छन् । उनीहरूले लगेजमा हालेर मलाई लैजान्छन् । उनीहरूकै कारण खाडीमा म लोकप्रिय हुँदै गएको छु । 
अफ्रिकी मुलुक मेरा लागि अर्को भर्जिन मार्केट हो । त्यहाँ म अझै पुग्न सकेको छैन । अफ्रिकन मुलुक प्रवेश गर्न इजिप्ट र केन्यामा फ्याक्ट्री लगाउने योजना छ । इजिप्टको कम्पनीसँग सहकार्य गर्ने योजना छ । 

मलाई अमेरिकी मुलुकमा पु-याउन दक्षिण अमेरिकी मुलुकमा प्लान्ट लगाउन खोजिएको छ । मेक्सिको पहिलो रोजाइमा छ । त्यहाँ प्लान्ट लगाएर उत्तर अमेरिकासम्म निर्यात गर्न सकिन्छ । पेरुमा अर्को प्लान्ट लगाउँदा दक्षिणी अमेरिकी मुलुक समेट्न सकिन्छ । नेपालमा सडक पहुँच नपुगेका कुना र कन्दरामा पनि चाउचाउ खाने संस्कृति फैलिएको छ । यसको कारण म हुँ । महँगी बढिरहेका वेलामा अहिले १५–२० रुपैयाँमा खाजा पाउन गाह्रो भइसक्यो, जुन चाउचाउबाट सम्भव छ । त्यसमाथि मान्छेको व्यस्तता बढ्दै छ, चाउचाउ पकाउन समय पनि थोरै लाग्छ । 

मेरो विश्वव्यापी वृद्धिदर २५ प्रतिशतभन्दा माथि छ । म विभिन्न फ्लेबरमा उपलब्ध छु । भारतमा मलाई पाँच फ्लेबरमा खान सकिन्छ । केही वर्षअघि नेपालमा आलुतामा फ्लेबरमा ह्वाइट नुडल्स बनेर आएँ । पश्चिम बंगालमा माछाको फ्लेबरमा उपलब्ध भएँ । जुन देशमा जुन स्वादका पारखी छन्, त्यही स्वादमा उपलब्ध हुन्छु । युरोप र अमेरिकी मुलुकमा त्यहीँको स्वादमा हाजिर हुन्छु । म भोको मान्छेको स्वाद बनेर संसारभर छाइरहेको छु । मेरो यात्रा जारी छ ।