१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार ०८:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई भाडा साढे चार सयसम्म बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार ०८:३२:००

 नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा बढाएका छन् । तिहारको मुखमा जहाजको भाडा चार सय ४० रुपैयाँसम्म बढेको छ । निगमले हवाई इन्धनको मूल्य एकैपटक लिटरमा ११.६ प्रतिशत अर्थात् १० रुपैयाँ बढाएको थियो । प्रतिलिटर ८६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य बढेर ९६ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा अस्वाभाविक मूल्य वृद्धि गरेकोप्रति असहमति जनाइरहेको वायुसेवा सञ्चालक संघले मंगलबारदेखि नै लागू हुने गरी इन्धन सरचार्ज बढाएको हो ।

वायुसेवाले जहाजको यात्रुको टिकटमा इन्धनको पैसा, सञ्चालन खर्च, नाफालगायत जोडेर हवाई भाडा निर्धारण गर्ने गर्छन् । इन्धनको पैसा बढेपछि हवाई भाडा पनि स्वतः बढेको हो ।वायुसेवा सञ्चालक संघले काठमाडौं–धनगढी उडानमा इन्धन चार्ज सबैभन्दा बढी चार सय ४० रुपैयाँ वृद्धि गरेको छ । अहिले नियमित उडान भइरहेका गन्तव्यमध्ये रामेछाप–लुक्ला, पोखरा–जोमसोम, पोखरा–भरतपुर, काठमाडौं–रामेछाप उडानमा ७५ देखि ८५ रुपैयाँसम्म हवाई भाडा बढेको छ ।

काठमाडौं–सिमरा उडानमा इन्धन चार्ज ९५ रुपैयाँ बढाइएको छ । काठमाडौंबाट हुने भद्रपुर उडानमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरमा एक सय ३०, भरतपुर एक सय पाँच, पोखरा एक सय ५५, भैरहवा दुई सय पाँच, नेपालगन्ज तीन सय ३०, तुम्लिङटार एक सय ८५, सुर्खेत तीन सय ४५, राजविराज दुई सय पाँच, फाप्लु एक सय २०, जोमसोम दुई सय रुपैयाँ बढाइएको छ । त्यस्तै, लुक्ला एक सय ३५, ताप्लेजुङ दुई सय पाँच रुपैयाँ इन्धन चार्ज वृद्धि भएको छ । यस्तै, पोखराबाट भरतपुर उडानमा एक सय १०, भैरहवा एक सय ३०, सिमरा दुई सय २०, नेपालगन्ज दुई सय ३५, विराटनगर दुई सय ३५, जोमसोम ८० रुपैयाँ मूल्य बढाइएको छ ।